शुक्रबार, चैत्र १६, २०८०

पत्रकारको सुरक्षा व्यवस्था अनुगमनका लागि संयन्त्र स्थापना हुने

 काठमाडौँ फागुन २७, पत्रकारको पेसागत तथा भौतिक सुरक्षा व्यस्थाको अनुगमनका लागि संयुक्त संयन्त्र स्थापना हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोद्वारा सञ्चालित पत्रकार सुरक्षा अभिवृद्धि परियोजनाअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय UNESCOमानवअधिकार आयोग मातहत रहनेगरी उक्त संयन्त्र गठन हुन लागेको जानकारी दिइयो ।

सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदुप्रसाद पन्थीले केन्द्र र जिल्लातहमा सक्रिय रहनेगरी सरकार, राष्ट्रिय मानव अधिकार आयोग, पत्रकार महासङ्घ, सामुदायिक रेडियो प्रसारक सङ्घलगायत संस्थाको सहभागितामा संयन्त्र खडा गरी अघि बढ्नुपर्ने बताउनुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराव० का अध्यक्ष मोहन चापागाईंले पत्रकार सुरक्षाको बारेमा विभिन्न क्षेत्रीयस्तरको छलफलमा उठेका कुरा र प्राप्त सुझावलाई आधार बनाएर संयुक्त अनुगमन संयन्त्र गठन प्रक्रिया अघि बढ्न लागेको जानकारी दिनुभयो ।

सामुदायिक रेडियोहरूको विश्व सङ्गठन (अमार्क)का एसिया प्रशान्त क्षेत्रीय उपाध्यक्ष मीनबहादुर शाहीले पत्रकारको सुरक्षाको लागि राष्ट्रिय स्वामित्वसहितको संयन्त्रण गठन प्रभावकारी हुने बताउनुभयो । परियोजनाले पत्रकारका लागि सुरक्षित वातावरणको प्रत्याभूति गर्न राष्ट्रिय स्वामित्वको स्वतन्त्र संयन्त्र स्थापना गर्ने, नागरिक समाज तथा समग्र नागरिकको सहयोगमा पत्रकारलाई सुरक्षित गर्न सुरक्षा निकाय र न्याय प्रणालीलगायत राज्यका निकायको क्षमता अभिवृद्धि गर्ने र आफ्नै सुरक्षाका लागि निरन्तर लागिरहन पत्रकारलाई सहयोग गर्नेजस्ता काम गरिरहेको छ ।

युनेस्कोले आठ महिनादेखि सञ्चालन गरिरहेको पत्रकार सुरक्षा अभिवृद्धि परियोजना कार्यान्वयनका लागि अकोराव, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूह, फ्रिडम फोरम, इन्सेक, ओरेकलगायत आठ संस्था क्रियाशील छन् । अन्तर्राष्ट्रिय मिडिया मिसनका सदस्यले नेपालमा पत्रकार सुरक्षाको अनुगमनका लागि संयन्त्रको स्थापना गर्न सुझाव दिएपछि संयुक्त राष्ट्रसङ्घको कार्ययोजनाअन्तर्गत युनेस्कोले यो परियोजना सुरु गरेको हो ।