शुक्रबार, चैत्र १६, २०८०

जनकपुर बमकाण्डको रहस्य सार्वजनिक गर्न मागगर्दै प्रधानमन्त्रीलाई ज्ञापन

 जनकपुरधाम फागुन २६, मिथिला राज्यको स्थापनाको संवैधानिक सुनिश्चितताका लागि माग गर्दै शान्तिपूर्ण धर्नामा बसेका माथि बम प्रहार गर्न लगाउने तथा टुडे सञ्चार समूहका अध्यक्ष अरुण सिङ्घानिया हत्याका प्रमुख योजनाकार तथा आरोपी मुकेश चौधरी पक्राउ गरिएकाले दुवै घटनाको रहस्य सार्वजनिक गर्न माग गरिएको छ । मिथिला राज्य सङ्घर्ष समितिद्वारा जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा सो माग गरिएको हो ।

mukesh
(जनकपुर बमकाण्डका नाइके मुकेश चौधरी )

सङ्घर्ष समितिले २०६९ साल वैशाख १८ गते जनकपुरको रामानन्द चोकमा पाँचजनाको सहादत तथा ३६ जना मिथिलावासी घाइते हुने गरी बम विस्फोटनको घटनामा संलग्न रहेका चौधरी तथा यस घटनाको जिम्मेवारी लिने राजन मुक्ति भन्ने रञ्जित झासमेत पक्राउ परेकाले आम नागरिकसमेत घटनाको सत्यतथ्य प्रकाशमा आउने भन्ने विषयमा आशावादी रहेको समेत ध्यानाकर्षण गराएको छ । विस्फोट घटना छानबिन गर्न केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले त्यतिबेला सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा स्थानीय व्यक्तिहरूको समेत संलग्लनता रहेको ठहर गरेको र २०६९ साल पुस महिनाको विभिन्न मितिमा तराई टेलिभिजनले प्रसारण गरेको समाचारहरूमा चौधरीको अन्तर्वार्ताका साथै र नाम नखुलेको एकजना स्थानीय राजनीतिकर्मीको वार्ताको टेप सार्वजनिक भइसकेको र सो सिडी सम्बन्धित निकायहरूमा स्वर जाँचका लागि बुझाइसकेको अवस्थामा सो समेतको स्वर परीक्षण गरी वास्तविक अपराधीलाई कानुनको दायरमा ल्याई पीडित पक्षलाई न्याय दिलाउनसमेत समितिले माग गरेको छ ।

यसैगरी सञ्चार उद्यमी सिङ्घानियाको हत्याको जिम्मेवारीसमेत चौधरीले नै लिएका कारण हत्याबारे भएगरेको अनुसन्धानका सम्बन्धमा प्रारम्भिक प्रतिवेदनसमेत सार्वजनिक नभएकाले यस घटनाको पनि छानबिन तथा यसमा संलग्न अन्य आरोपीहरूलाई कानुनको कठघरामा ल्याउनसमेत आग्रह गरिएको छ । समितिका अध्यक्ष परमेश्वर कापडीले सो माग यही फागुन २७ गतेसम्ममा सम्बोधन नभएमा २८ गतेदेखि फागुन ३० गतेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा शान्तिपूर्ण धर्नामा बस्ने बताउनुभयो । रासस