शनिबार, बैशाख ८, २०८१

अख्तियारद्वारा भ्रष्टाचारको आरोपमा यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुख सहित १२ जना पक्राउ

ललितपुर ज्येष्ठ ४, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आज छापा मारेर चार जना कर्मचारी र कार्यालय वरपर फोटोकपी व्यवसाय गर्दै आएका आठ जनालाई पक्राउ गरेको छ । विभागमा सवारी चालक अनुमतिपत्र बनाउने, नवीकरण गर्ने, रुट इजाजत प्रदान गर्ने लगायतका कार्यमा व्यापकरूपमा अनिमियतता तथा भ्रष्टाचार भइरहेको भन्ने सूचनाको आधारमा छापा मार्ने क्रममा अख्तियारले निमित्त कार्यालय प्रमुख रामदत्त भट्ट, शाखा अधिकृतद्वय रामेश्वर अर्याल र बालकुमार खतिवडा, लेखा अधिकृत तीर्थराज गौतमलाई पक्राउ गरेको हो ।

त्यस्तै गैरकानूनी रुपमा लाइसेन्स लिन सहयोग गरेको आरोपमा अनियमित कार्य मनकामना फोटोकपी सेन्टरका टेकबहादुर महर्जन र विष्णु बहादुर थापा, एभरग्रिन फोटोकपी सेन्टरका अनिल कुमार पाण्डे, विक्रम विसी, विष्णु बहादुर थिङ, देवराज लामिछाने, सानुकाजी देसार र विष्णु बस्नेतलाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसैवीच अख्तियारले साझा प्रकाशन सहकारी संस्था लिमिटेडका निलम्बित अध्यक्ष तथा महाप्रवन्धक ममता झाविरुद्ध पनि आरोपपत्र दायर गरेको छ । अख्तियारले निलम्बित अध्यक्ष तथा महाप्रवन्धक ममता झाविरुद्ध सार्वजनिक संस्थाको रुपमा रहेको साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सम्पत्ति दुरुपयोग गरी हानी नोक्सानी पुर्‍याएको भन्दै कैद र ३ लाख ६६ हजार ५ सय ७७ रुपैयाँ चालिस पैसा बिगो र जरिवाना दाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।