शनिबार, बैशाख ८, २०८१

आर्थिक अभावले नवदुर्गा नाच सङ्कटमा

  भक्तपुर फागुन १९, भक्तपुरको मौलिक एवम् सांस्कृतिक महत्वको लिच्छवीकालीन नवदुर्गा नाच आर्थिक अभावका कारण सङ्कटमा परेको छ । वर्षौंदेखि आर्थिक समस्या झेल्दै आएको नवदुर्गा नाच सञ्चालन गर्न हाल चरम आर्थिक समस्या आइपरेकाले यसको अस्तित्व सङ्कटमा परेको हो । आर्थिक समस्याकै images-cms-image-000001872कारण यो नाच आगामी वर्षदेखि भक्तपुर नगरमा मात्र सीमित हुने भएको छ । विगतका वर्षहरूमा यो नाच भक्तपुर नगरबाहिर काभ्रेको नाला, धुलिखेल, बनेपा, पनौती, साँगा काठमाडौँको श्रीखण्डपुर (साँखु), गौशालाको जय बागेश्वरी र मध्यपुर थिमीमा प्रदर्शन गर्न लाने परम्परा रहेको थियो ।

आर्थिक समस्या समाधानका लागि पटकपटक सरोकारवालाहरूलाई आग्रह गरे पनि चासो नदिएको श्री नवदुर्गा जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ब्रिजेश बनमालाले बताउनुभयो । उहाँले गुठी संस्थान, जिल्ला विकास समिति, भक्तपुर नगरपालिका लगायतका सरोकारवाला निकायमा पटकपटक अनुरोध गर्दासमेत ती निकायले बेवास्ता गरेको आरोप लगाउनुभयो । नवदुर्गाको प्रसादग्रहण गर्न २०४६ सालदेखि राष्ट्रप्रमुख कोजाग्रत पूर्णिमाको दिन भक्तपुर—३ गछेंस्थित नवदुर्गा भवानीको मन्दिरमा जाने परम्परा रहेको छ ।

सो अवसरमा राष्ट्रप्रमुखसमक्ष समेत आर्थिक समस्यालाई लिएर बिन्तीपत्रदेखि ज्ञापनपत्रसमेत पेस गरे पनि हालसम्म समस्या समाधान गर्न कुनै चासो नदिएको उहाँले गुनासो गर्नुभयो । आर्थिक समस्याका कारण नाचलाई भक्तपुर नगरभित्र मात्र सीमित गर्ने समितिले हालै निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

नवदुर्गा नाच विजयादशमीको दिनदेखि सुरु भई गठेमङ्गलअघिको अष्टमीको दिन सम्पन्न हुन्छ । यो नाच चलाउन उत्पत्तिदेखि अन्तसम्म अर्थात् वर्षभरिको पर्व पूजा चलाउन १९ जना देवगणको आवश्यकता पर्नुका साथै ठूलो राँगो एक, खः मे एक गरी दुई राँगो, थुमो भेडा पाँच, रातो भाले ३५, बोका दुई, मू बहाँ (सुँगुर) १४ वटा तथा वर्षभरिमा १३ पटक मन्दिरभित्र तथा बाहिर ती पशुको बलि दिइन्छ । त्यसपछि नाइके गण तथा देवगणहरूका सम्पूर्ण परिवार भेला भई पूजाआजा गरी भोजसमेत खाने र खुवाउने गर्नुपर्छ । जसका लागि हालको बजार भाउअनुसार करीब नौ लाख रुपैयाँ खर्च हुने अध्यक्ष बनमालाले बताउनुभयो ।

नाच प्रदर्शनका क्रममा विभिन्न स्थानमा नगद सङ्कलन पनि हुने गर्दछ । तर बेलाबेलामा देवगण र स्थानीयबीच विवाद हुनाले पनि कतिपय स्थानमा विगत केही वर्षदेखि सो नाच प्रदर्शन गर्न छाडिसकिएको छ । समितिले विभिन्न स्थानमा देवगणले नियम उल्लङ्घन गर्दै समयमा नाच प्रस्तुत नगर्ने र उठेको रकम देवगण गुठीका सीमित व्यक्तिले हिनामिना गर्ने गरेको आरोप लगाउँदै यस प्रकारको आर्थिक अनियमितताले गर्दा पनि नवदुर्गा नाच सञ्चालनमा चरम आर्थिक समस्या देखापरेको जनाएको छ । समितिले आगामी दिनमा नाचको अस्तित्व जोगाउन सम्बन्धित निकाय र सरोकारवालाहरूलाई पुनः आग्रह गर्दै विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरी यो नाच लोप हुनबाट जोगाउन अनुरोध गरेको छ । रासस