बिहिबार, बैशाख १३, २०८१

दिपकको अंन्तस्करणको माधुर्यतालाइ उजागर गर्दै माधुर्य

काठमाडौं  ज्येष्ठ ९,  हुने विरुवाको चिल्लो पात भने झै सानैदेखि कविता र नविनतम साहित्य सिर्जनामा दख्खल राख्ने दिपक  नेपाली  साहित्यमा बन्दै गरेको पहिचानलाइ अक्षुण्ण राख्दै नेपाली साङगेतिक आकासमा एक सफल गीतकारका रूपमा उदाएका छन । नेपाली साङगेतिक फाँटमा अधिकतम अध्ययन र नविनतम प्रयोगका साथ ओर्लेका नवोदित गीतकार दिपक सापकोटाले नेपाली सङगीत पारखीको मनोभावलाइ कदर गर्दै समयको माग अनुरुप आफ्नो पहिलो गीति एलबम ‘माधुर्य’ सङ्गीत बजारमा ल्याएका छन ।

केहि समय पहिले बजारमा आएको प्रस्तुत माधुर्य नामक गीति एलबमको नाममा जति माधुर्यता छ त्यो भन्दा बढि गीतकार दिपकको अन्तस्करणमा रहेको माधुर्यतालाइ उजागर गरेको छ । अर्थाथ साङगेतिक बजारमा आएको छोटै अवधिमा माधुर्यताले दिपकलाई एक सम्भावना बोकेको एक सशक्त गीतकारको परिचय दिलाएको सहजै प्रतित हुँन्छ ।  पेसाले प्राइभेट कम्पनीका कार्यरत  दीपक कसरी एकाएक गीतलेखनको फाँटमा ओर्लन पुगे त ? यो जिज्ञासा मेटाउँदै उनी भन्छन्, ‘एक दिन आफ्नो कार्यकक्षमा कविता कोरेर बसिरहेको थिएँ, यस्तैमा एकजना साथी आइपुगे । उनले मेरो कविता हेरे र ‘यो त कविताभन्दा पनि राम्रो गीत पो बनेछ’ भन्दै लिएर गए । पुराना सङ्गीतकार भोजराज प्रसाईंसँग उनको चिनजान रहेछ, गीत उनैलाई दिएछन् । सङ्गीतकार प्रसाईंले गरेको कम्पोज ल्याएर उनले सुनाउँदा आफैँलाई निकै राम्रो लाग्यो अनि त्यस पछिका दिनमा दिपकले निरन्तर एक पछि अर्को गर्दै अविराम यस क्षेत्रमा आफ्नो यात्राको लक्ष्य पहिल्याय ।

उद्देश्य के लिनु उडि चन्द्र छुनु भने जस्तै साथीभाइकै प्रेरणाले गीति एलबम निकाल्न अग्रसर भएको बताउने दीपकको ‘माधुर्य’मा रामकृष्ण ढकाल, अञ्जु पन्त, शिव परियार, स्वरूपराज आचार्य, दीपक लिम्बूजस्ता चर्चित साङ्गीतिक हस्तीहरूले आवाज दिएका छन् । त्यस्तै अधिकांश गीतमा भोजराज प्रसाईं को सङ्गीत रहे पनि सञ्जय खड्की र राजु सिंहका सुन्दर साङ्गीतिक सौगातका कारण गीति एलबम माधुर्यले माधुर्यता छर्न सफल भएको छ ।

हरिभक्त कटुवाल, दिनेश अधिकारीजस्ता गीतकार आफूलाई मनपर्ने अभिव्यक्ति दिदै  भुलुक्क उर्लेर सेलाउने खालका नभई सदाबहार रूपमा श्रोताको हृदयमा जमेर बस्ने गीत नै वास्तविक गीत हो भन्न रुचाउँछन । त्यस्तै  आजको प्रतिस्पर्धात्मक भीडमा पैसा र मिडिया साथमा भए कमसल सिर्जना गर्नेहरू पनि अगाडि आउने र त्यो नभए अब्बल सर्जक पनि छायामा पर्ने तीतो यथार्थ राम्रैसँग बुझेका छन् ।त्यस्तै गीत लेखेकै भरमा बाँच्न सकिने वातावरण बनिनसकेको भए पनि गीतिलेखनलाई निरन्तरता दिने अथोट बोकेका  गीतकार दीपक सापकोटा मिडिया र एफएमका प्रस्तुतकर्ताहरूले स्रष्टाको नाम उल्लेख गरेर उनीहरूलाई अगाडि आउन प्रोत्साहित गर्नुपर्छ भन्ने धारणा राख्ने उनी कुनै पनि गीत उत्कृष्ट बन्नमा गीतकार, सङ्गीतकार र गायकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहनेमा स्पष्ट छन्, तर कुनै राम्रो गीति सिर्जनाको गायकले मात्र फाइदा उठाउने प्रवृत्ति विकास भएकोमा गीतकार दीपकले केहि असन्तोष प्रकट गर्दै भने यो राम्रो प्रवृति होइन ।