बुधबार, बैशाख १२, २०८१

महाकुम्भ मेला सफल पार्न सम्बद्ध निकायलाई सरकारको निर्देशन

 काठमाडौं चैत्र ११, सुनसरीको बराहक्षेत्रमा आगामी चैत १७ देखि वैशाख १९ गतेसम्म हुने महाकुम्भ मेला सफल पार्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता र सद्भावको संरक्षण एवं सम्बद्र्धन गर्दै आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने र नेपाल तथा नेपालीको विशिष्ट पहिचान दर्शाउने उद्देश्य रहेको उक्त मेलालाई व्यवस्थित तुल्याउन तथा त्यसबारे अत्यधिक प्रचार–प्रसार गर्न सरकारले प्रधानमन्त्री तथा 211मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय र मातहतका निकायका उच्च पदाधिकारी सम्मिलित मेला तयारी तथा प्रचार–प्रसार समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि बाँस्कोटाको अध्यक्षतामा हालै सम्पन्न बैठकले विभिन्न मन्त्रालय र निकायलाई कार्यभार सुम्पेको छ । उक्त बैठकको निर्णयअनुसार गोरखापत्र संस्थानले महाकुम्भ मेलासम्बन्धी प्रचार–प्रसार सामग्री, समाचार, समाचार विश्लेषण, सम्पादकीय, लेख तथा अन्तर्वार्तालाई विशेष महत्वका साथ प्रकाशन गर्नेछ भने मेला अवधिको कुनै एक दिन उपयुक्त समय पारेर विशेषांकसमेत प्रकाशन गर्नेछ । त्यसैगरी, रेडियो नेपालले मेलासम्बन्धी प्रचारात्मक श्रव्य सामग्री, समाचार, समाचार विश्लेषण, सम्पादकीय, लेख तथा अन्तर्वार्ता, अन्तरसंवाद कार्यक्रम आयोजना गर्नुका साथै प्रत्यक्ष प्रसारण गर्ने कामलाई प्राथमिकता दिनेछ । राससले नै मेला तयारीसम्बन्धी हालसम्म भएका कार्यप्रगतिलगायत स्थलगत निरीक्षण गरी समाचार सम्प्रेषण गर्नुका साथै क्षेत्र र जिल्ला तहमा समाचारदाता परिचालन गरी अधिकभन्दा अधिक मेलासम्बन्धी समाचार प्रस्तुत गर्नेछ । रासस केन्द्रीय कार्यालयबाट परिचालन हुने संवाददाताले स्थानीय तहमा कार्यरत सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग समन्वय गरी चाँडोभन्दा चाँडो मेलासम्बन्धी समाचारलाई सम्प्रेषण गर्नेछ ।

त्यस्तै, नेपाल पर्यटन बोर्डले मेलासम्बन्धी प्रचार सामग्री निर्माण गर्नुका साथै सडक र अन्य स्थानमा तिनलाई राख्ने र मेलासम्बन्धी जानकारी पुस्तिका तयार गरी वितरणमा सम्बद्ध निकायलाई सघाउनेछ । बैठकले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागलाई स्थानीय तहमा सञ्चार केन्द्र स्थापना, केन्द्रमा पत्रकार सम्मेलन आयोजना, निजी क्षेत्रका सञ्चारगृहको परिचालन, फ्रिक्वेन्सी मोडुलेसन (एफएम), रेडियोमार्फत प्रचार सामग्री प्रवाह, सञ्चारकर्मीलाई अभिमुखीकरण तालिमको व्यवस्था तथा सरकारी सञ्चारमाध्यमलाई अत्यधिक उपयोग गरी महाकुम्भ मेलाको पूर्ण सफलताका निम्ति व्यापक रूपमा प्रचार–प्रसारको व्यवस्था मिलाउने दायित्व सुम्पेको छ । त्यस्तै, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा प्रचार–प्रसारको व्यवस्था गरी धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने, विशेषगरी भारतमा प्रचार–प्रसार व्यापक तुल्याउने, राष्ट्रसेवकको यात्राको प्रबन्ध मिलाउने, चलचित्र भवनमा प्रचार–प्रसार गर्ने, पचहत्तरै वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिचालन गरी महाकुम्भ मेलालाई सफल तुल्याउन पनि बैठकले निर्देशन दिएको छ ।

बैठकमा सचिव बाँस्कोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लालशंकर घिमिरे, सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एवं राष्ट्रिय समाचार समितिका अध्यक्ष उमाकान्त पराजुली, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य, सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक रामकुमार कोइराला, गोरखापत्र संस्थानका महाप्रबन्धक तथा प्रधान सम्पादक सुशील कोइराला, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनीलही थापा, नेपाल टेलिभिजनका महाप्रबन्धक लक्ष्मण हुमागाईं, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की र नेपाल पर्यटन बोर्डका प्रबन्धक मणिराज लामिछाने थिए । बराहक्षेत्र चतरा धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको छ । रासस