काठमाडौं ज्येष्ठ १३, बुद्ध धर्म तथा इतिहासका अध्येता बसन्त महर्जनद्वारा लिखित पुस्तक ‘बुद्ध र महिला’ प्रकाशन भएको छ । बौद्धहरुका लागि ठूलो महत्व राख्ने वैशाख पूर्णिमाका अवसरमा इन्साइट पब्लिकेशनले पुस्तक प्रकाशन गरेको हो । बौद्ध धर्मका प्रणेता गौतम बुद्धको जन्म, सम्बोधि लाभ र महापरिनिर्वाण गरी दिन वटा महत्वपूर्ण घटना समेटिएको छ ।
महिलापुरुष बराबर रहेको र दुबैले समान रूपमा धर्मलाभ गर्न सक्ने मान्यता गौतम बुद्धको रहेको पाइन्छ । बुद्धद्वारा सुरुमा महिलालाई पुरुषसरह गृहत्याग गरी भिक्षुणी बन्ने प्रावधान नराखिएको र पछि भिक्षुणी संघको स्थापनाका लागि गरिएको प्रयत्न, बुद्ध धर्म र महिलाको सम्वन्ध, बुद्ध धर्ममा महिलाको स्थान, महिलाप्रति बुद्धको दृष्टिकोण आदि विषयवस्तु पुस्तकको पहिलो खण्डमा समाविष्ट छन् ।
त्यस्तै पुस्तकको दोस्रो खण्डमा बुद्धको सम्पर्कमा आएका विभिन्न वर्ग र क्षेत्रका महिलाहरु मायादेवी, प्रजापति, यशोधरा, सुन्दरी नन्दा, कृशागौतमी, मल्लिका, सोमा, प्रकृति, पटाचारा, आम्रपाली, विशाखा, पूर्णिका आदिले कसरी समान रूपमा धर्मलाभ गरे भन्ने विवरणका साथै तिनीहरूको जीवनचरित्र प्रस्तुत गरिएको छ । जुन जीवनचरित्रबाट तत्कालीन अवस्थाका महिलाको आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक भूमिकालाई बुझ्न सकिन्छ ।
बौद्ध धर्म, दर्शन, इतिहास तथा पुरातत्व क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धानमा संलग्न लेखक महर्जनको यो पाँचौं कृतिहो । यसअघि लेखकका ‘गौतम बुद्ध’(जीवनी), ‘बुद्धको आत्मकथा’ (संकलन तथा सम्पादन), ‘लुम्बिनी : ऐतिहासिक तथा पुरातात्विक अध्ययन’ र ‘गन्तव्य लुम्बिनी’ गरी चार पुस्तक प्रकाशित भइसकेका छन् ।