काठमाडौं चैत्र २५, आज मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मजयन्ती अर्थात रामनवमी पर्व धुमधमाकासाथ मनाईदै छ । त्रेतायुगमा चैत शुक्ल नवमीको पुनर्वसु नक्षत्रमा रामको जन्म भएको शास्त्रहरूमा उल्लेख छ र यही दिनलाई रामनवमी भनिन्छ । यसै अवसरमा काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिर लगायतका देवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यसैवीच श्रीरामको जन्मजयन्तीको अवसरमा जनकपुरको गंगा सागर, धनुसागर, अर्गज्जा पोखरीमा स्नानगरि राम–जानकी मन्दिरमा पूजा–पाठ गर्ने गरिन्छ । करिब नौ हजार वर्ष पहिले त्रेता युगमा आजकै दिन भारत अयोध्याका राजा दशरथ र रानी कौशल्याको जेठो सन्तानका रुपमा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
राम नवमीमा रामको स्मृतिमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म–वाल्मीकि, तुलसीकृत– भानुभक्तिय रामायण वाचन गर्ने र पूजा–आराधना गरी भजनकीर्तन गर्ने गरिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा भइ विष्णुको सातौं अवतारका रुपमा जन्मेका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि पापी र दुष्ट राक्षसहरुको नाश गरेको विश्वास गरिन्छ । भगवान रामले राक्षसका राजा रावणको वध गरेर मानिसहरुको उद्धार गरेको धार्मिक ग्रन्थमा उल्लेख छ ।