बिहिबार, बैशाख १३, २०८१

अपराध नियन्त्रणका लागि डिजिटल चेकप्वाइन्टको स्थापना गर्ने नेपाल प्रहरीको तयारी

 काठमाडौँ पौष २२,प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले महानिरीक्षकको जिम्मेवारी सम्हाले पछि पहिलो पटक प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिवर्तन  आफैँबाट सुरु गरौँ भन्ने मान्यताका आधारमा छिटोछरितो सेवा प्रवाहलाई मूर्तरुप दिने बताउँनु भएको छ ।  त्यस्तै महानिरीक्षक अर्यालले प्रहरीलाई संगठनलाई दवाव र प्रभावबाट मुक्त गरी सङ्गठन सुदृढीकरण, अपराध अनुसन्धानमा तदारुकता र आन्तरिक शुद्धीकरण एवम् प्रहरी छविमा सुधार गरी सेवा प्रवाहको स्तरवृद्वि गर्ने प्रतिबद्वता पनि व्यक्त गर्दै जनताका जायज गुनासोको तत्काल सुनुवाइ गर्न नागरिकसँग प्रहरी कार्यक्रम, गुनासा सुन्न सामाजिक सञ्जालको उपयोग तथा अपराध र तस्करी नियन्त्रणमा कडाइ गर्न काठमाडौँ उपत्यकाका चार निकायमा डिजिटल चेकप्वाइन्टको स्थापना गरिने बताउनुभएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा उहाँले अपराध अनुसन्धानलाई पीडितमैत्री बनाउने अनुसन्धान प्रणालीको विकास गरिने र पीडितले न्याय पाउने अवस्था बनाउन हालको यस क्षेत्रमा रहेको पाँच प्रतिशत जनशक्तिलाई दोब्बर बनाइनुको अलावा विद्यमान प्रहरी ऐन नियममा परिमार्जन गरी कानुनी रुपमै व्यवस्थित गरिने तथा नीतिनिर्माण, सुपरीवेक्षण, अनुगमन, कार्यान्वयन र सुरक्षा सहयोग एवम् सेवा समूहमा वर्गीकरण गरी सङ्गठनलाई सुदृढ बनाइने जानकारी दिदै कनिष्ठ प्रहरी कर्मचारीको मनोबल वृद्धि गर्न उनीहरुलाई फाइदा हुने गरी शिक्षा, स्वास्थ्य र आवासका योजना ल्याइने तयारी भईरहेको बताउँनु भएको छ ।