काठमाडौँ ज्येष्ठ १८, राजधानीको जैसीदेवलस्थित न्हूद्यः मा सिठी देवता अर्थाथ कुमारको मूर्तिलाई महास्नान गरिएको छ । न्हूघःस्थित डबली गरिएको कुमार महास्नानको प्रसङमा प्राप्त पौराणाीक र स्थानीय लोककथनअनुसार परापूर्वकालमा सिठी नखःको दिनमा जोशीदेवलको दोबाटोमा एक
बालक रोइरहेका देखेपछि बालबच्चा कोही नभएका हालका पूजारीका पूर्खाले आफ्नो घरमा ल्याई पहिलो तलाको कोठामा राखी बुइगलमा मास, मुंगको बारा रोटी लिन गई तल आउँदा ती बालक सिद्ध भई कुमार भइसकेका थिए।
त्यसै बेलादेखि कुमारको पूजा र जात्रा हुन थालेको बताइएन्छ । वास्तवमा ती बालकरूपी कुमार बलम्बुबाट आएका रहेछ र तिनकी आमा बलम्बुकी महालक्ष्मी रहिछन् र अहिले पनि जेष्ठ शुक्ल तृतीयाको साँझ कुमारको महास्नान (न्हवं) र अन्य कर्मकाण्ड क्रिया गराउन बलम्बुबाट नेमकुलहरू नै आउने गरेका छन् । टेकु पवित्र जल तामाको घडाबाट महास्नान गराइ पाटनबाट आएका नेमकूल अर्थात् नेकूबाट लँपुछाय्गु भनी रङरोगन लगाइन्छ।कुमार मूर्तिलाई अरू बेला पूजारीकै घरको पहिलो तलाको एउटा सानो अँध्यारो कोठामा राखिएको हुन्छ। सिठी चाडको अवसरमा महास्नानका लागि र भोलिपल्ट सर्वसाधारणलाई पूजा गर्न मात्र बाहिर ल्याउने गरिन्छ।