बिहिबार, बैशाख १३, २०८१

साधुको भेषमा लागुऔषध कारोबार गर्ने मगर पक्राउ

 जनकपुर वैशाख १३,साधुको भेषमा लागुऔषधको कारोबार गर्ने एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । धनुषा जिल्ला प्रहरीका अनुसार धनुषा जिल्लामा स्थित धारापानी बलुवा टोलका ७० वर्षीय भोला आले मगरलाई ३० किलो गाँजासहित पक्राउ गरिएको हो । उनले धनुषा, महोत्तरी र सिरहा जिल्लामा  लागुऔषधको कारोबार गर्दै आएका थिए । विगत १० वर्षदेखि लागुऔषधको कारोबार गर्दै आएका मगरले आफ्नै घरमा लागुऔषधको प्याकिङ गर्ने गरेको समेत खुलासा भएको छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले अञ्चलभरि नै लागुऔषधविरुद्ध प्रहरीको अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लाबाट ९३ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको छ । सोमध्ये धनुषाका ३९, सर्लाहीका १७ र महोत्तरीका ३७ जना लागुऔषध कारोबारमा संलग्न रहेका छन् ।