शुक्रबार, मंसिर २३, २०७९

चोभारमा आदिनाथको जात्रा र रामनवमी

    काठमाडौ  चैत २४, चोभार काठमाडौं उपत्यकाको उच्च स्थानको बस्ती मध्यको एक चोभार, काठमाडौंबाट करिब ४/५ कि.मि. दक्षिणमा पर्दछ । पूर्वमा नख्खु खोला र सैंवु, पश्चिम भाजँगाल, पाँगा कीर्तिपुर र इटागोल, उत्तरमा बाग्मतीको सुन्दरीघाट, सुलक्षण तिर्थ छ भने दक्षिणमा जलविनायक, गुथ गाउँ र टौदह रहेको छ । चोभारको उत्पतिबारे दुई किसिमको भनाई रहेको छ । १) स्वयम्भू पुराण अनुसार द्वापर युगको अन्त्यमा महा मञ्जुश्रीले चन्द्र ¥हास खड्ग प्रहार गरी कच्छपा पर्वतलाई दुई टुक्रा पारी पानी पठाएपछि यो डाँडाको नाम कपोतल पर्वत कच्छपा गिरी नामले मञ्जुश्रीका उपाशकहरुलाई बस्ती बसालेको  चोभार हो भन्दछन् । २) धेरै वर्ष पहिले नेपाल सुप्रभा नगर (हाल थानकोट) राजधानी भएको बाणासुरको राज्यमा दानासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रभावती नाम गरेकी एउटी छोरी थिइन् । कच्छपासुरले बहिनीको जलक्रिडाको लागि पोखरी बनाउँछु भनी चोभार गल्छीमा सुतेर नेपाललाई जलमय तलाउ बनाइदिएका थिए । एक रात प्रभावतीले प्रद्मुम्नलाई स्वप्नमा दर्शन मिलेबाट मुग्ध भई श्रीकृष्णको छोरा प्रद्मुम्नलाई वरण गरेकी थिइन् । नारदद्वारा प्रभावतीको खवर पाएर दानासुरसँग लडाई गरी मारी प्रभावतीसँग विवाह गरेका थिए । भगवान् श्रीकृष्णले नेपाल खोल्न भनी चोभार न्हसीकाटमा सुदर्शन चक्र प्रहार गरी नेपाल खोल्नु भयो । जलमा सुतेको कच्छपासुरलाई मारी प्रद्मुम्नले दष्टारत्न मणी लिनु भयो । जलमा दैत्यसँग युद्ध गर्ने भएका श्री गणेशलाई जलविनायक नाम राखी स्थापना गर्नुभयो । त्यतिबेला गणेशको प्रार्थनाले बासुकी नाग स्वरुप भई सँगै बस्नु भएको छ । चोभार कच्छपको शरीर भएकोले कर्म गिरी, कच्छपाल पर्वत पनि भनिआएको छ ।

प्रभावतीय तिर्थ नख्खु खोला : बुहारी प्रभावतीले दाजु कच्छपासुरलाई पवित्र पार्न गरेको आरधना अनुसार श्रीकृष्णले वरदान दिई कच्छपासुरलाई पवित्र पार्न प्रभावती नख्खु खोला भई र कच्छपासुरलाई पवित्र पारिन । यो चोभारको पूर्वमा रहेको बाग्मतीको सुलक्षण तिर्थ सुन्दरीघाट पाटनको नख्खु खोलाको संगम त्रिवेणी ठूलो तिर्थ हो । बाग्मती किनारमा बालकुमारी रहेको छ । यसैलाई प्रभावतीय तिर्थ वा जयश्री तिर्थ भन्दछन्  ।

आदिनाथ
