काठमाडौं बैशाख ३१, राष्ट्रपति डा. रामवरण यादवले अद्वितीय ऐतिहासिक व्यक्तित्व ,शान्तिका प्रतीक गौतम बुद्धको २५५८ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण बौद्ध धर्माबलम्बी एवम् नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै भगवान् गौतम बुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्तिको आजको दिन हाम्रा लागि अत्यन्तै पावन र महत्वपूर्ण दिन हो । विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैलाउन गौतमबुद्धका उपदेशहरू सान्दर्भिक र जीवनपयोगी भएका छन् । ‘बाँच र बाँच्न देऊ’ भन्ने उहाँको उपदेशलाई आत्मसात गर्न सकेमा सम्पूर्ण मानव समाज एकताबद्ध भई अगाडि बढ्न सहज हुनेछ बताउनु भएको छ ।
त्यस्तै राष्ट्रपति डा. यादवले शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा गौतम बुद्धको मार्गदर्शनले सम्पूर्ण धर्मावलम्बी, जातजाति, भाषाभाषीबीच सहिष्णुताको परम्परामा अभिवृद्धि गरी देशमा शान्ति, समृद्धि र सुस्वास्थ्य कायम गर्न प्रेरित गर्ने उल्लेख गर्नुभएको छ ।
बुद्धले देखाउनुभएको सत्मार्ग सबैका लागि सदैव अनुकरणीय: उपराष्ट्रपति झा
यसैवीच शान्तिका प्रतीक गौतम बुद्धको २५५८ औँ जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उपराष्ट्रपति परमानन्द झाले शान्ति र अहिंसाका प्रतिमूर्ति गौतम बुद्धले देखाउनुभएको सत्मार्ग सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । उपराष्ट्रपति झाले सन्देशमा उहाँले हिंसाको चपेटामा रहेको वर्तमान विश्वमा बुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको उल्लेख गर्दै जनचाहनाबमोजिमको लोकतान्त्रिक संविधान निर्माणबाट नै नेपालमा जनप्रतिनिधिमूलक लोकतान्त्रिक परिपाटी बलियो एवम् स्थायी हुनसक्ने र यसका लागि राजनीतिक दलहरूबीच सहमति र सहकार्यको अर्को विकल्प नरहेको बताउँनु भएको छ ।