शनिबार, बैशाख ८, २०८१

काठमाडौँ जिविसका सबै काम सूचना प्रविधिमार्फत

 काठमाडौँ फागुन२९,    सूचना प्रविधिको नमुना जिल्लाका रूपमा काठमाडौँ जिल्ला विकास समितिलाई विकसित गर्ने ध्येयले यसका सबै काम र सेवा कप्म्युटरका माध्यमबाट अगाडि बढाइएको छ । यसका लागि जिविसले सबै गाउँ विकास समितिमा अनिवार्य रूपमा इन्टरनेट व्यवस्था गरी सूचना प्रविधिमा DDC-KTMआबद्ध गरिसकेको छ । नियमित रूपमा गाविसले जिविसलाई पठाउनुपर्ने प्रतिवेदन तथा जिविसले स्थानीय विकास मन्त्रालयलाई पठाउनुपर्ने प्रतिवेदन र जानकारी अनिवार्य रूपमा ई–कपीका माध्यमबाट पठाइरहेको स्थानीय विकास अधिकारी प्रेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हामी सबै काम कम्प्युटरका माध्यमबाट गरिराखेका छौँ, लगभग कागजविहीन भइसक्यो । जिविस र गाविस कार्यालयलाई सूचना प्रविधिमा जोड्न (लिङ्क) अनिवार्य इन्टरनेटको व्यवस्था मिलाएका छौँ ।”

काठमाडौँमा ५७ गाविस रहेका छन् । तीमध्ये अहिले सबै गाविसले इन्टरनेटको प्रयोग गरिराखेका छन् । साथै अधिकांशले आफ्ना गाविसबाट प्रदान गर्ने सेवाहरू कम्प्युटरका माध्यमबाट दिन सुरु गरेका छन् । आफ्ना गाविसभित्रका सबै जानकारी कम्प्युटर अभिलेखमा सूचीकृत गरिसकेका छन् । जिविसले आगामी दिन जिविसभित्रका सबै काम सूचना प्रविधिका माध्यमबाट गर्ने तयारी गरिरहेको छ । काठमाडाँै जिविसलाई सूचना प्रविधिमा अब्बल बनाउने रणनीति यसले अवलम्बन गरेको छ ।

जिविसले गाविसमा व्यक्तिगत घटना दर्ता कार्य कम्प्युटरका माध्यमबाट गर्ने व्यवस्था मिलाइसकेको छ । स्थानीय विकास अधिकारी जोशीले व्यक्तिगत घटना दर्ता कार्यलाई वैज्ञानिक र प्रभावकारी बनाउन सबै गाविसले कम्प्युटर सफ्टवेयरमार्फत घटनाका दर्ता कार्य सुरु गरिसकेको जानकारी दिनुभयो ।

उहाँले गाविसका सचिवहरूलाई दिनुपर्ने आवश्यक निर्देशन तथा उहाँहरूबाट आफ्ना कार्य सम्पादन गर्दा आइपरेका समस्याको सम्बोधन इन्टरनेटका माध्यमबाट भइरहेको बताउनुभयो । जिविसले आफ्नो जिल्लाभित्र सञ्चालनमा रहेका विकास निर्माण तथा सामाजिक कामको जानकारी आफ्ना सभासद्लाई नियमित रूपमा दिन सूचना प्रविधिको सहायता लिइरहेको छ ।

“हामीले जिल्लाका सबै सभासद्को इमेल ठेगाना सङ्कलन गरिसकेका छौँ । अब उहाँहरूलाई जिविसका गतिविधि, सूचना, राय, सुझावजस्ता काम इमेलका माध्यमबाट पनि जानकारी दिन्छौँ,” स्थानीय विकास अधिकारी जोशीले भन्नुभयो । हालै सम्पन्न सातौँ जिल्ला परिषद्को उद्घाटन सत्रमा सांसद गगन थापाले जिविसले आफ्ना गतिविधि, जानकारी, सूचनालगायतका काम गर्न पत्राचारभन्दा सांसदका इमेल ठेगानामा पठाउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

स्थानीय विकास अधिकारी जोशीले सबै गाविसलाई खुल्ला दिसामुक्त क्षेत्र बनाउन उच्च प्राथमिकता दिँदै यसका लागि काम भइरहेको पनि बताउनुभयो । हालसम्म महाँकाल, बलम्बु, पुरानो नैकाप, गोङ्गबु, मनमैजु, भिमढुङ्गा, कपन, धापासी गाविसमात्र खुल्ला दिसामुक्त गाविस घोषणा भएका छन् । उहाँका अनुसार बालमैत्री स्थानीय शासन लागू गर्ने नीतिअनुरूप पहिलो चरणमा रणनीतिक योजना कार्यान्वयन भइरहेको छ ।

चालु आवमा १४ वटा जिल्लास्तरीय सडकको निर्माण कार्य सुरु भएकामा हालसम्म एउटा सम्पन्न भइसकेको, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत विभिन्न ११ वटा आयोजना कार्यान्वयन भइरहेको, भारतीय दूतावासको आर्थिक एवम् प्राविधिक सहयोगमा चापाकोट उच्च मावि, गान्धी उच्च मावि, मदन–आश्रित छात्रावास भवन र खाद्य प्रयोगशाला भवनको निर्माण अन्तिम चरणमा पुगेको जिविसले जनाएको छ ।

साथै जिविसबाट सार्वजनिक सुनुवाइ र उपभोक्ता समितिबाट सार्वजनिक परीक्षण कार्यलाई जोड दिइएको छ भने आयोजना स्थलमा होडिङ बोर्ड र नागरिक वडापत्रको अद्यावधिक गरिएको छ । स्थानीय विकास अधिकारी जोशीले गाविसमार्फत वितरण हुने सामाजिक सुरक्षाबापतको रकम तथा भत्ता प्राप्त गर्नेहरूको विवरण वेबसाइटमार्फत सार्वजनिक गरिएको, बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको लक्ष्य लिइएको, बेरुजु फछ्र्यौट अभियानका रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

यस अतिरिक्त सबै गाविसमा गठन भएका वडा नागरिक मञ्च, नागरिक मञ्च, नागरिक सचेतना केन्द्र तथा अन्य सरोकार समूहलाई योजना तर्जुमा प्रक्रियामा समावेशी गराइने नीति लिइएको, विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको, काठमाडाँै जिल्लालाई पर्यटकीय नगरी बनाउन पर्यटन बोर्डसँग सहकार्यका प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ । आगामी आवका लागि १३ वटा जिल्लास्तरीय सडकको छनोट, ग्रामीण खानेपानी सरसफाइतर्फ १३ वटा कार्यक्रमको स्वीकृति, साना सिँचाइ कार्यक्रमअन्तर्गत १० योजना तर्जुमा गरिएका जिविसले जनाएको छ । आगामी आवका लागि जिविसले रु पाँच अर्ब ८६ करोड ३८ लाख रकमको बजेटसमेत पारित गरेको छ । (विष्णु नेपाल) रासस