बुधबार, बैशाख १२, २०८१

तीन दिनभित्र पर्यटन वोर्डको सेवा सुचारु नभए सम्बद्ध पदाधिकारीहरूमाथि भ्रष्टाचारको मुद्दा चलाउने अख्तियारको चेतावनी

काठमाडौं आषाढ ४, नेपाल पर्यटन   बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको राजीनामा माग्दै विभिन्न पर्यटन व्यवसायीहरुले धर्ना तथा आन्दोलन गरेपछि पर्यटन बोर्डको नियमित काम पनि अस्तव्यस्त हुदै आएको अवस्था एवम् प्रस्तुत प्रसङमा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी आयोगमा आएको उजुरी र विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार प्रति  गम्भिर ध्यानाकर्षण भएको भन्दै  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विज्ञप्ति जारी गर्दै डेढ महिनादेखि अस्तव्यस्त रहेको पर्यटन वोर्डको सेवा तीन दिनभित्र सुचारू गर्न बुधबार सरकारलार्इ निर्देशन दिएको छ ।

निर्देशन पत्रमा आयोगले पर्यटनसंग सम्बन्धित निकाय महिनौ दिन सम्म पनि आन्तरिक द्वन्द्का कारण धर्ना गरी बन्द रहदा सम्म मुकदर्शक भएर बस्नु, नेपाल पर्यटन वोर्ड जस्तो संवेदनशील क्षेत्रमा महिनौ दिनसम्म कार्यालय प्रमुख कार्यालयमा अनुपस्थित रहनु र अन्य कर्मचारीहरुले पनि कार्यालयमा हाजिर गरि कामकाज नगरीकन तलब भत्ता लगायतका सुविधा लिईरहनु तर पर्यटन क्षेत्रमा विद्यमान बृहत्तर समस्या समाधानका विषयमा कुनै प्रयास सम्म गरेको नदेखिएकोले उपरोक्त विषयहरुलाई गम्भिरतापूर्वक लिई नेपाल पर्यटन बोर्डमा हाल भई रहेको क्रियाकलापलाई उपयुक्त उपाय अपनाई तीन दिनभित्र समस्या समाधान गरी वोर्डको कार्य सुचारु गर्ने गराउने व्यवस्था मिलाई आयोगलाई जानकारी दिन श्री सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई  निर्देशन दिएको उल्लेख रहेको छ ।

त्यस्तै निर्देशन अवज्ञा गर्दै सेवा सुचारु नभए मन्त्रालय, पर्यटन वोर्डका पदाधिकारी र सम्बद्ध अन्य पदाधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ बमोजिम  भ्रष्टाचारको अभियोगमा मुद्दा चलाउने चेतावनी पनि अख्तियारले दिएको छ।  कारबाही अगाडि बढाईने व्यहोरा उल्लेख रहेको आयोगले जनाएको छ ।