काठमाडौँ चैत्र २, प्रधानमन्त्री सुशील कोइरालाले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा रहेका विभिन्न विद्यार्थी सङ्गठनका मागबारे वार्ता गरी समस्याको समाधान गर्न सम्बन्धित मन्त्रालयलाई निर्र्देशन दिनुभएको छ । विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता गरी नेपाल आयल निगमभित्रको अनियमितता अन्त्य गर्न माग गरेका थिए । विद्यार्थीको ज्ञापनपत्र बुझेपछि कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र सम्बद्ध अधिकारीलाई विद्यार्थी सङ्गठनसँग तत्काल वार्ता गर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री कोइरालाले सरकार वार्ता र संवादबाट समस्याको समाधान गर्न तयार रहेकाले विरोधका क्रममा बन्द÷हड्तालका कार्यक्रम नल्याउन विद्यार्थी नेतालाई आग्रह गर्नुभएको नेताहरुले बताएका छन प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन बुझाउन नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्ण,अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ल, एमाओवादी र नेकपा–माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षद्वय हिमाल शर्मा र शरद रसाइलीलगायत पुग्नुभएको थियो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा उपप्रधानमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, वाणिज्य सचिवलगायत सहभागी हुनुहुन्थ्यो ।