बिहिबार, चैत्र १५, २०८०

भारतीय प्रधानमन्त्री सिंहले प्रधानमन्त्री कोइरालालाई भने नेपालमा नयाँ संविधान जारी भएको हेर्न भारत आतुर

 काठमाडौं फागुन २०, प्रधानमन्त्री सुशील कोइराला र भारतीय समकक्षी मनमोहन सिंहबीच सोमबार म्यानमारको नयाँ राजधानी न्यापिडमा भेटवार्ता भएको छ। कोइराला प्रधानमन्त्री नियुक्त भएपछि यो सबैभन्दा महत्त्वपूर्ण र उच्चस्तरीय भेटवार्ता हो। बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी vet-final6बंगालको खाडीको प्रयास बिमस्टेक को तेस्रो शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका कोइरालाले साइडलाइनमा सिंहसँग भेटवार्ता गरेका हुन्। भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिँदै उनकै नेतृत्वमा शान्तिप्रक्रिया टुंगोमा पुगेको र नयाँ संविधान जारी भएको हेर्न भारत आतुर रहेको बताएको खवर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित   छ ।

कोइरालाले पनि नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा भारतले देखाएको सद्भावको प्रशंसा गरेको नेपाली टोलीका एक सहभागीले म्यानमारबाट टेलिफोन सम्पर्कमा बताए। सिंहले आफ्नो देश संविधान निर्माण र दिगो शान्तिका लागि नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए।

म्यानमार पुगेका सहसचिव यज्ञबहादुर हमालले टेलिफोनमा अन्नपूर्णसँग भने, प्रधानमन्त्री कोइराला र भारतीय समकक्षीबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणका बारेमा छलफल भएको थियो। यसअघि नै नेपाल भ्रमणको निम्तो पाइसकेका सिंहले जतिसक्दो छिटो भ्रमण गर्ने आश्वासन कोइरालालाई दिएका छन्। कोइरालाले आफू प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै सिंहलाई नेपाल भ्रमण गर्न औपचारिक निम्तो दिएका थिए। सिंहले पनि कोइरालालाई भारत भ्रमण गर्न निम्तो दिएका थिए। कोइरालाले भने सिंहलाई पहिले नेपाल ल्याउन पहल गरेका छन्।

कोइराला र सिंहबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनलगायत विषयमा छलफल गरेका थिए। कोइरालासँग भेट गरेको तस्बिर ट्विट गर्दै सिंहले लेखेका छन्, ुचुनाउमा विजयी भएकोमा बधाई। म तपाईंको सफलताको कामना गर्छु। प्रधानमन्त्री कोइरालाले सोमबार नै भुटानका प्रधानमन्त्री छिरिङ तोब्गयसँग पनि भेटवार्ता गरे। त्यस अवसरमा कोइरालाले तेस्रो मुलुकमा पुनस्र्थापनका लागि गएका बाहेक अन्य भुटानी शरणार्थीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउन आग्रह गरेको परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

छिरिङले द्विपक्षीय छलफलबाट समस्या समाधान गर्न आफ्नो देश तयार रहेको बताएका थिए। द्विपक्षीय हित र आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको सहसचिव हमालले बताए। कोइरालाले बंगलादेशकी प्रधानमन्त्री सेख हसिनासँग मंगलबार भेट गर्ने कार्यक्रम छ।

यस्तै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सलमान खुर्सिदबीच पनि म्यानमारमै नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ। खुर्सिदले पाण्डेलाई बधाई दिँदै निर्वाचित सरकारले समयमै संविधान जारी गरेर स्थायी शान्ति कायम गर्ने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री कोइराला आयोजक मुलुकले सोमबार आयोजना गरेको रात्रीभोजमा सहभागी भए। उनले सम्मेलनमा मंगलबार सम्बोधन गर्ने र नेपालले बिमस्टेकको अध्यक्षताको जिम्मेवारी लिने कार्यक्रम छ। मन्त्रीस्तरीय बैठकले पारित गरेका विषयलाई सम्मेलनले अन्तिम रूप दिनेछ। मन्त्रीस्तरीय बैठकमा नेपालले तयार गरेको गरिबी निवारणको कार्ययोजनामा छलफल भएको छ। कार्ययोजनासँगै द्विपक्षीय व्यापार तथा लगानी, प्रविधि, ऊर्जा, सञ्चार, कृषि, वातावरण तथा प्रकोप व्यवस्थापन, जनस्वास्थ्यजस्ता १४ वटा क्षेत्रमा भएका प्रगति र आगामी कार्ययोजनामाथि पनि बैठकमा छलफल भयो। पाँच वर्षअघि बंगलादेशको ढाकामा सम्पन्न विदेशमन्त्रीस्तरीय बैठकले सदस्य मुलुकबीच परामर्श गरी गरिबी घटाउनेसम्बन्धी कार्ययोजना तयार गर्न नेपाललाई जिम्मेवारी सुम्पेको थियो।