आइतवार, जेष्ठ २१, २०८०

मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताको कारोबार रोक्का

 काठमाडौँ फागुन २३ आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएर विवरण नबुझाउने करदाताको कारोबार रोक्का गर्न सुरु गरेको छ ।  भ्याटमा दर्ता भएर विवरण नबुझाउने एक लाख १७ हजार करदातामध्ये साढे सात हजार करदाताले एकपटक पनि विवरण पेस नगरेको आन्तरिक राजस्व IRD विभागले जनाएको छ ।  विवरण नबुझाउने करदातालाई करको दायरामा ल्याउन विभागले सो कार्यको सुरुवात गरेको हो ।  करमा दर्ता भए पनि एकपटक विवरण पेस नगर्ने करदातालाई आयात निर्यात गर्न नदिनका लागि सबै कर कार्यालयलाई पत्राचार गरेको विभागका महानिर्देशक टङ्कमणि शर्माले जानकारी दिनुभयो ।  उहाँले करमा दर्ता भएर पनि विवरण पेस नगर्ने सबै करदाता पत्ता लगाएर कारोबार रोक्का तथा दर्ता खारेज गर्न सुरु गरेको जानकारी दिनुभयो ।

विवरण पेस नगर्ने करदाताको बैंक खाता, प्रतितपत्र (एलसी) रोक्नका लागि मातहतका सम्पूर्ण कार्यालयलाई निर्देशन दिएको भन्दै उनीहरूबाटै कारोबार रोक्ने काम हुने उहाँको भनाइ छ ।  विभागको तथ्याङ्कअनुसार एक वर्षभन्दा बढी अवधिको विवरण पेस नगर्ने करिब १२ हजार र छ महिनाभन्दा बढी अवधिको विवरण पेस नगर्ने करिब २० हजार करदाताहरू रहेका छन् ।  कुनै पनि पेसा तथा व्यवसाय सञ्चालन गर्नुपूर्व स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिएरमात्र व्यवसाय सञ्चालन गर्नुपर्ने तथा कर अनिवार्य रूपमा बुझाउनुपर्ने प्रावधान गरेको छ । सो प्रावधान रहे पनि थुप्रै व्यवसायीहरूले सो नियमको उल्लङ्घन गर्ने गरेको विभागले जनाएको छ ।