शनिबार, बैशाख ८, २०८१

यस्तो छ काँग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन तालिका

 काठमाडौँ चैत १०, प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले यही चैत १२ गते हुने संविधानसभा संसदीय दल कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक गरेको छ । संविधानसभा संसदीय दल कार्यसमितिमा १७ सदस्यका लागि हुने निर्वाचन चैत १२ गते दलको कार्यालयमा दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म हुने काँग्रेसका Congress-flagप्रवक्ता एवं निर्वाचन समितिका संयोजक दिलेन्द्रप्रसाद बडूले बताउनुभयो ।

कार्यतालिका अनुसार मतदाताको अन्तिम नामावली आज प्रकाशन गरिएको छ । त्यस्तै उम्मेदवारका लागि दरखास्त चैत ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म, उम्मेदवारको प्रथम नामावली प्रकाशन सोही दिन दिउँसो १ बजे र त्यसउपर दाबी विरोध २:०० बजेसम्म रहनेछ ।   उम्मेद्वारको अन्तिम नामावली प्रकाशन चैत १२ गते बिहान १०.३० बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

निर्वाचन हुने जम्मा १७ सदस्यमध्ये प्रत्येक विकास क्षेत्रबाट एक/एक जनाका दरले पाँच जना र समानुपातिक प्रतिनिधित्वका आधारमा १२ जना रहने छन् । समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम मधेसी तीन, दलित दुई, उत्पीडित÷आदिवासी जनजाति तीन, पिछडिएको क्षेत्र एक र खस आर्य तथा अन्य तीन जना सदस्यका लागि निर्वाचन हुनेछ ।