बुधबार, असार २२, २०७९

कृषि नेपालको परम्परागत जीवन शैलीका रुपमा अगाडि बढिरहेको छ :कृषि मन्त्री टेकबहादुर थापा

दुई चार रोपनी जग्गा हुनेहरु पनि हामीले किसानका रुपमा परिभाषित गरेका छौ
 

विविधताको हिसावले नेपालमा कृषिको विकास नहुने होइन प्रशस्त मात्रामा  हुन्छ 

मलकारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गरिरहेका छौं सरकारले कृषि यान्त्रिकीकरण नीति ल्याउँदैछ

 कृषिले नत व्यवसायिक रुप लिन सकेको छ नत रोजगारी कै अवसर प्रदान गर्न  सकेको छ

 

  • विगतमा आफै सचिव भएको मन्त्रालयमा मन्त्रीका रुपमा काम गरिरहनु भएको छ कस्तो लागिरहेको छ ?

मन्त्री भएर काम गर्नु धेरै चुनौतिको विषय हो । नेपालमा कृषि क्षेत्रले देशको अर्थतन्त्रलाई पु-याउन सक्ने योगदान अत्यन्त बढी छ । नेपाली किसान र उपभोक्ताहरुको आवश्यकता पनि यही हो जस्तो लाग्दछ । यसको विकासका लागि धेरै आयामहरुको आवश्यकता छ ।

  • कस्तो आयाम आवश्यक ?

नेपाली जनतालाई खाद्य सुरक्षाको हिसावले पोषण युक्त खाना उपलब्ध गराउनु राज्यको दायित्व हो । अर्कोतर्फ कृषिलाई अहिलेको अवस्थामा यसको व्यवसायीकरण गर्नु पर्ने आवश्कता पनि छ । कृषि खास गरी नेपालको जीवन शैली नै भएको भएपनि परम्परागत जीवन शैलीका रुपमा अगाडि बढिरहेको छ । यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने हो भने अर्थतन्त्रलाई टेवा पु-याउनुको साथसाथै, संलग्न किसान परिवारको आयस्तर बृद्धि गर्ने, नेपालका व्यापार घाटा घटाउनको निमित्त निर्यात योग्य बस्तुको पहिचान गरी एशियाली मुलुक र विश्वका अन्य देशमा नेपाली कृषिलाई पु-याउने नयाँ आयामको  यतिखेर आवश्यक देखिएको छ ।

  • नेपाललाई कृषिप्रधान देशका रुपमा चिनिन्छ । जसले गर्दा नेपालमा विदेशीहरुले कृषि उत्पादनमा लगानीगर्दै आइरहेको देखिन्छ तर नेपाल सरकारले नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका लागि मात्र प्रोत्साहन गरिरहेको छ भनिन्छ नि ?

नेपाली युवाहरुलाई वैदेशिक रोजगारीका लागि पठाएर हामीले रेमिट्यान्स भित्र्याउनु पर्दछ भन्ने विचार मेरो पनि रहेको छ ।  नेपालमा सक्रिय रुपमा कृषि पेशामा लाग्ने दुई तिहाई छन् । सवैले कृषि गरि रहनुपर्ने आवश्यकता छैन । नयाँ प्रविधि भित्र्याएर युवा कृषकहरुलाई संलग्न गराई यान्त्रिकीकरणलाई जोड दिएर कृषि उत्पादन बढाउने र कृषि उत्पादनको लागत घटाउने अवस्था अहिले आएको छ । नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नु हुँदैन । विकसित देशमा हेर्ने हो भनेपनि २/३ प्रतिशत जनतालेमात्र खेती गरिरहेका छन् । तर पनि आफ्ना देशका जनतालाई आवश्यक उत्पादन परिपूर्ति गरि विदेश समेत निर्यात गरेको पाइन्छ । तर नेपालमा जो कृषिमा संलग्नछन् ती सवै बेरोजगारीहरु नै छन् । दुई चार रोपनी जग्गा हुनेहरु पनि हामीले किसानका रुपमा परिभाषित गरेका छौ । अव यसले नत व्यवसायिक रुप लिन सकेको छ नत रोजगारी कै अवसर प्रदान गर्न सकेको छ । त्यसकारण पनि हामीले बैदेशिक रोजगारीका लागि पहल गर्नुनै पर्दछ तर हामीले गुणस्तरीय जनशक्ति तयार गर्दै सीपको विकास गर्नु आवश्यक छ । अहिले हामीले पठाएका जनशक्ति भनेको सवै सीप नभएका व्यक्ति बढि छन् । त्यसकारण मुलुकमा रहेका जनशक्तिलाई तालिम गराउने कृषि प्रविधिको बारेमा ज्ञान दिलाउने र कृषि उत्पादन बढाउने तर्फ लाग्नु पर्दछ ।

  • त्यसो भए कृषि प्रविधि र यान्त्रिकीकरणले गर्दा कृषि उत्पादनमा बृद्धि गर्न सकिएन ?

