मङ्लबार, जेष्ठ २३, २०८०

आज अपरान्ह दोस्रो संविधानसभाको बैठक बस्दै

 काठमाडौँ माघ ८, गत मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनपछि आजदेखि संविधानसभाको बैठक प्रारम्भ हुन लागेकाले नेपाली जनतामा संविधान बन्ने आशा पलाएको छ । अन्तरिम संविधानको धारा ६९(१) बमोजिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गर्नुभएकाले आज biccसंविधानसभाको पहिलो बैठक प्रारम्भ हुन लागेको हो । अघिल्लो संविधानसभामा एकीकृत नेकपा(माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले) क्रमशः पहिलो दोस्रो र तेस्रो दल भएकामा यस संविधानसभामा भने काँग्रेस, एमाले र एमाओवादी, क्रमशः पहिलो दोस्रो र तेस्रो भएका छन् ।

अघिल्लो संविधानसभाको पहिलो बैठक कार्यवाहक राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो भने यस संविधानसभाको बैठक भने मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आह्वान गर्नुभएको छ । संविधानसभा अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन नभएसम्मका लागि पहिलो संविधानसभाको बैठकको अध्यक्षता ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले गर्नुभएकामा अब ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले गर्नुहुने छ ।

त्यस्तै संविधानसभाको निर्वाचन भएको दुई महिनापछि बस्न लागेको आजको बैठकमा संविधानसभामा मन्त्रिपरिषद्ले मनोनयन गर्न बाँकी रहेका २६ बाहेक प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीद्वारा चुनिएका सभासद्को सहभागिता रहने छ । त्यस्तै यस पटक विधानसभाभवनमा दुई स्वतन्त्र सभासद्सहित ३० राजनीतिक दलका सभासद्को प्रतिनिधित्व छ । यो संविधानसभामा अघिल्लो संविधानसभामा रहेका २० प्रतिशतबाहेक झन्डै ८० प्रतिशत नयाँ अनुहार रहेका छन् ।  संविधानसभाको आजको पहिलो बैठकमा मन्त्रिपरिषद्का अध्यक्षको बैठक आह्वानसम्बन्धी पत्र वाचन गर्ने, सभाको ज्येष्ठ सदस्यको अनुपस्थितिमा सभा सञ्चालन गर्ने अन्य व्यक्तिको चयन गर्ने तथा नयाँ नियमावली नबनुञ्जेलका लागि विद्यमान नियमावलीअनुसार सभा सञ्चालन गर्ने विषयलाई अनुमोदन गर्ने कार्यसूची रहेको बुझिइएको छ ।