बिहिबार, बैशाख १३, २०८१

दलहरूले दुई महिनामा संविधान बनाऊन्, म दुई महिनामै पद छोडिदिन्छु: राष्ट्रपति यादव

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा राष्ट्रपतिको  आपत्ति 

काठमाडौँ ज्येष्ठ १९, राष्ट्रपति रामवरण यादवले सरकार निर्माणका बेला कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा राष्ट्रपतिको पदावधि तोकिएको र संविधानसभाबाट अनुमोदन गर्नुपर्ने विषय राखिएकोमा आपत्ति प्रकट गरेको खवर आजको अन्न्पूर्ण पोष्ट दैनिकमा प्रकाशित रहेको   छ   । उनले आफू अन्तरिम संविधानअनुसार पदमा बसेको जनाउँदै दलहरूले दुई महिनामा संविधान बनाए आफूले दुई महिनामै पद छोड्ने स्पष्ट पारे।

Rambaranबीपी कोइरालाको मुहार अंकित सिक्का सार्वजनिक गर्न आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा यादवले कांग्रेस र एमालले यस विषय सहमतिमा उल्लेख गरेर राष्ट्रपति पदलाई विवादमा पारेको बताए। ‘कांग्रेस र एमालेले मलाई विवादमा पारे। म संविधानको व्यवस्थाअनुसार पदमा बसेको हुँ। संविधान बन्यो भने त मैले कुर्सी छोड्नैपर्छ’, राष्ट्रपतिले भने, ‘के राष्ट्रपतिको कुर्सी दाँतले टोकेर बस्ने हो र? दलहरू ले दुई महिनामा संविधान बनाऊन्, म दुई महिनामै पद छोडिदिन्छु।’

कांग्रेस र एमालेले गत माघ २६ गते सरकार निर्माणका लागि गरेको सातबुँदे सहमतिमा नयाँ संविधान सार्वजनिक भएपछि र संविधान प्रारम्भ हुनुअघि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्ने तथा राष्ट्रपति र उपराष्ट्रपतिलाई निरन्तरता दिन संविधानसभाबाट अनुमोदन गर्ने उल्लेख छ। राष्ट्रपतिलाई नयाँ संविधान सार्वजनिक गर्ने तर घोषणा गर्ने अधिकार नदिएको र अनुमोदन गर्नुपर्ने विषयप्रति यादव असन्तुष्ट हुँदै आएका थिए। संविधानमा राष्ट्रपतिको पदावधि नयाँ संविधान घोषणा नगरेसम्मका लागि व्यवस्था भएको र सर्वोच्च अदालतले पनि सोही फैसला गरेको भए पनि दलहरूले अर्कै सहमति गरेपछि उनी असन्तुष्ट हुँदै आएका थिए।

यादवले दलहरू आफू काम गर्न नसक्ने अनि राष्ट्रपतिलाई दोष लगाउने भन्दै आपत्ति प्रकट गरे। ‘काम नगरेर दोष लगाउन बन्द गरौं’, उनले भने, ‘काम नहीं करते है, दुख् हमको देते हो।’ उनले नयाँ निर्वाचनपछि बनेको पहिलो व्यवस्थापिका संसद्को बैठक राष्ट्रप्रमुखले आह्वान गर्ने अन्तर्राष्ट्रिय प्रचलन मिचेर सरकार प्रमुखबाट बोलाइएकोमा पनि गुनासो गरे। लामो विवादपछि संविधानको प्राविधिक विषय देखाएर संसद्को बैठक तत्कालीन अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आह्वान गरेका थिए।

अन्तरिम संविधान निर्माण गर्दा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रप्रमुखको समेत कार्यभार समालेकाले संसद् आह्वान प्रधानमन्त्रीले गर्ने व्यवस्था संविधानमा गरिए पनि गणतन्त्र आएपछि दलहरूले त्यसमा संशोधन गरेका थिएनन्। राष्ट्रपतिले भने, ‘कांग्रेस र एमालेले हाउस बोलाउने विषयमा पनि मलाई विवादमा ल्याउन खोजे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता तोडिए।’ बीपी चिन्तन प्रतिष्ठानद्वारा बीपीको जन्मशताब्दीका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपतिले एक वर्षभित्रै नयाँ संविधान दिन सकेमात्र बीपीप्रति सच्चा श्रद्धा हुने बताए। बीपीले कोलकातामा असल डाक्टर बन्न प्रेरणा दिएको स्मरण गर्दै यादवले भने, ‘बीपीको सूत्र नपक्डेको भए सायद नेपाली जनताले मलाई यो गरिमामय पद्मा पुर्‍याउने थिएनन्।’ तर अहिले नेपालको राष्ट्रिय एकता, अखण्डता र सामाजिक सद्भावमा समस्या आउने अवस्था रहेको भन्दै उनले त्यसलाई सम्बोधन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।