हामीले तीन चार वटा कुरामा जोड दिनु पर्दछ । प्रविधि, तालिमयुक्त जनशक्ति, उत्पादन गरेका उपजलाई प्रशोधन र उत्पादन भएका बस्तुलाई देशभित्र र बाहिर बजारीकरण गर्न सक्ने हो भने हामीले कृषिबाट धेरै नै उपलब्धि लिन सक्छौं । अहिलेको समयमा यान्त्रिकीकरण महत्वपूर्ण रहेको छ नेपालका भौगोलिक अवस्थालाई सुहाउँदो तराईदेखि पहाडसम्मलाई हुने गरी फरक फरक किसिमले कृषि यन्त्रको  प्रयोग गर्न सक्यौं भने उत्पादन लागत पनि घट्ने र काम चाँडो पनि हुनेगर्दछ । त्यसकारण पनि सरकारले कृषि यान्त्रिकीकरण नीति ल्याउँदैछौं ।

  • कृषिप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन सकेको छैन भन्छन् नि हो?

विगतका बर्षहरुमा भन्दा यस बर्ष कृषिमा धेरै परिवर्तन देख्न सक्नु हुन्छ । प्रविधिका हिसावले, यान्त्रिकीकरणका हिसावले,कृषि बीमाका हिसावले र कृषि उपजहरुको बजारीकरणका हिसावले यो बर्ष धेरै परिर्वतनहरु आएका छन् । यी भएका गतिविधिहलाई केही बर्ष निरन्तरता दिनु पर्दछ । समय अनुरुप यसबर्ष कृषिमा धेरै काम भएको छ  ।

  • बीमा लागू त भयो तर त्यो कार्यान्वयनका हिसावले सफल हुन सकेको छैन नि ?

यसलाई कार्यान्वयन गर्नका लागि कृषि मन्त्रालयका सचिवको अध्यक्षतामा एउटा समिति बनेको छ, वीमा समिति पनि यसमा संलग्न भएको छ । यसलाई अव जिल्ला जिल्ला हुँदै गाउँसम्म लैजादै छौं । यसको प्रभाव अव देखिन्छ । सरकारले वीमामा दिने ५० प्रतिशत प्रिमियम दिन्छ बीमा कम्पनीहरुले पनि यसमा जोड दिनु पर्दछ । यो नयाँ परिकल्पना भएका कारण पनि  कसरी अगाडि लैजाने भन्ने हो त्यसका लागि वीमा कम्पनीहरुको पनि तयारी चाहिन्छ । यो शुरुवाती बर्ष भएका कारण कार्यान्वयन नभएको जस्तो देखिएको मात्र हो ।

  • राज्यको आर्थिक मेरुदण्डका रुपमा रहेको कुखुरापालन व्यवसाय वर्डफ्लुका कारणले धरापमा पर्दैछ यसलाई कसरी सुरक्षित गर्ने त ?

यो बर्ष खासगरी काठमाडौं उपत्यकामा बर्डफ्लु अलि धेरै देखियो र भक्तपुरमा यसले ठुलो असर पु-याएकोछ । कुखुरा व्यवसायी  मर्कामा नपरुन् भन्ने हिसावले राहतको व्यवस्था सरकारले गरेको छ । सो राहतका लागिपनि सरकारले कार्यदल गठन गरिसकेको अवस्था छ ।  पोल्टी फार्मलाई कसरी पुर्नस्थापना गर्ने सकिन्छ भन्ने कुराको सुझाव कार्यदलले दिन्छ । अर्कोकुरा कुखुरा व्यवसाय अनियन्त्रित रुपमा भएका कारण पनि त्यसलाई अव केही मापदण्ड तोक्ने तयारी पनि गरिएको छ । प्राविधिक मापदण्ड अपनाएर भविष्यमा पनि बर्डफ्लु जस्तै महामारी आयो भने कसरी बच्ने भन्ने हिसावले व्यवस्थित गरेर लैजाने,नयाँ सञ्चालनमा आउनेहरुलाई पनि दर्ता गराएर मात्र स्वीकृत दिने, पोल्ट्री व्यवसायका लागि न्यूनतम आवश्यकता के के हुन् भन्ने कुरा पुरा गर्न लगाएर व्यवस्थित रुपमा अगाडि बढाउँदै लैजाने र अहिले जति पनि किसानहरु मर्कामा छन् उनीहरुलाई प्राविधिक हिसावले र आर्थिक हिसावले सहयोग गर्ने काम सरकारले गरिरहेको छ । राहतलाई पारदर्शिताका लागि कार्यदल गठन भईसकेको र सोही कार्यदलले दिएको प्रतिवेदनका आधारमा नै अवको पोल्ट्री व्यवसाय सञ्चालन हुन्छ । अव पहिले भन्दा फरक किसिमले बैज्ञाननिक ढंगले नाफामूलक बनाउनका लागि सरकारले एउटा निर्णय गर्दछ र त्यही अनुरुप हामी अगाडि बढ्ने छौं । अहिले कै अवस्थामा पोल्ट्री व्यवसाय रहनु दिनु हुँदैन ।

