काठमाडौँ माघ१५, नेपाली काँग्रेसले सहिद दिवसका अवसरमा पार्टी सभापति सुशील कोइरालाद्वारा आज जारी सन्देशमा मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको आवाज उठाउने सहिदकै साहसिक कार्य र बलिदानको परिणामस्वरूप आज लोकतान्त्रिक वातावरणमा निर्धक्क भएर आफ्ना हक अधिकार प्रयोग गर्न पाएको उल्लेख गर्दै सम्पूर्ण नागरिकको हक अधिकारको निम्ति लड्दा आफनो जीवन उत्सर्ग गर्नुभएका सम्पूर्ण सहिदलाई श्रद्धाञ्जलि अर्पण गरेको छ ।
साथै सन्देशमा सभापति कोईरालाले प्रजातन्त्र स्थापनाको लागि २००७ सालको क्रान्तिदेखि २०६२÷६३ सालसम्मको लोकतान्त्रिक आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएर यसले आफ्ना काम कारवाही आरम्भ गरेको र दलहरूबीच सहमति भएबमोजिम नै एक वर्षमा संविधान ल्याएर प्रजातन्त्रको प्राप्ति र स्थायित्वको लागि जीवन गुमाएका सहिदहरूको सपनालाई पूरा गर्ने सङ्कल्प गर्नुभएको छ ।