काठमाडौँ चैत २१, नायिका निशा अधिकारी भित्री पहिरनको विषयमा संवेदनशील छिन्। बाहिर जस्तो कपडा लगाए पनि भित्री पहिरनमा उनी कुनै सम्झौता गर्दिनन्। उनी भन्छिन्, भित्री पहिरन स्वस्थ्य, सुन्दरता र सहजता सबैसँग गाँसिएको हुन्छ। समय र अवसरअनुसार लगाइने कपडामा भित्री पहिरनलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ छ। अवसरअनुसार स्पोर्ट्स, टि सर्ट, पुस अपलगायतका ब्रा चयन गर्छिन्। उनी ब्रामात्र नभएर पेन्टीको चयनमा पनि उत्तिकै सचेत छिन्। सबै खाले कपडामा पेन्टी सहज हुँदैन। उनी वन पिस र गाउनमा थम लगाउँछिन्। थम र पेन्टीको चयनमा पनि स्वास्थ्यको दृष्टिकोणले गर्नुपर्ने निशा बताउँछिन्। उनी भन्छिन्, सकेसम्म पेन्टी थम पनि कटनकै किन्नुपर्छ।
नायिका सुष्मा कार्की भने भित्री पहिरनमा आफूलाई त्यत्ति सचेत मान्दिनन्। हेर्दा जुन राम्रो लाग्छ त्यही किन्छुु, उनी भन्छिन्, हप्ताहप्तामा नयाँनयाँ इनर वेयर किन्छु।ु उनी भित्री पहिरनको पनि रङ संयोजन मिलाएर लगाउँछिन्। धेरैजसो सुतीका भित्री पहिरन किन्ने भएकाले उनलाई जुन पनि सहज लाग्छ।
युवतीहरूमा पुस अप ब्रा फेसनमा छ। आफूकहाँ आउने धेरै ग्राहकले स्तनलाई आकर्षक देखाउन यस्तो ब्रा रोज्ने गरेको न्युरोडस्थित विजय इम्पोरियमकी कर्मचारी सुनिता पाठक बताउँछिन्। यहाँ लाइक्रा एनिमल प्रिन्टेड, जिस्टिन ब्रा बढी बिक्री हुन्छन्। किशोरी र युवतीहरू पुसअप ब्रा नै खोज्छन्ु, उनी भन्छिन्, यसले ब्रेस्टलाई आकर्षक देखाउने भएकाले सबैको रोजाइमा यही पर्छ।
उनका अनुसार नीलो र कालो रङका ब्रा बढी चलेका छन्। विजय इम्पोरियममा तीन सय ९० देखि १४ सय सम्मका ब्रा पेन्टीको सेट उपलब्ध छ। थाइल्यान्डको जिन्ताना, वन्डर्फुल, न्यन्स ब्रान्डका ब्रा धेरै खपत भएको सुनिता बताउँछिन्।
युवतीहरूले सेटको ब्रा पेन्टीभन्दा पनि आफ्नो इच्छाअनुसार रङ संयोजन गराएर किन्ने गरेको न्युरोडकै रिन्जिना इम्पोरियमकी कर्मचारी सुशीला गुरागाईं बताउँछिन्। उनी पनि सबैभन्दा धेरै पुस अप ब्रा नै खपत हुने गरेको बताउँछिन्। युवतीहरू भित्री पहिरनलाई लिएर निकै सचेत हुन थालेको उनको अनुभव छ। ुधेरैले डिजाइनसँगै क्वालिटी पनि हेर्न थालेका छन्, उनी भन्छिन्, केही वर्षअघिसम्म भित्री पहिरनको बारेमा महिलाहरू त्यति धेरै सचेत थिएनन्, भित्र लगाउने कपडा जस्तो भए पनि भइहाल्छ नि भन्ने सोच्थे तर अहिले भने महिला धेरै चुजी भएका छन्।
युवतीहरूमा पुस अप र महिलामा साधारण कटन ब्रा धेरै प्रचलनमा छ। विवाहित र सन्तान जन्माइसकेका महिलाका लागि स्काइ सपले एयर ब्रा बेच्ने गरेको छ । ९३ प्रतिशत नाइलनबाट बनेको यो ब्राको मूल्य चार हजार नौ सय ९५ रुपैयाँ पर्छ। यस ब्राले सन्तान जन्माएका महिलाको झोलिएको स्तनलाई सही आकार दिने स्काई सपकी कर्मचारी प्रजिता भुजेल बताउँछिन्। यो ब्रा कम्तीमा पनि दुई वर्ष टिकाउ हुने ग्यारेन्टी कम्पनीले दिएको छ। तीन वर्षदेखि एयर ब्राको व्यापार गरिरहेको स्काई सपले किशोरीहरूका लागि पुसअप ब्रा पनि ल्याउने तयारी गरेको छ। आवश्यकतामात्र नभएर भित्री पहिरन महिलाको सोखको विषय पनि बनेको छ। त्यसैले त विश्वमा महँगा र स्टाइलिस ब्राको उत्पादन भएका छन्। भिक्टोरियाज सिक्रेटले हरेक वर्ष धातु तथा पत्थर जडेका विशेष ब्रा सार्वजनिक गर्छ।
