शुक्रबार, फाल्गुन १८, २०८०

मनको लहे-लहैमा लाग्दै गयौँ भने कुनै न कुनै क्षण फन्दामा पर्ने निश्चित छ

tondon

एकछिन शान्त चित्तले मनन गरौँ त नकारात्मकतातिर लाग्दा हानि के हुन्छ र सकारात्मकतातिर लाग्दा फाइदा के छ ? 

जीवनलाई अभिशाप बनाउने कि वरदान त्यसको साँचो तपाईँकै हातमा छ। 

-डा.गोविन्द टण्डन

काठमाडौं श्रावण २०,मानिसको स्वभाव आ-आफ्नै किसिमको हुन्छ। सबैले मैले सोचेजस्तो सोचिदियूँन्, मैले गरेजस्तो गरिदियूँन्, मैले भनेजस्तो भनिदियूँन्,सबैले मलाई साथ दियूँन् भन्ने सम्झ्यौँ भने गलत हुन्छ। यसो हुनुमा धेरै कारणहरू हुन सक्छन्। प्रत्येकको घरको संस्कार, हुर्के-बढेको वातावरण, शिक्षा, दीक्षा, सङ्गत र त्यसले हुर्काएको चिन्तन र धारणाले गर्दा नै मानिसको विचार फरक-फरक हुन्छ। त्यसमा अझ पूर्वजन्मको प्रारव्ध र संस्कारको समेत केही न केही हात रहेको हुन्छ । यसलाई नकार्न मिल्दैन पनि। यद्यपि पूर्वजन्म एवं पुनर्जन्मको विषयमा लामो समयदेखि विचारविमर्श हुँदै आएको छ। एउटै आमा-बाबुबाट जन्मेको सन्तानहरूलाई हे-यौँ भने त्यसबारे बुझ्न गाह्रो पर्दैन। ठ्याक्कै उल्टो हुन सक्छ उनीहरूको आनीबानी, स्वभाव एवं गुण। सँगैजसो जन्मेका जुम्ल्याहा-तिम्ल्याहामा त यस्तो हुन्छ भने अरूमा के सम्भव होला? भन्नै पर्छ त्यो असम्भव छ। हामीले समाजमा यस्तो एउटा होइन अनेकौँ उदाहरणहरू पाउन सक्छौँ। यो के कारणले भएको छ? त्यतापट्टि गहिरिएर विचार ग-यौँ, सूक्ष्मतापूर्वक चिन्तन ग-यौँ भने पूर्वजन्मको संस्कारका कुरालाई ढिलोचाँडो नमानी सुख छैन।

मानिसलाई आफ्नो रुचीअनुसार नै कुनै कुराले प्रियता वा अप्रियता दिने गर्छ। गलत संस्कारमा हुर्केबढेको मानिसलाई असल संस्कारमा बानी बस्न हम्मे-हम्मे हुन्छ वा भनौँ दुष्करै हुन्छ। त्यसैगरी असल संस्कारको मानिसलाई गलत संस्कार भएको मानिससँग हिमचिम गर्न पहिले त गाह्रो पर्छ तर नकारात्मकताको के स्वभाव हुन्छ भने यसले जो कोहीलाई छिटै आकर्षण गरिहाल्छ। समाजमा हामी यही कुरा प्रत्येक पल, प्रत्येक क्षण घटिरहेको देख्छौँ। कसैले नयाँ-नयाँ आविष्कार गरेका राम्रा विषयहरूले हतपत स्थान पाउँदैन। तर नराम्रो कुरा छ, नकारात्मक कुरा छ भने यति चाँडो द्रुतगतिमा फैलिन्छ कि त्यसले पत्रपत्रिकालगायत सबैतिर स्थान पाइरहेको देखिन्छ। नकारात्मक कुरालाई प्रश्रय दिने मानिसको यही गुण र स्वभावको कारणले हो हिजोआज पत्रपत्रिका, साहित्य एवं सञ्चारमाध्यमहरूमा पनि सकारात्मकताले भन्दा पनि नकारात्मकताले स्थान पाउँदै गइरहेको छ। निष्पक्षता र तटस्थताको नाममा यस्तै भाव र विचारले प्रोत्साहन पाइरहेको अनुभव जो कोहीले गरेको हुनुपर्छ। अब त यस्तो भइसकेको छ कि समाचार वा पत्रपत्रिकामा केही यस्तै नकारात्मकतालाई झल्काउने विषय परेको दिन छैन भने खल्लो लाग्ने मनस्थितिको निर्माण भइरहेको अनुभूति हुन्छ। यस प्रकारको प्रवृत्तिलाई राम्रो भन्न मिल्दैन। आजको समाजको हरेक व्यक्ति, संस्था वा सरकारै समेतलाई पनि केही न ���ेही रूपले मार्गदर्शन, दिशानिर्देश गर्ने काम पत्र-पत्रिका र आम सञ्चारले गरिरहेको छ भनेर मान्नु पर्ने स्थिति छ। स्थानीयतामा मात्रै सीमित छैन यो, वहुआयामिक असर र प्रभाव पार्न सक्ने अधिकतम सम्भावना रहन्छ यसमा । यसले के बिग्र्यो वा बिग्रन्छ भन्ने सोचाइ राख्ने मानिसहरूको जमात हुन नसक्ने होइन। जरुर हुन्छ। सोच्नु पर्ने कुरा के छ भने नकारात्मकताले समृध्दिलाई कुण्ठित तुल्याउँछ, विकासमा अवरोध ल्याउँछ, सहजतामा बाधा-अडचन पु-याउँछ।

