शनिबार, बैशाख ८, २०८१

भारतीय प्रमद्वारा नवनिर्वाचित प्रधानमन्त्री कोइरालालाई बधाई दिदै भारत भ्रमणको लागि गरे आमन्त्रण

काठमाडौँमाघ २८, भारतका प्रधानमन्त्री मनमोहन सिंहले व्यवस्थापिका संसदमा आइतवार भएको निर्वाचनबाट नेपाली काँग्रेस सभापति एवम् संसदीय दलका bharat ko pmनेता सुशील कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।नेता कोइराला प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा भारतीय प्रधानमन्त्री सिंहले आइतवार नेपालका लागि भारतीय राजदूत रञ्जित रे मार्फत पठाउँनु भएको शुभकामना सन्देशमा बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो । सन्देशमा भारतीय प्रधानमन्त्री सिंहले राजनीतिक सङ्क्रमणका बेला प्रधानमन्त्री कोइरालाको चयन नेपालको प्रजातन्त्रका उपलब्धिलाई सुदृढ तुल्याउन तथा संस्थागत गर्न महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

त्यस्तै नेपालको स्थायित्व र आर्थिक विकास अझ सबल हुने तथा सबैको सहमतिमा नेपाली जनताका सबै समुदायको चाहनाअनुसारको नयाँ संविधान जारी गर्न वातावरण बन्ने विश्वास भारतीय प्रधानमन्त्रीले सन्देशमा व्यक्त गर्नुको अलावा नेपालसँगको सम्बन्धलाई भारतले उच्चतम महत्व दिएको उल्लेख गर्दै उहाँले नजिकको छिमेकीका नाताले नेपालको समृद्धि, प्रजातन्त्र र स्थायित्वका लागि नेपाल सरकार र नेपाली जनतालाई सघाउन भारत दृढ रहेको बताउनुभएको छ । नेपालको इतिहासको कठिन घडीमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लाग्नुभएका कोइरालाको व्यक्तिगत स्वास्थ्य तथा समृद्धि र नेपाल र नेपालीको उन्नति एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भारतीय प्रधानमन्त्रीले उपयुक्त समयमा भारतको भ्रमण गर्न प्रधानमन्त्री कोइरालालाई आमन्त्रण पनि गर्नुभएको छ ।