काठमाडौं वैशाख २४ , काठमाडौं उपत्यकाको शान्ति सुव्यवस्था कायम गर्न थप सजिलो होस् भनेर महानगरीय प्रहरी परिसर हनुमानढोकाले मातहतका वृत्त र प्रभागलाई २०० साइकल प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयको सहयोगमा १०० थान र बाँकी परिसरको सक्रियतामा विभिन्न दातासँग समन्वय गरेर साइकलको जोहो गरिएको जानकारी दिदै परिसर प्रमुख रमेश खरेलले अव्यवस्थित शहरीकरणका कारण सहरका भित्री गल्ली र कुनामा प्रहरीका सवारी साधन सजिलै पुग्न नसक्ने अवस्थामा त्यस्ता क्षेत्रमा साइकल गस्ती प्रभावकारी सावित देखिएकाले परिसरले मातहतका कार्यालयलाई साइकल वितरण गरिएको बताउँनु भएको छ ।
यसैबीच, परिसरले समाजमा हुने विकृतिजन्य क्रियाकलापलाई निरुत्साहित गरी प्रहरी सेवालाई चुस्त, दुरुस्त एवम् जनभावनाअनुरूप तुल्याउन आजैबाट युवामैत्री कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सो क्रममा प्रहरीले प्रत्येक दुई सातामा उच्च माविसम्मका विद्यार्थीलाई लक्षित गरेर कक्षामै लागुऔषध, साइबर अपराध, अपहरण, शरीर बन्धक, शैक्षिक परामर्शसम्बन्धी ठगी, व्यक्तिगत सुरक्षा तथा ट्राफिक नियमका बारेमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जनाएको छ ।