मानिसमा भएको दुई स्वभाव- सकारात्मक स्वभाव र नकारात्मक स्वभावमध्ये पहिलो स्वभावले उदारता, विशालता र महानतातिरको यात्रामा लाग्न अभिप्रेरणा दिएको हुन्छ जबकि दोस्रो स्वभावले सङ्कीर्णता, लघुता, सीमितता र बिनासतिर अभिप्रेरित गरिरहेको हुन्छ। विश्व इतिहासमा चाहे जुनसुकै क्षेत्रमा योगदान दिनेहरू किन नहून् केही अपवादबाहेक अधिकांश व्यक्तिहरूले सकारात्मक सोच, विचार, कर्म गरेरै अमर कीर्ति राख्न सफल भएका हुन्। हुँदैन, सकिदैँन, के खाँचो भनेर बसिदिएका भए ज्ञान-विज्ञानको क्षेत्रमा भएका कुनै पनि सफलता, तरक्की, प्राप्ति सम्भवै थिएन र यो हुँदैन पनि।

प्रश्न उठ्न सक्छ के भयो त? जतातिर लागे पनि आखिर नहुने कुरा नभई छाड्दैन वा एक दिन मरेर जानुपरिहाल्छ आदि-आदि। फरक के हुन्छ त? यस्तो प्रश्नले कहिलेकाहीँ कत्ति मानिसलाई व्यामोहित तुल्याइरहेको पनि नपाइने होइन। मनमा उब्जने यस्तै द्विविधा र द्वन्द्वको कारण के हुन्छ त भन्दाभन्दै मनोहारी मानव जीवनलाई अनेक दुष्कर्म, दुर्व्यसन र चरित्र भ्रष्ट हुने कार्यमा लगाउन पुग्छन्। समाजमा जे-जति विकृति र विसङ्गतिहरू देखिन्छ ती सबै हरेक मानिसमा उब्जने द्विविधा र समयमा त्यस्ता द्विविधा र द्वन्द्वलाई ठीक तरिकासँग मार्गदर्शन गर्न नसक्नाको कारणले नै भएका हुन्। एकछिन शान्त चित्तले मनन गरौँ त नकारात्मकतातिर लाग्दा हानि के हुन्छ र सकारात्मकतातिर लाग्दा फाइदा के छ? सकारात्मकताले यहाँ सबै असल चिन्तन, असल कार्यलाई प्रतिनिधित्व गर्छ भने नकारात्मकताले खराब चिन्तन, भ्रष्ट कार्य र दुष्कर्मको प्रतिनिधित्व गर्छ। एकैछिन त्यस कुरालाई सम्झदा मात्र पनि एउटाले मनमा भयङ्कर त्रास दिन्छ त अर्कोले सन्तोषको सास दिन्छ, निश्चिन्तता दिन्छ।

राम्रोतिर, असलतिर, सर्वोत्कृष्टतातिर लाग्दा स्वयं आफ्नोलागि त्यो सन्तोषपूर्ण कार्य हुने त छँदैछ साथै त्यसले समाजको लागि पनि अनेकौँ फाइदा पु-याइरहेको हुन्छ। नराम्रोतिर लाग्दा, खराबतिर लाग्दा, नकारात्मकतातिर लाग्दा त्यो सम्भव हुँदैन। यो बाटोको वटुवाहरूलाई क्षणिक समयको लागि के-के न प्राप्ति भएको जस्तो नलाग्ने होइन लाग्न सक्छ तर त्यसले निरन्तरता प्राप्त गर्न सक्दैन र यस्ता पथगामीहरूको जीवन कसैका लागि पनि आदर्श र उदाहणीय बन्न सक्तैन। खराबतिरको प्रवृत्तिले आफ्नो जीवन आफैलाई भारको अनुभूति हुन्छ चाहे अरूले जतिसुकै सम्मान गरून्, ती सबै फिका हुन्छन्, क्षणिक हुन्छन्। असल, राम्रो र सर्वोत्कृष्टतातिरको यात्राले मानिसलाई जीवनको सार प्राप्त हुन्छ।

