काठमाडौं बैशाख २०, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश दिंदै सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले नेपालमा प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासका लागि आवश्यक वातावरण कायम राख्न नेपाल सरकार सदैव प्रतिबद्ध रहने बताउनुभएको छ । मन्त्री रिजालले प्रेस स्वतन्त्रता लोकतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ भएकाले यसको पूर्ण संरक्षण र प्रबद्र्धन हुनुपर्छ भन्ने मान्यताप्रति सरकारको विश्वास रहेको प्रष्ट पार्नुभएको छ ।
जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासले मात्र प्रेस स्वतन्त्रतालाई सबल बनाउन सघाउने भएकाले जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारको प्रचलनमा महत्वपूर्ण योगदान पु-याउँदै आएको नेपाली प्रेस जगतको ध्यान जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासप्रति सम्वेदनशील हुन पनि उहाँले अनुरोध गर्नुभएको छ । सन्देशमा उहाँले विकास र स्वतन्त्रता एक अर्काको परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्रको सुनिश्चितता बिना हाम्रो समृद्धिको यात्रा पनि सम्भव छैन, विकासको लक्ष्य हासिल गर्न प्रेस स्वतन्त्रताको वातावरण पनि प्रत्याभूत भइरहनुपर्नेमा जोड दिनुभएको छ ।