बिहिबार, बैशाख १३, २०८१

विकासोन्मुख मुलुक इन्टरनेटमा अगाडि

trollहामीलाई लाग्नसक्छ, विकसित मुलुकमा इन्टरनेटको प्रयोग धेरै हुन्छ। तर, एक अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको प्रतिवेदनअनुसार विकसित मुलुकको तुलनामा विकासोन्मुख मुलुकमा इन्टरनेट प्रयोगकर्ताको संख्या धेरै छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)द्वारा हालै जारी प्रतिवेदनअनुसार सन् २०१४ को अन्त्यसम्ममा विश्वमा इन्टरनेट प्रयोगकर्ता तीन अर्ब नाघ्नेछन्। यो विश्वको कुल जनसंख्याको ४० प्रतिशत हो।

आईटीयूले २०१४ को सूचनाप्रविधिसम्बन्धी आँकडा प्रस्तुत गर्ने क्रममा विकसित मुलुकको तुलनामा विकासोन्मुख देशका नागरिकले धेरै इन्टरनेट चलाउने तथ्य पनि सार्वजनिक गरेको हो। तथ्यांकअनुसार विश्वको कुल इन्टरनेट प्रयोगकर्तामध्ये विकासोन्मुख मुलुकका प्रयोगकर्ता दुई तिहाइ छन्।

आईटीयूको तथ्यांकअनुसार मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता दुई अर्ब तीन करोड छन्। यीमध्ये ५५ प्रतिशत विकासोन्मुख देशका छन्। सूचनाप्रविधिसम्बन्धी यो तथ्यांकले विकासशील मुलुकका जनतामा सूचना समाजप्रतिको आकर्षणलाई पुष्टि गरेको आईटीयूका महासचिव हामाडन आई टोरीले बताएका छन्। उनले भनेका छन्, ‘यो सूचना समाजतर्फ अघि बढ्ने प्रमुख सूचक हो।’ यो तथ्यांकअनुसार फिक्स्ड फोन (ल्यान्डलाइन)का प्रयोगकर्ता भने घट्ने प्रक्षेपण गरिएको छ। सन् २००९ को तुलनामा सन् २०१४ को डिसेम्बरमा इन्टरनेट प्रयोगकर्ताको संख्या १० करोडको संख्यामा घट्ने अनुमान गरिएको छ।  यस्तै आईटीयूको अनुमानअनुसार सन् २०१४ को अन्त्यसम्ममा मोबाइल फोनका ग्राहक झन्डै सात अर्ब पुग्छन्। यीमध्ये आधाभन्दा बढी सेलुलर मोबाइल फोनका ग्राहक एसिया प्रशान्त क्षेत्रका हुन्छन्। यो वर्षको अन्त्यसम्ममा अफ्रिकामा मोबाइलका ग्राहकको वृद्धिदर ६९ प्रतिशतले बढ्ने र एसिया प्रशान्त क्षेत्रमा ८९ प्रतिशतले बढ्ने अनुमान छ। आईटीयूको प्रतिवेदनअनुसार विकासोन्मुख मुलुकको आर्थिक वृद्धिदरसँगै दूरसञ्चारको प्रयोग पनि बढ्दै गइरहेको छ। प्रतिवेदनले तारसहितका इन्टरनेटको साटो ताररहित इन्टरनेट प्रयोगकर्ता धेरै रहेको जनाएको छ।

यस्तै मोबाइल ब्रोडब्यान्डको प्रयोग विश्वमा ३२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता युरोपमा ६४ प्रतिशत, अमेरिकामा ६९ प्रतिशत, कमनवेल्थ राष्ट्रका ४९ प्रतिशत, अरब देशमा २५ प्रतिशत, एसिया प्रशान्त क्षेत्रका २३ प्रतिशत र अफ्रिकामा १९ प्रतिशत छन्। यो वर्षको अन्त्यमा विश्वका ४४ प्रतिशत घरधुरीमा इन्टरनेटको पहुँच हुने आईटीयूको अनुमान छ। यीमध्ये एक तिहाई विकासोन्मुख मुलुकका हुनेछन्। कमनवेल्थ मुलुकमा भने दुई घरमध्ये एउटा घरमा इन्टरनेटको पहुँच हुने आईटीयूको अनुमान छ। यस्तै सन् २०१० मा अफ्रिकाका १० प्रतिशत बासिन्दाले इन्टरनेट चलाउँथे भने यो वर्षको अन्त्यमा यो संख्या दोब्बर हुने प्रतिवेदनमा अनुमान गरिएको छ।