बिहिबार, चैत्र १५, २०८०

प्रहरी निरीक्षक विरुद्धको बहुविवाहको उजुरी हनुमानढोकाले लिन मानेन

काठमाडौ ज्येष्ठ ३०, पद, पहुँच र प्रतिष्ठा भजाएर समाजमा आफूलाई अब्बल दर्जाको नागरिक ठान्नेले केसम्म गैरकानुनी कार्य गर्न पनि पछि पर्दैनन् hanuman-dhoka-policeभन्ने दरिलो उदाहरण नेपाल प्रहरीका एक निरीक्षक बनेका छन् ।

नागरिकको शान्तिसुरक्षाको जिम्मेवारी लिने जिम्मेवार अधिकृतले समेत आफ्नो पदीय मर्यादालाई दुरूपयोग गरी गैरजिम्मेवार काम गर्न पछि नपरेको उदाहरण प्रहरी निरीक्षक चन्द्रबहादुर थापा हुन् । सिन्धुली दुधौलीका थापाले तीन वर्षअघि ओखलढुङ्गाकी इन्दिरा निरौलासँग प्रेम विवाह गरेकामा हालै ओखलढुङ्गाकै मेनुका सुवेदीसँग अर्को विवाह गरेको उजुरी इन्दिराले दिनुभएको छ ।

दुवै जना घरजम गरेरसँगै बस्दै आए पनि थापाले मेनुकासँग सम्बन्ध गाँसेको यही जेठ १ गतेमात्र आफूले थाहा पाएको पीडित इन्दिराले बताउनुभयो । आफूले प्रहरी प्रशासनमा बहुविवाहको उजुरी दिँदा उजुरी लिनै अस्वीकार गरेकाले पीडामाथि झन् पीडा थपिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँले निवेदन लेखेर महानगरीय प्रहरी परिसर हुनमान ढोकामा उजुरी दिन पठाएको तर हनुमानढोकाले उजुरी लिन मानेन । उहाँले भन्नुभयो–“राष्ट्रिय महिला आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयले चिठी लेखेपछि त्यसको दुई दिनपछि (जेठ २० गते) मात्र उजुरी त लियो तर दर्ता गर्न मानेन र पछि सम्पर्क गर्नू भन्यो । त्यसको केही दिनपछि दबाब दिएपछि मात्र दर्ता नं (१८३०) दिइयो । ”

स्नातकसम्म शैक्षिक योग्यता भएकी र नोकरी पनि गरिरहेकी आफ्नो व्यथालाई महिला अधिकारकर्मीले नै चुनौती दिने गरी भएको यस किसिमको घटनाप्रति अहिले कतैबाट पनि अपेक्षित चासो नदिइएको उहाँको गुनासो छ ।

कहिले महिला आयोग, कहिले हनुमानढोका र कहिले जिल्ला प्रशासन कार्यालय धाउँदा धाउँदा आजित हुनुभएकी उहाँले आफ्नो आवाजप्रति कतैबाट सुनुवाइ नभएको भन्दै रासससमक्ष आई गुनासो गर्नुभयो ।  ‘‘मलाई उसको सम्पत्ति केही चाहिँदैन, अब ऊसँग मेरो जीवन चल्ने सम्भावना पनि म देख्दिन, तर प्रहरी अधिकृत जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले समेत श्रीमतीलाई यस किसिमको पीडा र यातना दिन्छ भने उसलाई जसरी पनि कानुनी दायरामा ल्याउनुपर्छ, नत्र यस्ताखाले अनेकौँ जघन्य क्रियाकलाप झन बढ्दै जान्छन्, त्यसलै पीडकलाई कानुनी कारबाही होस् भन्ने मात्र चाहन्छु’’ उहाँले भन्नुभयो ।

ठूलाको पहुँच देखाइयो

थापाको नवदम्पती यतिखेर महाराजगन्जमा डेरा गरी बस्दै आएको छ । जेठी श्रीमती इन्दिरा भने अहिले साथीको शरणमा बस्दै आउनुभएको छ । उहाँलाई श्रीमान् थापा, उनका परिवार र सौताले निरन्तर फोनमार्फत विभिन्न किसिमका धम्की र मानसिक यातना दिँदै आएका छन् । आफ्नो ठूलो पहुँच रहेको बताउँदै धम्क्याउने ती प्रहरी अधिकृतले “आइजिपीको पिए मेरो आफ्नो मान्छे हो, तैंले केही पनि गर्न सक्दिनस्, बढी हुन थालिस् भने तेरो खैरियत छैन’’ भनी अनेकौँ धम्की र चुनौती दिने गरेको पीडितले बताउनुभयो ।

घटनाका बारेमा प्रहरी प्रशासन हनुमान ढोकामा बुझ्दा महिलाको विषय महिला सेलले हेर्ने भएकाले केही भन्न नसकिने जवाफ पाइयो । पीडित कालमिाटी महिला प्रहरी सेल पुग्दा त्यहाँबाट पनि फेरि हनुमानढोका जान निर्देशन दिने गरेकाले दुई हप्तादेखि भाँैतारिँदै हिँड्नुपरेको इन्दिराले बताउनुभयो ।  नेपाल प्रहरी महिला सेल कालीमाटीले पीडितको निवेदनमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । महिला आयोगले पनि पीडित इन्दिराको सम्बन्धमा सरोकार देखाएको बताइएको छ । प्रहरी निरीक्षक थापासँग फोनमार्फत सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । रासस