मङ्लबार, बैशाख ११, २०८१

नातागोता नियुक्ति गरेपछि गुठी संस्थान कार्यालयमा तालाबन्दी

काठमाडौं पौष २८, गुठी संस्थानले आफूहरूलाई हटाएर नातागोता नियुक्ति गरेको भन्दै निष्कासित पुराना करार कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । मंसिर २० गते आठौं तहका लागि भनेर संस्थानले सार्वजनिक सूचनामार्फत २४ कर्मचारी मागेको थियो । उक्त करार पदका लागि ७ सयले आवेदन दिएका थिए । तर सस्थानका अध्यक्ष पञ्चलाल महर्जन, सहप्रशासक हेमराज सुवेदी, प्रशासन प्रमुख अच्युतान्द्र पोखरेल र भूमिसुधार मन्त्रालयका उपसचिव पुरुषोत्तम सुवेदी सम्मिलित पदपूर्ति समितिले नयाँ भर्नाको निर्णय गर्दा आफन्तलाई प्राथमिकता दिदै कर्मचारी भर्ना गरेपछि निष्कासित एवम   पुराना करार कर्मचारीले कार्यालयमा तालाबन्दी खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ । समाचारमा अध्यक्ष महर्जनले बहिनी रश्मी महर्जन र भान्जी अनु मानन्धरलाई, पोखरेलले साला सफल आचार्यलाई र सदस्य छन्द पन्थीकी श्रीमती कल्पना विष्टलाई छनोट गरेको आन्दोलनकारीले बताए ।

सदस्य उत्तम बस्नेतका भाइ सुमन बस्नेत र उपसचिव सुवेदीकी श्रीमती अंगुरा सुवेदी पनि करारमा नियुक्त भएका छन् । समितिका सदस्यले आफ्ना नातागोता छनोट गरेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनरत कर्मचारी जयकुमार शर्माले बताए । हाकिमले आफ्नै परिवारलाई गुठीमा नियुक्ति गरेपछि हामीले आन्दोलन गरेका हौं, उनले भने, श्रीमती, साला र बहिनीलगायत आफ्ना मान्छेलाई नियुक्ति गरिएको छ ।
अध्यक्ष महर्जनले भने आफन्त नियुक्त गरिएको आरोप सत्य नभएको दाबी गरे । आफूहरूलाई हटाएकाले त्यस्तो भनिएको होला, उनले भने । आफूले नभई लिखित र मौखिक परीक्षामार्फत प्रतिपस्र्धाबाट आफ्नी श्रीमती छानिएको उपसचिव सुवेदीले बताए । आन्दोलनरत पक्षले तत्काल नियुक्ति गरिएका आफ्ना मान्छेहरूलाई हटाएर खुला प्रतिस्पर्धामा आउने नाताभन्दा परको मान्छेलाई नियुक्ति नगरिए अझै कडा आन्दोलन गर्ने जनाएको छ ।