कठमाडौं ज्येष्ठ ३, नोवेल शान्ति पुरस्कार प्राप्त प्रजातन्त्रवादी नेतृ आङसाङ सु चीको नेपालमा नागरिक अभिनन्दनका लागि बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । बिपी कोइरालाको शतवार्षिकीको अवसर पारी प्रतिष्ठानले नेपालमा आगामी ज्येष्ठ ३१ र असार १ गते गर्न लागेको अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनलाई सम्बोधन गर्न आउन लाग्नुभएकी सु चीलाई नेपाली जनताका तर्फबाट गर्न लागिएको नागरिक अभिनन्दनका लागि समिति गठन गरिएको हो ।
समितिको सहसंयोजकमा नेपाली काँग्रेसका नेता तीर्थराम डङ्गोल रहनुभएको छ । अन्य सदस्यमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयरहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रत्यक्ष तथा समानुपातिक तर्फका सभासद्हरू लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि रहनुभएको बिपी चिन्तन प्रतिष्ठानले जनाएको छ।