आत्मलाभको मधुरतम फलबाट वञ्चित र बिमुख हुनु पर्दैन। असल, राम्रो र सर्वोत्कृष्टतातिर लाग्दा मानवतालाई टेवा दिन सकिन्छ। स्पष्ट छ खराव, नराम्रो र निकृष्टतातिर लाग्दा त्यस्तो अवसरबाट वञ्चित भइन्छ। जीवन वरदान बनाउने कि अभिशाप मानिसको हातमा छ भनेको यही हो। असलतिर लाग्ने, सर्वोत्कृष्टतातिर लाग्नेको जीवन लोभलाग्दो, रहरलाग्दो, बाँचिरँहू जस्तो लाग्ने हुन्छ भने दोस्रोको उराठलाग्दो, अन्धकारमय, गन्तव्यहीन हुन्छ। वरदानै वरदानको जीवन मानिसको नैसर्गिक हक हो तर त्यसलाई नबुझेर कोही कुलतमा, कोही दुर्व्यसनमा, कोही नकारात्मकतामा, कोही अशान्तिमा, कोही चिन्तामा, कोही दुष्कर्ममा फस्न पुग्छन्।

मानिसलाई यसरी अनेक थरी फन्दामा फसाउने अरू कोही नभई आफूभित्र रहेको लोभ र स्वार्थ नै हो भन्ने कुरा थोरैले मात्र बुझेका छन्। त्यसबाट केही पो पाइहाल्छ कि, केही पो रमाइलो हुन्छ कि, केही सुख पो पाइहालिन्छ कि भन्ने लोभले जीवनमा पाइने प्राकृतिक आनन्दको विपरीत मानिस उत्रनै गाह्रो पर्ने खाडलमा भासिन पुगिरहेको हुन्छ। लोभ, मोह एवं स्वार्थलाई अभिप्रेरित गर्ने अर्को केही नभएर मन नै हो। यी सारा कुरा मनकै कारण भइरहेका हुन्छन्। मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्नेले नै वास्तवमा पुरुषार्थ प्राप्त गर्दछन् र जित हासिल गरिरहेको हुन्छ। कति मानिस पुरुषार्थ भनेको शरीरमा भएको शक्तिलाई वा बललाई सम्झेर गल्ती गरिराखेका हुन्छन्, त्यो एकांशमात्र ठीक हो। यो बाहिरी कुरा मात्र हो। वास्तविक पुरुषार्थ त मनलाई संयममा राखेर जीवनलाई असल, राम्रो र सर्वोत्कृष्ट तुल्याउनेहरूले नै पाउँछन्। भन्नलाई त मानिसहरू भन्ने गर्छन् कुनै सामान्यभन्दा अलि उँचो खालको काम जुन मानसिक पनि हुन सक्छ, शारीरिक पनि हुन सक्छ गरिहालेछ भने क्या पुरुषार्थ ग-यो भनेर भनिदिन्छन् तर त्यो भावनावशात् निक्लेको शव्दमात्र हो र हुन सक्छ।

मनलाई कावुमा राख्न नसक्दा नै जीवनमा बाँचेर पनि कति मानिस मरिरहेका हुन्छन्। के तपाईँले कहिल्यै सोध्नुभएको छ त्यस्ता व्यक्तिलाई कि जानाजान गल्ती गरेपश्चातको जीवनमा उसले कस्तो अनुभूति ग-यो भनेर? कति मर्मस्पर्शी कुरा बताउँछन् उनीहरू कि यस्तो होला भनेर कल्पनासम्म पनि गरेको थिइनँ कहाँनिर केले यस्तो तुल्यायो भन्ने गर्छन्। कहिलेकाहीँ अनुभवको स्मृतिको कारण पनि मन नियन्त्रणभन्दा बाहिर पुग्छ जसलाई लगाम कस्न व्यक्ति असमर्थ भएको हुन्छ। के थाहा कि यस्तो स्थितिमा पु-याउने अरू कोही नभई उसैको मन हो, लोभ, हो, स्वार्थ हो भन्ने कुरा! कति त थाहा पाएर फस्न पुग्छन् यस्ता खाडलहरूमा। कतिले त बहाना बनाउन सक्छन् कि मैले जानिनँ, थाहा थिएन भनेर। यसो हुनु स्वाभाविकै पनि हो। आफूले गरेको गलत कार्यको ढाकछोपको लागि उसले सक्ने छेकवार भनेको त्यत्ति न हो। उनीहरूले प्रशस्त जानेका हुन सक्छन्।बहानावाजी गर्नेलाई, थाहा पाएर पनि नथाहा पाएजस्तो गर्नेलाई के भन्न सकिन्छ? सबै रोगको औषधि खोजेमा पाइन सक्छ तर यसलाई दुर्भाग्यै भन्नुपर्छ कि संसारमा बहाना गर्नेहरूको लागि केही औषधि अहिलेसम्म बन्न सकेको छैन।

