आइतवार, जेष्ठ १३, २०८१

बजारमा गुणस्तरहीन पानीको विगविगी, उपभोक्ताको स्वास्थ्यमा खेलवाद

पिउने पानीमा तामा, फलाम, नाइट्रेड, क्लोरिन, क्लोराइड र पारोको मात्रा पनि निश्चित स्तरभन्दा बढी हुनु हुँदैन

काठमाडौँ ज्येष्ठ १ ,सतप्रतिशत शुद्ध र प्रशोधितु भन्दै जार र बोतलमा बिक्री भइरहेका अधिकांश पिउने पानी मिनरल वाटर पनि गुणस्तरहीन भेटिएका छन्। स्वच्छ र गुणस्तरीय प्रशोधित पानी उत्पादन तथा बिक्री गर्छुु भनेर सरकारी निकायबाट अनुमति पाएका उद्योगले गुणस्तरहीन पानीको विगविगी बेच्दै आएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रतिवेदनअनुसार यस आर्थिक वर्षमात्रै निजी क्षेत्रका २८ वटा पानी उद्योगबाट उत्पादित मिनरल वाटर प्रशोधित पानीमा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने तत्त्व फेला परेको छ। कतिपयले भने अनुमतिपत्र नलिई पनि गुणस्तरहीन पानी उत्पादन गर्दै आएका छन्।

गुणस्तरीय पिउने पानी उत्पादन गर्ने नाम चलेकै उद्योगका पानीमा पनि कोलिफर्मका जीवाणु फेला परेको छ। कोलिफर्मयुक्त पानी पिउँदा जन्डिस, हेपाटाइटिस ई, झाडापखाला, डाइरियाजस्ता रोग लागेर ज्यान जाने सम्भावना हुन्छ। काठमाडौंस्थित श्रीकृष्ण बेभरेज, दुवा फुड प्रोडक्ट एन्ड बेभरेज, काभ्रेपलाञ्चोकस्थित यती बेभरेज र वागद्वार फ्रेस मिनरल वाटरबाट उत्पादित पानी पिउन अयोग्य रहेको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये कुनै उद्योगले उत्पादन गरेको पानी एकै वर्षमा दुईपटक गुणस्तरहीन फेला परेको छ भने कुनैले उत्पादन गरेको पानी एकै वर्ष तीनपटकसम्म पनि गुणस्तरहीन फेला परेको खवर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यस्तै शीतल जल उद्योग, क्रिस्टल ड्रिंक्स एन्ड बेभरेज, चण्डेश्वरी मिनरल एन्ड बेभरेज, सांग्रिला स्प्रिङ ड्रिंक्स एन्ड बेभरेज, आक्वा प्यासिफिक बेभरेज, सिटी मिनरल वाटर एन्ड बेभरेज, प्राची स्प्रिङ वाटर सोलुसन, शुभप्रभात बेभरेज, युनाइटेड वाटर एन्ड बेभरेज, ललितकृष्ण हिमचुली, आक्वा इनर्जी, सूर्यकुण्ड फुड एन्ड बेभरेज, एसपी ड्रिंक्स वाटर एन्ड बेभरेज र ओसियन डिंक्स वाटर नामक उद्योगबाट शतप्रतिशत प्रशोधित र शुद्धु भनेर उत्पादित पानी पनि दूषित भेटिएको छ।  ललितपुरस्थित नेस्टली वाटर एन्ड बेभरेज, श्री आदिशक्ति भवानी घिउ उद्योग, अन्नपूर्ण स्प्रिङ एन्ड बेभरेज र प्रसिद्ध वाटर सोलुसन तथा भक्तपुरस्थित जिआर ड्रिंक्स उद्योगबाट उत्पादित पानी पनि गुणस्तरहीन फेला परेको छ।

गत आर्थिक वर्षमा काठमाडौंस्थित पशुपति स्प्रिङ वाटर, आक्वा मिनरल नेपाल, रियल माउन्ट एभरेष्ट बेभरेज, कञ्चनजंघा बेबी मिनरल वाटर एन्ड बेभरेज, निरजल रिभर्स अस्मोसिस वाटर, ग्रिनल्यान्ड मिनरल वाटर एन्ड बेभरेज, श्रीजल वाटर, डाँफे मिनरल वाटर, सांग्रिला स्प्रिङ ड्रिंकिङ वाटर, एबी बेभरेज, मञ्जुश्री गणेश हिमाल खानेपानी, श्रीकृष्ण बेभरेज, ललितपुरस्थित डल्फिन इन्डस्ट्रिज र भक्तपुरस्थित स्वस्तिक बेभरेजबाट उत्पादित पानी गुणस्तरहीन फेला परेको थियो।

तीनपटकसम्म दूषित पानी उत्पादन गरेर सर्वसाधारणलाई बेच्ने उद्योगलाई समेत सामान्य जरिबाना गराएर छाड्ने गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पटकपटक गल्ती दोहोर्‍याउने उद्योगको अनुमति खारेज गर्न अहिलेसम्म जिल्ला प्रशासन कार्यालयमा सिफारिस पनि गरेको छैन। प्रशोधित पानी उत्पादन गर्ने विषयमा हामीले अनुमतिपत्र दिने होु, विभागका प्रवक्ता प्रमोद कोइरालाले भने, तर गुणस्तरहीन उत्पादन गरेको अभियोगमा अनुमतिपत्र खारेजका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार छ। त्यस्ता उद्योगको अनुमतिपत्र खारेज गर्न जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्न हामी चुकेका छौं । पिउने पानीका लागि रसायन, बिषादी र जीवाणु गरी तीनवटा मापदण्ड तोकिएको छ। पानीमा सूक्ष्म जीवाणु (कोलिफर्म) हुनु हुँदैन भने रसायन र विषादीको अवशेष पनि निश्चित मात्रामा हुनुपर्छ। खानेपानीको पीएच लेभल (क्षारीय तथा अम्लीयपनाको स्तर) ६-५ देखि ८ सम्म हुनुपर्छ। यसैगरी तामा, फलाम, नाइट्रेड, क्लोरिन, क्लोराइड र पारोको मात्रा पनि निश्चित स्तरभन्दा बढी हुनु हुँदैन।