बिहिबार, बैशाख १३, २०८१

सेनालाई व्यावसायिक बनाउन आवश्यक नीति ल्याइने प्रधानमन्त्री कोइरालाको प्रतिवद्धता

 काठमाडौँ वैशाख १२, प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनालाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चुनौतीहरूलाई सामना गरी देश र जनताको सुरक्षा गर्न sushilसक्षम व्यावसायिक सेना बनाउन दरिलो नीति बनाएर कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाली सेनाको नगरकोटमा अवस्थित सैनिक शिक्षालयमा पहिलो हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिमको आज शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली सेनालाई समयानुकूल आधुनिकीकरण गरी सक्षम, दक्ष र कार्र्यकुशल व्यावसायिक सुरक्षा अङ्ग बनाउन सरकार सकारात्मक रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो–‘‘भविष्यमा आउन सक्ने आन्तरिक र बाह्य सुरक्षा चुनौतीलाई पहिचान गरी तिनलाई न्यायोचित र व्यावहारिक रूपमा विश्लेषण गरी बुद्धिमत्तापूर्वक सही निर्णय लिन सक्ने योग्य र सक्षम उच्चतहका अधिकृत उत्पादनमा यस तालिमले ठूलो टेवा पु-याउने कुरामा म विश्वस्त छु ।’’

नेपाली सेना मुुलुकको संविधानप्रति बफादार रही नेपाल सरकारकोे नीति निर्देशनले सुम्पिएका जिम्मेवारीहरू पूरा गर्न सक्षम अराजनीतिक चरित्रयुक्त व्यावसायिक र विश्वासिलो सुरक्षा अङ्गका रूपमा स्थापित भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–‘‘देशमा भएका लोकतान्त्रिक परिवर्र्तनलाई नेपाली सेनाले आत्मसात् गरिसकेको छ । यसले आफूलाई नागरिकको मौलिक हक र मानवअधिकारप्रति प्रतिबद्ध सेनाको रूपमा विकसित गरिरहेको छ, जुन सम्पूर्ण लोकतन्त्रप्रेमीका लागि सन्तोषको विषय भएको छ ।’’

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री कोइरालाले नेपाली सेनाले सुरक्षासहित राष्ट्रले सुम्पिएका विकास निर्माण र प्राकृतिक प्रकोप लगायतका जिम्मेवारीहरू उत्कृष्ट रूपमा सम्पादन गरी आफूलाई सबल एवम् सक्षम संस्थाका रूपमा प्रमाणित गरेको चर्चा गर्नुभयो । यस तालिमले नेपाली सेनालाई अझ व्यावसायिक बनाउन झन बलियो आधार प्रदान गर्ने बताउँदै प्रधानमन्त्री कोइरालाले भन्नुभयो–‘‘यसबाट नेपाल सरकारको नीतिअन्तर्गत रही नेपाली सेनालाई आन्तरिक एवम् बाह्य सुरक्षा चुनौतीको सामना गर्न सक्ने दक्ष, गतिशील, व्यावसायिक र आधुनिक सैनिक सङ्गठनको रूपमा विकास गर्दै लैजान ठूलो सहयोग पुग्नेछ ।’’ सो अवसरमा प्रधानमन्त्री कोइरालाले सो शिक्षालय तथा तालिमको नवनिर्मित भवनको उद्घाटन गर्दै भवनको निरीक्षण पनि गर्नुभयो ।

नेपाली सेनाको इतिहासमा पहिलोपटक उच्चपदस्थ सैनिकहरूका लागि आयोजना गरिएको सोे तीनमहिने तालिममा २४ जना महासेनानी र प्रमुख सेनानी सहभागी हुनुहुन्छ । सेनानीहरूलाई पृतना, आर्मी तथा अन्तर्राष्ट्रियस्तरका क्षेत्रहरूमा कमान्ड तथा स्टाफ कार्य गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको सो तालिमले सेनानीहरूको क्षमताको विकास हुनुका साथै राष्ट्रको सुरक्षा र विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । तालिमले सेनानीमा लडाइँका कलाबारे ज्ञान बढ्नुका साथै नेतृत्व तथा कमान्ड सिद्धान्तहरूको जानकारी, राज्य सञ्चालनको मेरुदण्ड र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा सान्दर्भिकता पाउनुका साथै राष्ट्रिय सुरक्षा नीति, रक्षा नीति तथा सैनिक रणनीतिको जानकारी गराउने बताइएको छ ।

सो अवसरमा प्रधानसेनापति गौरवशमशेर राणाले नेपाली सेनाले व्यावसायिक एवम् अनुशासित सिपाही र विशिष्ट नैतिक चरित्र तथा व्यवहार भएको गुणवान् एमव् योग्य अधिकृतहरूको उत्पादन तथा विकास गरी गतिशील तथा समयसापेक्ष कार्य गर्न सक्ने सैनिक बल तयार हुने सो तालिमको मूल परिकल्पना हो भन्नुभयो ।
तालिमका संयोजक रथी भिक्टर जङ्गबहादुर राणाले भविष्यमा शिक्षालयले नेपाली सेनाको आफ्नै सैनिक विश्वविद्यालय, कलेज अफ कम्ब्याट, सैनिक शिक्षालय बनाउने उदेश्य राखेको बताउनुभयो । सो अवसरमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री डा रामशरण महत, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल र ऊर्जामन्त्री राधा ज्ञवालीलगायत सेनाका पूर्वप्रधानसेनापतिलगायत नागरिक समाजका विशिष्ट व्यक्ति र पत्रकारहरूको उपस्थिति थियो । रासस