  • त्यसो भए नेपालको कृषिको विकास हुन नसक्नुका समस्याहरु चाहि के हुन् त ?

विविधताको हिसावले नेपालमा कृषिको विकास नहुने होइन प्रशस्त मात्रामा हुन्छ । सवै प्रकारका कृषि उत्पादन हुन्छ तर हामी परम्परागत रुपमा नै अल्झिरहेका छौं । अव हामीले कृषि विकासका लागि कृषि उत्पादनमा विशिष्टीकरणमा जानु पर्दछ । कुन क्षेत्रमा कुन कृषि उत्पादनलाई जोड दिने हो र त्यसैसँग सम्वन्धित प्रविधिदेखि तालिम सम्म प्रदान गर्ने काम सरकारले गर्नुपर्दछ । राज्यले अनुदान दिएर भएपनि बजारीकरणका लागि एउटा क्षेत्र छुट्टाएर विशेष उत्पादन के हो त्यसलाई जोड दिएर उत्पादनदेखि बजारीकरणसम्म गर्नु पर्दछ । हाम्रो कृषिको विकास वा चुनौति भनेकै कृषि उत्पादनको विशिष्टीकरणमा पछाडि पर्नु हो । हिजोसम्म आत्मनिर्भरहुने काम मात्र गरिरहेका छौं । अहिले अन्तर्राष्ट्रिय बजारको बाटो समेत खुल्ला भईसकेका कारण अन्र्तराष्ट्रिय बजारलाई समेत हेरेर कृषि उत्पादनमा लाग्नु पर्दछ । साथै कृषकहरुलाई कृषि पेशा जिविकोपार्जनका लागि मात्र नभई व्यवसाय नै हो भनेर लैजानु पर्दछ ।

  • सम्भावना कत्तिको छ त?

नेपालमा कृषि व्यवसायको सम्भावना प्रशस्त मात्रामा रहेको छ । क्षेत्र क्षेत्र छुट्टाएर कृषि उत्पादनको विशिष्टीकरण गर्नुपर्दछ । स्रोत र हावापानीका हिसावले नेपालमा कृषि उत्पादनमा धेरै नै सम्भावना छ । हामीकहाँ एउटा यातायातको समस्या हुन सक्छ तर त्यो पनि गर्न सकिन्छ । अहिले युवाहरु पनि कृषि आकर्षित भईरहेका छन् । त्यसले गर्दा कृषि उत्पादनले देशको आवश्यकता पनि पूर्ति गर्न सक्छौं । विदेश पनि निर्यात गर्न सक्छौं ।

  • किसानहरुले सँधै मलखाद र वीउविजन नपाईरहेको अवस्थामा व्यवसायिक रुपमा बढ्न त गाह्रो हुन्छ नि ?

त्यही नहोस् भनेर अहिले १५ बर्षे सिड भिजन भनेर नयाँ योजना ल्याएका छौं । जसले किसानलाई गुणस्तरीय वीउका लागि सहजता ल्याउने छ । त्यस्तै रसायनीक  मल हालसम्म विदेशबाट आयात गरेरै भएपनि आपूर्ति गरिरहेको अवस्था हो । अहिले  रसायनीक मलकारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गरिरहेका छौं भने  मलका लागि अनुदानको व्यवस्था गरको छों ।

  • आम किसानहरलाई के भन्नु हुन्छ ?

हामी आम किसान परिवारमुखि र परिवार केन्द्रित भएकाछौं । त्यसकारण आफ्नो जग्गामा माटो सुहाउँदो कुन बस्तु उत्पादनका गर्दा विशेष महत्व राख्छ त्यही कृषि बस्तु उत्पादन गर्नु पर्दछ । अव प्रत्येक किसानहरुले धेरै कृषि उत्पादन नभै एउटै विशेष महत्व राख्ने कृषि उत्पादनमा जोड दिनु पर्दछ र त्यसका लागि कृषि विकास मन्त्रालय र मातहतका कार्यालहरु प्राविधिक सहयोग, तालिम लगायतका कामहरु गर्न सँधै तत्पर छौं        -बैकुण्ठ भण्डारी

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031