पहिरन अनुसार ब्रा
हामीले लगाएको कपडाले हाम्रो शैली र व्यक्तित्व झल्काउँछ। त्यसैले हामी फेसन ट्रेन्डलाई ध्यान दिएर कपडा किन्छौं। तर भित्री पहिरन भने हेर्दा ठीक लाग्दैमा किनिहाल्छौं। भित्रि पहिरन किन्दा आफ्नो शरीरको आकारलाई पनि ध्यान दिनुपर्छ। भित्री पहिरन सही नहुँदा बाहिर देखिने सुन्दरता र सहजतामा पनि यसको प्रभाव पर्छ।
अन्य कपडामा मात्र होइन सारी लगाउँदा ब्लाउज र कुर्तामा पनि अहिले ओपन गला फेसनमा छ। ब्लाउज र कुर्तामा ब्राको फित्ता अड्काउने पिन नै राखिएको हुन्छ। ब्लाउज वा कुर्तामा स्तनको तल्लो भागमा ब्रा फिटिंग भएमात्र पहिरनको सुन्दरता बढ्छ। प्याडेड अन्डरवेयर वा पुसअप ब्रालाई आफ्नो आवश्यकताअनुसार चयन गर्न सकिन्छ। कपडाको गला गहिरो गरेर खोलिएको छ भने नेक ब्रा अर्थात् डेमी कट ब्रा लगाउनुपर्छ। यसले ब्रेस्टको आधा भागलाई कभर गर्छ। जसले गर्दा गलाको तल ब्रा देखिँदैन। ठूलो स्तन भएका महिलाले भने यस्तो ब्रा नलगाएको राम्रो। यसबाहेक प्लंज ब्रा पनि लगाउन सकिन्छ। यसले ब्रेस्ट लाइन र ब्रेस्टलाई नजिक गरेर आकारलाई व्यवस्थित गर्छ।
ठूलो स्तन भएकाले ब्यान्ड साइज वा कपको तलको पट्टी पिठ्यूँमा केही तलसम्म भएको अर्थात् ब्याक स्ट्रेप लोअर भएको ब्रा लगाउनुपर्छ। यसले स्तनको वजनको कारण पछाडिको ब्यान्ड माथि पुग्न दिँदैन। स्तनको आकार सामान्य छ भने ब्याकलेस ड्रेसको तल स्ट्रेपलेस ब्रा लगाउन सकिन्छ। तर स्तनको आकार सामान्यभन्दा सानो भए स्ट्रेपलेस ब्रासँग सिलिकन प्याड्स प्रयोग गर्न सकिन्छ। स्ट्रेपलेस अन्डरवायर ब्रा पनि लगाउन सकिन्छ। यसले ब्रेस्टलाई सपोर्ट दिन्छ।
टाइट टिसर्टमा सिलाइरहित ब्रा लगाउनुपर्छ। यस्तो ब्रा लगाउँदा आउटलाइन देखिने समस्याबाट मुक्ति मिल्छ। हिजोआज बजारमा टिसर्ट ब्रा पनि पाइन्छ। तन्किने खालको कपडा लगाउँदा ब्राको चयन महत्त्वपूर्ण हुन्छ। फिटेड टप्सको लागि प्लेन ब्रा उचित हुन्छ।
ब्रा सल्लाह ब्रा किन्ने समयमा ऐनामा हेरेर ट्राइ गर्नु राम्रो हुन्छ। फिटिंग राम्रो भएन भने फिर्ता गर्ने झन्झट हुँदैन। पुस अप ब्रामा तार फिट भएको अन्डरवायर्ड ब्रा धेरै चलनमा छ। अन्डरवायर्ड ब्रा किन्दा तार सही तरिकाले फिट भएको छ कि छैन भनेर ध्यान दिनुपर्छ। यसले स्तनलाई पूरै थाम्ने खालको हुनुपर्छ। छेउबाट पनि स्तनभन्दा माथिसम्म पुगेको छ वा छैन ध्यान दिनुपर्छ। तार स्तनभन्दा माथिसम्म पुगेको छ भने हात चलाउँदा यसले घोच्छ। जसरी हामी मौसमअनुसार बाहिरी पहिरन फेर्छौं त्यसरी नै भित्री पहिरन पनि फेर्नुपर्छ। प्रायस् महिलाहरू भित्री पहिरनको त्यति ध्यान पुर्याउँदैनन्। भित्री पहिरन शरीरको छालाको सबैभन्दा नजिक रहने वस्तु हो। त्यसैले आराम तथा सहजताको लागि सही कपडा र फिटिंग चयन गर्नुपर्छ। गर्मी मौसममा पसिनाले धेरै सताउँछ। यस्तो मौसममा सुतीको वा सुती मिसिएको, कटन मिक्स वा साधारण ब्रा छनोट गर्नुपर्छ। यस्ता कपडाले पसिना छिट्टै सोस्छन् र शरीरमा टाँसिदैनन्।
विनीता मरहट्टा अन्नपूर्णपोष्ट