बिहिबार, बैशाख ६, २०८१

चार माओवादीको बैठक, भट्टराईलाई खबरै गरिएन

 काठमाडौं अषाढ १,एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई खबरै नगरी एमाओवादीकै पहलमा आइतबार चार माओवादीको बैठक बसेको cpn-maoist एमाओवादीसम्बद्ध निकट स्रोतले जनाएको छ। मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकमा नेकपा–माओवादीसहित एमाओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, मातृका यादव नेतृत्वको नेकपा माओवादीका नेताहरूको सहभागिता रहेको स्रोतले बताएको छ  ।

यस्तै बैठकमा माओविचारधारा मान्ने नेकपा एकीकृतका तर्फबाट परि थापालगायतका नेताको सहभागिता थियो । माओवाद र विचारधारा मान्ने पार्टीबीच एकताको पहलस्वरूप आयोजना गरिएको बैठकमा भट्टराई तथा उनी पक्षधर कुनै पनि नेताको उपस्थिति थिएन । बैठकमा एमाओवादीका तर्फबाट भने अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महरा सहभागी थिए ।

आइतबार बिहान बसेको पाँच पार्टीको वार्तामा मिल्ने विषयहरूमा सहकार्य गरेर अघि बढ्ने प्रचण्ड र मोहन वैद्यले प्रस्ताव पेस गरेका थिए । बैठकमा साझा राजनीतिक मुद्दाहरूलाई लिएर सहकार्य र आवश्यक विषयमा छलफल गर्न संयुक्त संयन्त्र बनाउने अवधारणा प्रस्तुत भएको थियो ।