यसै प्रभावतीय तिर्थमा पानी सुक्दै गएपछि चैत्र शुक्ल अष्टमीको दिन देवताको मूर्ति फेला परेछ । यसलाई बाजा गाजाका साथ चोभारमा लगी बहालको मन्दिरमा विराजमान गरँइएको छ । उपत्यकामा पाँच लोकेश्वर छन् । बुग्मतीमा आर्यावलोकितेश्वर, ललितपुरमा खसर्पन लोकेश्वर, काठमाडौंमा अमोधपास लोकेश्वर, नालामा सृष्टिकान्ता लोकेश्वर र चोभारमा आनन्दायी लोकेश्वर हुन् । यस आनन्दायी लोकेश्वरलाई ग्रह, दसा, रोग, भयबाट मुक्त पार्ने धन धान्ने कार्यसिद्धि आदि वर दिने देवताको रुपमा लोकनाथ, आदिनाथ, चोभाद्यः, आदि नामले पूजिने गरी आएका छन् । भक्तजनहरुले महिना महिनामा अष्टमीका दिन उपोसध व्रत बसी सप्त विद्यानोत्तर सत्तो पूजा गरी ध्वजा–पताका, भाँडा–कुँडा, गर–गहना, आदि चढाउने गरिआएका छन् । यो मन्दिरको विभिन्न भागमा हालसम्म पनि यस्ता सामानहरु रहेको देखिएको छ । यस देवतालाई पाएको बेलामा माथि हेरेकोले (च्वे भाय्) माथि देखाएको भनी चोभाद्यः भन्ने गरेको भन्दछन् । माथि बहालमा रहेको देवता भएकोले नेवारीमा च्वे बहाले च्वम्ह द्यः भनी चोभाद्यः भन्ने गरेको पनि भनिआएका छन् । यसैको नामाकरणबाट अपभ्रम्स भई यस डाँडालाई चोभार भन्ने गरेको पाइएको छ ।
जात्रा पर्व
प्रत्येक साल चैत्र शुक्ल प्रतिपदाको दिन आदिनाथलाई नुहाउने गर्दछन् । यसलाई चोभा: न्हवँ भन्दछन् । यस दिन के कति समयमा नुहाउने हो साइत जुराई नुहाइने गर्दछन् । देवताको पुजारीलाई पान्जू भन्दछन् । मन्दिरको पूर्वतिर रहेको डबलीमा आदिनाथलाई ल्याई चार कुनामा चार जना पान्जू्हरुले चोखो पानीको घडाले चारैतिरबाट नुहाइ दिने गर्दछन् । यसरी नुहाउनको लागि नख्खु खोलबाट जल ल्याउने गरिआएकोमा हाल खोला सफा नभएबाट दैनिक जलको लागि ल्याउने कुवाबाट जल ल्याई नुहाउने गरिआएको छ । यो दिनलाई चोभार बासीले जात्रा पर्वलाई तयारी गरेको दिन अर्थात् ‘छ्वेला भू’ भनेर जात्राको सुरुवात गरेको हुन्छ । यसरी आदिनाथलाई नुहाइ दिएपछि जात्रा पर्व सम्पन्न नभएसम्म बहालभित्रको डबलीमा राख्ने गर्दछन् । पहिले पहिले यसरी बहालभित्रको डबलीमा राख्ने गरिएकोमा हाल सुरक्षाको दृष्टिकोणले मन्दिरभित्रकै डबलीमा राख्ने गरिआएका छन् । यसै चैत्र शुक्ल अष्टमीका दिन सुरुमा पाएको स्थान त्रिवेणी तिर्थ प्रभावतीय तिर्थ नख्खुमा पुजारीहरुले कलशमा पूजा सारदाम लगी साइतमा खोलामा पूजा गछ्र्रन् । त्यसैपूजाको फुल बग्दै आएकोलाई देवता पाएको ठानी कलशमा विराजमान गराई बाजागाजाका साथ खोलाबाट बालकुमारी नजिकको डबलीमा ल्याई विराजमान गराउँछन् । यो साइतमा भक्तजनहरुले पनि नुहाउने गर्दछन् । यसैलाई उपत्यकाका नेवारहरुले (नेखुई ख्वा सीउ वनेगु) अर्थात् नख्खु खोलामा नुहाउन जाने मेलाको रुपमा मान्दै आएका छन् । यसै दिनको ३/४ बजेतिर यस देवतालाई खटमा राखी बाजागाजाका साथ माथि बहालमा लगी मन्दिरको पूर्व उत्तरको डबलीमा कलश र मूर्ति राखी जन्मदेखि बुढाबुढी पासनीसम्मको कर्म क्रिया गरी गराई भोलि विहानी पख पुनः देवतालाई मन्दिरभित्र राख्ने गर्दछन् । यसै पर्वलाई चोभारबासीहरुले स्थानीय जात्राको रुपमा पाहुना बोलाई भोजन गराई जात्रा मनाउनु गरिआएका छन् ।
