शुक्रबार, चैत्र १६, २०८०

प्रचण्डलाई कार्यशैली र जीवन व्यवहार सच्याउन सहयोगीहरुको सुझाब

काठमाडौँ पौष २३ ,एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैली र जीवन व्यवहार सच्याउन भन्दै निकटका सहयोगीहरुले सुझाब दिन थालेका छन् । जीवन शैलीबारे सार्वजनिक रुपमा बढी नकारात्मक टिप्पणी हुनथालेपछि सहयोगीहरुले अध्यक्षसँग भेट गरेर ‘रुपान्तरित हुन’ सुझाब दिएका हुन् ।
 व्यावहारिक जीवन शैलीमा देखिएका कमजोरीमा टेकेर कतिपयले ‘राजनीतिक लाईनमाथि नै’ आक्रमण गर्न थालेको विश्लेषण गर्दै उनीहरुले नकारात्मक अर्थ लाग्ने खालका कम्जोरीहरु तत्काल सच्याउन सुझाब दिएका हुन् । पूर्व पोलिट्व्यूरो सदस्य गोपाल किरातीले पनि केही दिनअघि अध्यक्षसँग भेटेर छोरा प्रकाशलाई आफूसँग नराख्न सल्लाह दिएकोखवर आजको गोरखापत्र दैनिकमा राजेश चाम्लिडको वाईलाईनमा समाचार प्रकाशित भएको छ ।
‘‘विचार र राजनीतिमा अध्यक्षको कुनै कमजोरी छैन । पाटीभित्र विगतदेखि उहाँले नै वैचारिक तथा सांगठानिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ ।” अध्यक्षले आफ्नो जीवन शैलीमा केही परिवर्तन ल्याउनुपर्ने सुझाब दिएको जानकारी दिँदै किरातीले भन्नुभयो ‘‘अन्य पार्टी सदस्यले जतिसुकै सादा जीवन बाँचे पनि आम मानिस त्यसलाई हेरेर प्रभावित हुँदैनन् । अध्यक्षकै जीवन व्यवहारबाट उनीहरु पार्टीप्रतिको धारणा बनाउँछन् । त्यसैले अध्यक्षले उदाहरणीय जीवन शैली अपनाउनुपर्छ ।”  किरातीले छोरा प्रकाशको कारण अध्यक्षले अनावश्यक ‘टेन्सन’ भोग्नुपरेको बताउँदै उहाँलाई ‘हेडक्याटर’को कार्यालय टीमबाट निकालेर पार्टीको अन्य जिम्मेवारी दिनुपर्ने बताउनुभयो । ‘‘छोरा भएकै कारण प्रकाशले अध्यक्षलाई प्राप्त सुविधा उपभोग गर्दा सकारात्मक सन्देश गएन ।” अध्यक्षलाई सम्मान गर्ने क्रममा कतिपय आलोचना वा सुझाब नै गर्न नचाहने त कतिपयले सच्चिनका लागि सिर्जनात्मक सल्लाह दिनुको सट्टा झन् उत्तेजित बनाउने गरेको धारणा राख्दै किरातीले भन्नुभयो ‘‘पार्टी जिम्मेवारी लिएर कतै काम गर्दा राम्रो हुन्छ ।” बढी टिप्पणी हुनथालेपछि प्रचण्डले लाजिम्पाटको घर पनि छाड्ने मनस्थिति बनाएको बताईएको छ ।
पूर्व महासचिव पोष्टबहादुर बोगटी र अध्यक्ष निकट मानिनुहुने वर्षमान पुनले अर्को साधारण घर खोज्ने जिम्मेवारी लिनुभएको छ । ‘‘पूर्व प्रधानमन्त्री र जनयुद्ध लडेको विद्रोही पार्टीका नेता भएकाले अध्यक्षलाई मजबुद सुरक्षा व्यवस्थासहितको घर अत्यावश्यक छ ।” जस्तोसुकै साधारण घरमा बसे पनि विरोधीहरुले त्यसलाई दरबार भनेर प्रचार गर्न नछाड्ने धारणा व्यक्त गर्दै एक नेताले भन्नुभयो ‘‘तर पनि लाजिम्पाटको घरबारे ज्यादै टिप्पणी भयो । त्यसैले अर्को ठाऊँ सर्दा नै बेस हुन्छ ।”
प्रचण्डको कार्यशैली र जीवन व्यवहारबारे पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गत केन्द्रीय समिति बैठकमै प्रश्न उठाउनुभएको थियो । बैठकमा प्रकाशले केही व्यक्तिको नाम नै तोकेर उनीहरुसँगको उठबस बन्द गर्न सुझाब दिनुभएको थियो । नेताहरुले उहाँलाई संभ्रान्त तथा विवादास्पद व्यक्तिहरुसँगको बाक्लो भेटघाट कम गर्न तथा नेता कार्यकर्ताहरुलाई बढी समय दिन सुझाब दिँदै आएका छन् ।
आफूले पटक पटक भेट्न कोशिस गर्दा पनि नसकेको बेला एक जना निजी विद्यालयका सञ्चालकले ‘भेट गराईदिन्छु’ भन्दै जिम्मेवारी लिएको गुनासो गर्दै एक केन्द्रीय सदस्यले भन्नुभयो – त्यसपछि लाज लागेर अध्यक्षलाई कहिल्यै भेट्ने जमर्को गरेको छैन । कार्यकर्ताले भेट्नु पयो भने अनेकौँ बाधा व्यवधान सहेर हप्तौँ कुर्नुपर्ने हुन्छ । संभ्रान्तहरुले भने त्यसरी तत्काल भेट्न पाउँछन् । यस्तो प्रवृत्ति व्यवहार बन्द हुनुपर्छ भन्ने सम्बन्धित पार्टी कमिटीबाट सुझाव पठाएका छौँ ।  बेलाबेला छोरा प्रकाशको विवादास्पद गतिविधि सार्वजनिक हुँदा एमाओवादी अध्यक्ष प्रचण्डको राजनीतिक जीवनमा नकारात्मक प्रभाव पार्दै आएको छ ।