मङ्लबार, जेष्ठ २३, २०८०

पत्रकार महासङ्घको विधान समावेशी प्रारुपमा संशोधन,केन्द्रीय कार्यसमिति ४३ सदस्यीय बन्ने

नेतृत्वका लागि पोषण केसी र डा महेन्द्र विष्टको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा

काठमाडौँ वैशाख २०, नेपाल पत्रकार महासङ्घको २४ औँ महाधिवेशनको आजको बन्दसत्रले महासङ्घको समावेशी प्रारुपमा मौजुदा विधान bidhan-fnjसंशोधन गरेको छ ।  महासङ्घका अध्यक्ष शिव गाउँलेले प्रस्तुत गरेको सो विधान व्यापक छलफलपछि पारित गरिएको हो । समावेशिताको आधार र महिला, आदिवासी, जनजाति, मधेसी तथा दलित समुदायका पत्रकारको निरन्तर दबाब र सहयोगपछि नै विधानलाई अन्तिम रुप दिइएको हो ।

आज साँझ सम्पन्न बन्दसत्रले संशोधन गरेको विधानको मर्म अनुरुप पत्रकार महासङ्घको केन्द्रीय समिति अव ४३  सदस्यीय हुने भएको छ । संशोधित विधानअनुसार खुला र समावेशी उपाध्यक्ष एक एक तथा महिला, एसोसिएट, समावेशी र खुला सचिव एक एक रहनेछन् भने खुला सदस्यतर्फ पाँच, मधेसी दुई, अपाङ्गता र अल्पसङ्ख्यक एक एक, दलित र जनजाति दुई दुई, महिला तीन र लेखा समिति संयोजकसहित तीन सदस्यीय रहने व्यवस्था गरिएको छ ।

त्यस्तै आजै महासचिव ओम शर्माले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष शीतल साहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनसमेत पारित भएको छ । आइतबार बिहान उम्मेदवारी दर्ता हुने र निर्वाचनको प्रक्रिया सुरु हुने बताइएको छ । महासङ्घका नेतृत्वका लागि डा महेन्द्र विष्ट र पोषण केसीको दुई छुट्टाछुट्टै समूह चुनावी मैदानमा भिड्ने भएका छन् ।