रामनवमी
त्रेतायुगमा यसै चैत्र शुक्ल नवमी आजैका दिन भगवान् विष्णुले रामको रुपमा लिला गर्न जन्म लिनु भएको थियो । यसलाई नै राम जयन्ती भनी राम नवमी मानिआएको छ । त्यतिबेला दानव र मानवमा मानिसहरु विभाजित भई शक्ति प्राप्त गरी एकअर्कासँग लड्ने–भिड्ने गर्दथे । लङ्काका राजा रावणले अति कष्टका साथ देवादी देव महादेवको जपतप गरी वरदान लिई शक्तिवान भई रहेका थिए । अरुले पनि यज्ञ यज्ञादी गरी शक्ति प्राप्त गर्लान् र आफूसँग प्रतिस्पर्धा गर्ला भनेर ऋषिमुनीहरुले कतै यज्ञ यज्ञादी गर्न लाग्यो भने राक्षसहरु पठाई बिध्वंस गरी दिने गर्दथे । यसरी स्वेछाचारी भई धेरै अन्याय अत्याचार भई रहँदा धर्तिमातालाई अति बोझ भएबाट त्राण पाउन भगवान् विष्णु कहाँ गएर बिन्ति गर्न पुगिन् । भगवान् विष्णुले पनि रामको रुपमा जन्म लिई रक्षा गरी दिने वचन दिनु भयो । अयोध्यामा पाँच इन्द्रीय र पाँच कर्मेन्द्रीयलाई आफ्नो बसमा राख्न सक्ने राजा दशरथका कौशल्या, कैकेयी र सुमित्रा तीन रानी थिए तर पनि सन्तान थिएन अरुको सन्तान देखेर राजा दशरथलाई पनि सन्तानको चाहना भयो र राजर्शी बसिस्ठसँग सल्लाह गरेर श्रृङ्गी ऋषिद्वारा पुत्रदा यज्ञ सम्पन्न गरी त्यसको फलद्वारा राम, लक्ष्मण, भरत र शत्रुघन चार छोराहरु भए । यसमा भगवान् विष्णुले दशरथका जेठी रानी कौशल्याबाट ज्येष्ठ सुपुत्रको रुपमा राम अवतारलिई लिला गर्न आउनु भएको थियो । राज गुरु बसिस्ठ ऋषिबाट शस्त्र, अस्त्र समेतको ज्ञान प्राप्त गरी विश्वामित्र ऋषिसँग गई यज्ञ यज्ञादीको संरक्षण गर्न राक्षसहरुलाई दमन गरेका थिए । यसरी ऋषिहरुले आफ्नो यज्ञ यज्ञादी कर्म गर्न पाउँदा पुनः पृथ्वीमा सन्तुलन कायम भई रहन बस्न योग्य भए । समाजमा आदर्श कायम गर्न गुरुदेव भवः, मातृदेव भवः, पितृदेव भवःलाई मनन गरी आमाबुबाको वचन पालना गर्न राज्य समेत त्याग गरी १४ वर्ष वनबास गए । पछि राज्य संचालन गर्दा पनि जनभावनाको कदर गर्न आफ्ना अर्धाङ्गीनी सीतालाई समेत त्यागिन् । यसरी रामलिला गर्न, आदर्शको पाठ सिकाउन, मनुष्यको रुपमा जन्म लिनु भएको हुँदा आदर्श रामको जन्मोत्सवलाई मनाउने गरिआएका छौं । हामी यस राम नवमी पर्वले भगवान् रामको आदर्शलाई स्मरण गरी आफू हरु पनि त्यस्तै संयमी र आदर्शवादी बनि समाजलाई सुधार गर्न सकौ र आदर्शमय देश बनाऔं । यो साल चैत्र शुक्ल अष्टमी र घडिपलाको आधारमा नवमी पनि परेकोले आदिनाथको जात्रा र रामनवमी एकै दिन मनाउँदै छौं ।
-अर्जुन महर्जन  /साभार सहिद साप्ताहिक
Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2014
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031