बिहिबार, बैशाख १३, २०८१

संविधान र शान्तिका लागि वातावरण बनाउन सरकार सफल : सरकारका प्रवक्ता डा.रिजाल

काठमाडौँ ज्येष्ठ ११, वर्तमान सरकारले संविधान लेखनका लागि राजनीतिक वातावरण बनाउन सफल भएको बताउँदै त्यसैलाई सय दिनको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ । सरकार गठनको सय दिनका उपलब्धिका आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा मीनेन्द्र  रिजालले संविधानसभा मातहतका समितिका सभापतिको सर्वसम्मत चयन र संविधानसभाको कार्यतालिका पारित भई सोअनुरूप काम अघि बढ्नुले सरकार आफ्नो कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ  ।

यसमा राजनीतिक सहमतिको वातावरण बनेकामा सरकार सन्तुष्ट छ, यिनै उपलब्धिका आधारमा आगामी माघ ८ गतेभित्र संविधान जारी हुनेमा सरकार विश्वस्त छ”, सूचना तथा सञ्चारमन्त्री डा रिजालले भन्नुभयो ।   उहाँले लामो समयसम्म अल्झेको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी ऐन दलहरूको सहमतिमा बनेर शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने दिशामा सरकार सफल भएको बताउनुभयो । सुशासन, भ्रष्टाचार न्यूनीकरण, जिम्मेवार एवम् पारदर्शी ढङ्गले जनतालाई सहज र सरल ढङ्गले सेवा पु¥याउने कार्यलाई समेत सरकारले जिम्मेवार ढङ्गले अघि बढाएको बताउँदै मन्त्री डा रिजालले सय दिन भनेको सरकारले भावी नीति तथा कार्यक्रम ल्याउने र बजेट तर्जुमाका लागि आवश्यक संरचना तयार गर्ने भएकाले त्यसको आधार यस अवधिमा तय गर्न सफल भएको बताउनुभएको छ ।