शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ २०७१ माघभित्र संविधान जारी गर्न तयार गरिएको कार्यतालिका

 काठमाडौँ चैत २१, आगामी २०७१ माघभित्र संविधान जारी गर्ने गरी संविधानसभा सचिवालयले संविधान जारी गर्ने गरी कार्यतालिका तय गरेको छ । संविधान निर्माण भएपछि प्रमाणिकरणप्रति तयार गरी सदस्यहरूले हस्ताक्षर गर्ने र अध्यक्षले प्रमाणिकरण गर्ने र राष्ट्रपतिद्वारा प्रस्तुत संविधानको resize_imageदस्तावेजमा हस्ताक्षर गरी नेपाली जनतासमक्ष नयाँ संविधान प्रारम्भ भएको घोषणा गर्ने काम २०७१ माघमा सम्पन्न गरिने कार्ययोजना तयार भएको सचिावलयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

  सचिवालयले छलफलका लागि तय गरेको सम्भावित कार्ययोजनामा संविधानसभाभित्र गठन हुने बिभिन्न समितिका सभापतिको निर्वाचन ०७१ वैशाख १५ गतेभित्र सम्पन्न गर्ने रहेको छ । संविधानसभाले पाँच वटा समिति संविधानसभामा रहने व्यवस्था यसअघि नै पारित गरिसकेको छ । समितिका सभापतिको निर्वाचन गर्ने, समितिका कार्यक्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रीत रहेर कार्ययोजना बनाई सो अनुरूप कार्यसञ्चालन गर्ने काम आगामी वैशाख १५ गतेभित्र सम्पन्न गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ । यस्तै आगामी जेठ मसान्तसम्म सक्ने गरी संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले तत्कालिन संविधानसभाले संविधान निर्माणका लागि तयार पारेको दस्तावेज अध्ययन गरी सहमतिका विषय र विवादित विषय निक्र्याैल गरी सभामा पूर्ण वा आशिंक प्रतिवेदन पेश गर्ने योजना बनाइएको छ ।

संविधान अध्ययन तथा निक्र्याैल समितिको प्रतिवेदन माथि सैद्धान्तिक छलफल गरी सहमति भएका विषयहरू सभाले मस्यौदाका लागि संविधान मस्यौदा समितिमा पठाउने, सभाले असहमति जनाएका विषयहरूलाई सहमति गर्न आवश्यक निर्देशनसहित संवैधानिक–राजनैतिक संवाद समितिमा पठाउने कार्ययोजना तयार पारिएको छ । विगतको संविधानसभाबाट गठित समितिको अवधारणापत्रसहितको अभिलेखको समितिले अध्ययन गर्ने गरी प्रतिवेदन तयार पार्ने काम सोही समयभित्र पूरा गरिने छ ।

यसैगरी संवैधानिक–राजनैतिक संवाद तथा सहमति समितिमा संविधानसभाभित्र रहेका र बाहिर रहेका राजनैतिक दलबीच मत भिन्नता रहेका संविधानको अन्तरवस्तुमा राजनैतिक दलहरूसँग छलफल, अन्तरक्रिया गर्ने र बाहिर रहेका दलहरूसँग सहमति कायम गर्ने कार्ययोजना तयार पारिएको छ । आगामी असोजसम्म राजनैतिक दलबीच मतभिन्नता रहेका विषयहरूमा सहमति कायम गर्ने,छलफलमा उठेका नयाँ विषयहरूमा पनि सहमति कायम गर्ने, सहमति कायम हुननसकेका विषयहरू पुनः निर्णायार्थ संविधानसभामा प्रतिवेदन पेश गरिने छ ।

यसैगरी संविधानसभाबाट सहमति भएका विषयमा मस्यौदा गर्ने काम मस्यौदा समितिले तयार गरेको संविधानको पहिलो मस्यौदा पूर्णबैठकमा पेश गरी छलफल गर्ने काम निरन्तररूपमा अगाडि बढाउने कार्ययोजना तयार पारिएको छ । संविधानको पहिलो मस्यौदालाई अन्तिम रूप दिई जनताको राय प्रतिक्रियाको लागि नेपाल राजपत्रमा प्रकाशन गर्ने, नागरिक सम्बन्ध संविधान सुझाव समितिले संविधानको पहिलो मस्यौदा माथि जनताको रायसुझाव लिने कार्ययोजना तयार पार्ने काम कात्तिकसम्म पूरा गर्ने कार्ययोजना तयार पारिएको छ ।

पूर्ण बैठकमा भएको छलफल र सुझावका आधारमा संविधान मस्यौदा समितिले पहिलो मस्यौदालाई अन्तिमरूप दिने काम सोही समयमा पूरा गर्ने छ । संविधानको पहिलो मस्यौदा माथि व्यापक सुनुवाई, गोष्ठी, अन्तरक्रिया गराउने, जुनसुकै माध्यमबाट आएका सुझाव सङ्कलन गर्ने, संविधानसभाका सदस्यहरूले आआफ्नो जिल्ला, क्षेत्र र मुलुकका विभिन्न भागमा जाने र जनताको रायसुझाव लिने काम २०७१ साल मङ्सिरसम्म पूरा गरिने छ ।

जनताको राय सुझावसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरी सभामा पेश गर्ने र सभाको पूर्णबैठकमा छलफल गर्ने, सो काममा नागरिक सम्बन्ध समितिले नै काम गर्ने र त्यसमा सभाका सबै समिति सक्रिय रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी २०७१ पुससम्म संविधानको पहिलो मस्यौदा जनताको राय बमोजिम परिमार्जन गरी संविधानसभाको विधेयकसभामा पेश गर्ने, सो विधेयकको प्रति सबै सदस्यहरूलाई वितरण गर्ने, अन्तरिम संविधान र संविधानसभा नियमावली बमोजिम संविधानको विधेयकमाथि सभामा सामान्य छलफल, विधेयकमाथि संविधानसभाका सदस्यहरूलाई सशोधन राख्ने म्याद दिने, सशोधनसहित विधेयकमाथिको दफाबार छलफल गर्ने, संविधानको सबै धारा, प्रस्तावना र नामसहित सम्पूर्ण भाग सभाबाट पारित गर्ने काम सम्पन्न गर्ने प्रस्तावित कार्ययोजनामा समावेश गरिएको छ ।  कार्यतालिकालाई संविधानसभा कार्यव्यवस्था परामर्श समितिको सिफारिशमा मूलभूतरूपमा परिवर्तन नहुनेगरी संविधानसभाका अध्यक्षबाट हेरफेर गर्नसक्ने व्यवस्था राखिएको छ । कार्यतालिका भोलि शुक्रबार बस्ने संविधानसभाको बैठकमा पेश गर्ने तयारी गरिएको छ । रा