शुक्रबार, बैशाख १४, २०८१

क्रान्तिकारी पत्रकार सङ्घको निर्वाचन परिचालन समिति गठन

 काठमाडौँ चैत २४, क्रान्तिकारी पत्रकार सङ्घले आगामी वैशाख २० र २१ गते हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशनका लागि संयोजक गोविन्द आचार्यको नेतृत्वमा सात सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । सङ्घको आज बसेको केन्द्रीय कार्यालयको बैठकले निर्वाचनको क्रममा सङ्घका तर्फबाट अगाडि सार्नुपर्ने नीति र कार्यसूचीको मस्यौदा तयार गर्ने समितिमा ओम शर्मा, खिलबहादुर भण्डारी, चन्द्रमान श्रेष्ठ, विष्णु सापकोटा, मनऋषि धिताल र बलराम थापा सदस्य रहेको कार्यदल समेत गठन गरेको हो ।

सो समितिलाई नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासङ्घसँग वार्ता गर्ने अख्तियारीसमेत प्रदान गरिएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकले महासङ्घका पाँच विकास क्षेत्र, उपत्यका प्रतिष्ठान, एसोसिएटतर्फबाट उठाउनुपर्ने उम्मेद्वार छनौटका लागि समेत विभिन्न समिति गठन गरेको छ ।