काठमाडौँ चैत २, प्रत्येक वर्षको फाल्गुण शुल्क पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त महोत्सवका रुपमा प्राचीनकालदेखि मनाइँदै आएका छन । यो पर्व असत्यमाथि सत्यको विजय, छलमाथि निश्चलताको विजय, अधर्ममाथि धर्मको विजय पर्वको प्रतिकको रुपमा मनाइने सामाजिक सदभाव ,हर्ष र रगंहरुको पर्व फागु(होली) नेपालका पहाडी भू–भागमा एवम् काठमाडौं उपत्यकामा भोलि र तराई क्षेत्रमा पर्सि मनाउने तयारी गरिएको छ ।
धार्मिक मान्यता अनुसार प्राचीन धर्मग्रन्थमा हिरण्यकश्यपु नाम गरेका राक्षसले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्न आफ्नी बहिनी होलिकाको प्रयोग गरेका थिए । तर विष्णुभक्त भएकाले प्रह्लाद आगोमा पनि नजलेको खुशीयालीमा गीत गएर नाच्दै यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ । यसरी होलिका डढेर भस्म भएको र प्रह्लाद बाँचेको उक्त दिन फाल्गुण शुक्ल पुर्णिमा रहेको र असत्यमाथि सत्यको विजय भएको भन्दै त्यसै दिनलाई होली पूर्णिमाका रुपमा मनाउँदै आइएको उल्लेख पाईन्छ ।
यसैवीच उपराष्ट्रपति परमानन्द झाले फागुपूर्णिमाले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी मेलमिलापको वातावरण सिर्जना गर्न सकोस् भनी कामना गर्नुभएको छ । फागुपूर्णिमाका अवसरमा उपराष्ट्रपति झाले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ सहमति, सहयोग र सहकार्यको बाटामा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले फागुपूर्णिमाको अवसरमा विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न अभिप्रेरित गर्ने बताउँदै असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिई उल्लासपूर्वक मनाइने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन पनि प्रेरित गर्ने उल्लेख गदै यस वर्षको फागुपूर्णिमाले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र सबै समुदायका नेपालीबीच एकापसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने शुभेच्छासहित सबैको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।