काठमाडौँ ज्येष्ठ ५,एसिया प्रशान्त शाखा’ सदस्य मलुकका प्रहरीको १७औँ सम्मेलन आजदेखि यहाँ सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले एसिया र एसिया प्रशान्त क्षेत्र विश्वमै उदाउँदो र महत्वपूर्ण क्षेत्र हुनाका साथै विश्वको आधा जनसङ्ख्या एवम् दोस्रो ठूलो अर्थतन्त्र भएको बताउँदै सम्भावनासँगै चुनौती पनि भएकाले एक जुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आजको विश्व प्रगति र विकाससँगसँगै आतङ्कवाद, मानव बेचबिखन, लागुऔषध ओसारपसार, सुरक्षाका चुनौतीलगायत समस्याबाट ग्रसित भएकाले सबै एक भएर सामना गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडे, एफबिआइका सहायक निर्देशक जोन बोल्स, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी नायब महानिरीक्षक केशबहादुर शाहीलगायतले विश्वमा देखिएका मानव बेचबिखन, लागुऔषध ओसारपसार, विद्युतीय अपराधलगायत समस्या समाधानका लागि प्रहरी सञ्जाल एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
संयुक्त राज्य अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन र नेपाल प्रहरीको आयोजनामा दक्षिण एसियामै पहिलो पटक नेपालमा भएको सम्मेलनमा विश्वका ५२ मुलुकका १२७ प्रहरी सहभागी छन् । प्रत्येक वर्ष आयोजना हुने यस्तो सम्मेलन गत वर्ष थाइल्यान्डमा भएको थियो । सन् २००५ देखि नेपालले निरन्तर सम्मेलनमा सहभागिता जनाउँदै आएको छ ।
सम्मेलनमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले यसअघि तालिम दिएका प्रहरी अधिकारीलाई पुनःतालिम दिने बताइएको छ । नेपालमा फेडरल ब्युरो अफ इन्भेस्टिगेसनको तालिम लिएका हालसम्म ११ प्रहरी अधिकारीमात्र छन् । यही जेठ ८ गतेसम्म चल्ने सम्मेलनबाट नेपालका प्रहरीलाई अन्तर्राष्ट्रिय परिदृश्यमा भूमिका निर्वाह गर्नका साथै अन्तर्राष्ट्रिय सञ्जालमा कार्य गर्न सहज हुने जनाइएको छ । रासस