
कठमाडौं चैत १९,नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद् धनराज गुरुङले सभासद् भएबापत पाउने पारिश्रमिकको २५ प्रतिशत रकम जिल्लाका हरेक गाविसमा रहेका १०/१० जना अनाथ, असहाय तथा गरिब बालबालिकालाई छात्रवृत्ति आवश्यक छ भनी काँग्रेस गाउँ कार्यसमितिले सिफारिसमा सभासद् गुरुङले गरिब तथा विपन्न विद्यार्थीको पढाइमा खर्चिने घोषणा गर्नुभएको छ ।
नेपाली काँग्रेस चित्रेभञ्ज्याङ गाउँ कार्यसमितिले मङ्गलबार यहाँ आयोजना गरेको गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले सो घोषणा गर्नुभएको हो । गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्दै सभासद् गुरुङले देशका सबै सभासद्ले यस प्रकारको अभियान चलाएमा देशमा रहेका गरिब, अनाथ तथा असहाय बालबालिकाले पढ्न पाउने बताउनुभयो । सो कार्यक्रममा सभासद् गुरुङले चित्रेभञ्ज्याङ–२ स्थित बाल सूर्योदय प्राविमा अध्ययनरत पाँच तथा वडा नं ९ स्थित मन प्राविका पाँचजना गरी १० बालबालिकालाई जनही रु एक हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।