शुक्रबार, चैत्र १६, २०८०

केसीको अवस्था गम्भीर, अस्पतालका सेवाहरु प्रभावित

 काठमाडौ माघ २, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अधिकांश चिकित्सक आन्दोलनमा उत्रिएपछि अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा प्रभावित भएको छ ।  त्रिवि शिक्षण अस्पतालअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानका सम्पूर्ण तहका विद्यार्थी, प्रशिक्षार्थी तथा आवासीय चिकित्सक शनिबारदेखि अनशनरत चिकित्सक डा. गोविन्द केसीको मागलाई सम्बोधन गर्न दबाब दिँदै सेवामा नफर्केपछि आकस्मिकबाहेकका सेवा सञ्चालन हुन सकेको छैन ।

सामान्य परीक्षणलगायतका सेवा सञ्चालन नभएपछि अस्पतालमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् । सामान्य अवस्थामा दैनिक करिब दुई हजार बिरामी उपचारका लागि आउने गरेकामा अहिले यो सङ्ख्यामा कमी आएको अस्पतालका डा. महेशराज सिग्देलले जानकारी दिनुभयो । डा. केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्नुपर्ने, निजी मेडिकल कलेजलाई सम्बन्धन दिन बन्द गर्नुपर्ने, वरिष्ठता तथा कार्यदक्षताका आधारमा स्वच्छ प्रक्रियाबाट पदाधिकारी नियुक्ति गर्नुपर्ने, सो संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेलगायतका माग राखी गएको शनिबारदेखि सोही अस्पतालमा आमरण अनशनमा सुरु गर्नुभएको हो । यसै विषयलाई लिएर त्यहाँका चिकित्सकले केही दिनअघि मन्त्रिपरिषद्का अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । यसैबीच, अनशनरत डा. केसीको उपचारमा संलग्न चिकित्सक महेशराज सिग्देलका अनुसार केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएकाले अक्सिजन दिइएको छ । मुटुको धड्कनमा समस्या देखिन थालेको तथा कमजोर बनेकाले उहाँलाई सघन उपचार कक्षमा लैजानुपर्ने अवस्था देखिएको छ ।