शनिबार, बैशाख ८, २०८१

संविधानसभाको बैठक आह्वान सम्बन्धी दुई रिट मध्ये एउटा खारेज अर्को तामेलीमा

 काठमाडौँ पौष २९, संविधानसभाको बैठकको आह्वान राष्ट्रपतिले या मन्त्रिपरिषद्का अध्यक्षले गर्ने भन्ने दायर दुई छुट्टाछुट्टै रिट निवेदनमध्ये सर्वोच्च अदालतले आज एउटा खारेज र adalatअर्को रिट तामेलीमा राख्ने आदेश गरेको छ ।   कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा तथा न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको विशेष इजलासले मन्त्रिपरिषद् अध्यक्षबाट संविधानसभाको पहिलो बैठक आह्वान भइसकेको र निवेदक अधिवक्ता मुकुन्द अधिकारीको मागबमोजिम कार्यसम्पन्न भएको हुँदा अन्तरिम आदेश जारी गर्न परेन भन्दै खारेज गरेको छ ।

यसैगरी राष्ट्रपतिका पक्षमा अधिवक्ता विश्वास आचार्यले दायर गरेको अर्को निवेदन संविधानसभाको पहिलो बैठक आह्वान भइसकेको अवस्थामा प्रयोजनहीन भएकाले तामेलीमा राखिपाऊँ भनी निवेदकले नै अर्को निवेदन दिएकाले तामेलीमा राखिएको आदेशमा उल्लेख छ । अन्तरिम संविधानको धारा ५१(१)मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा समय समयमा संसद्को बैठक आह्वान गर्ने र धारा ६९(१)मा संविधानसभा सदस्यको अन्तिम निर्वाचन परिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको २१ दिनभित्र प्रधानमन्त्रीले आह्वान गरेबमोजिम संविधानसभाको पहिलो बैठक बस्ने व्यवस्था भएको जनाउँदै अधिवक्ता अधिकारीले रिट दायर गर्नुभएको थियो । अन्तर्राष्ट्रिय मान्यताबमोजिम संविधानमा रहेको त्रुटि सच्याई राष्ट्रपतिबाटै बैठक आह्वान गरिनुपर्ने माग गर्दै अधिवक्ता आचार्यले अर्को रिट दर्ता गराउनुभएको थियो ।