जीवन कसरी बिताउने होला भनेर मलाई कसैले द्विविधा भई सोध्छ भने शत्रु नै किन नहोस् उसलाई गलत बाटोमा लाग्न किमार्थ दिनु हुँदैन यसैले म त भन्छु असल, राम्रो र सर्वोत्कृष्ट जीवन बाँच्ने आधारहरू के हुन सक्छन् त्यसलाई आत्मसात् गरेर सुखी जीवन, शान्तिपूर्ण जीवन, समृध्दीको जीवन, आनन्दको जीवन जिउनको लागि नै मार्गदर्शन गर्दा जुन आनन्द प्राप्त हुन्छ म त्यो अरू भौतिक सुखसुविधाबाट पाउन सक्दिनँ भन्ने ठान्छु। स्वतन्त्रताको नाउँमा जे गरे पनि हुने स्वच्छन्दताले जरो गाड्दै गएको आजको विश्वमा यही रफ्तार अझ बढ्दै जाने हो भने मनुष्यताको झलक आउँदो शताव्दीमा पुग्दा नपुग्दा विलुप्त भई पशुताको, संवेदनहीनताको, विवेकशून्यताको अन्धकारपूर्ण युगको दर्शन भविष्यका हाम्रा पुस्ताहरूले गर्नु पर्ने दु;खदायी क्षण अरू कसैले होइन उनैका पूर्वजहरूले विरासतमा छोडिदिएका हुनेछन् कस्तो विडम्बना! यस्तो हुनुबाट परिवारलाई, समाजलाई, विश्वलाई बचाउने हो भने जो जहाँ जुन अवस्था वा हैसियतमा छ उसले त्यहीबाट आजकै दिनदेखि आफ्ना अवगुण, कमीकमजोरी वा नकारात्मकताबाट माथि उठ्न प्रयास नगरी हुँदैन। यस्तो जीवनमूल्यसँग सम्बन्धित विषयहरूलाई भोलि, पर्सिको भाकाले काम लाग्दै-लाग्दैन यो निश्चित छ।

असलपट्टि लाग्दा, राम्रोपट्टि लाग्दा, सर्वोत्कृष्टतापट्टि लाग्दा विवेकशक्ति जागृत हुन थाल्छ र थाहा पाउन थाल्छौँ कि जान हुने ठाउँ कुन हो? नजाने ठाउँ कुन हो? खान हुने के हो? खान नहुने के हो? भन्न हुने के हो? भन्न नहुने के हो? असल के हो? खराब के हो? वास्तवमा अन्धकारबाट उज्यालोतिरको यात्राको सुरुवात भनेकै यही हो। यही सचेतताले वाणीमा नम्रता, व्यवहारमा शुध्दता, कर्ममा निपुणता र अन्ततोगत्वा जीवनमा मनोहारिता ल्याउँछ। जीवनको रूपान्तरणको सही स्वरूप भनेकै यही हो। मात्र बोल्न जानेर, सजिन जानेर, कमाउन जानेर, सम्पत्ति पाएर जीवन सफल बन्ने होइन जीवनको सफलता त उसले जीवनलाई कत्तिको असल बनाएको छ? समाजका लागि, राष्ट्रका लागि, मानवका लागि, प्राणीमात्रको लागि कत्तिको हितकारी कार्य गरेको छ त्यसले आङ्कलन हुने कुरा हो। यसैले भन्नै पर्ने हुन्छ कि जीवनलाई अभिशाप बनाउने कि वरदान त्यसको साँचो तपाईँकै हातमा छ। मनको लहे-लहैमा लाग्दै गयौँ भने कुनै न कुनै क्षण फन्दामा पर्ने निश्चित छ। बन्धनमा परेर पछुताउनुभन्दा त्यसमा फस्नै नपर्ने जुक्तिबारे जान्नु उपयुक्त होइन र? राम्ररी बुझौँ, समयमा नै बुझौँ कतै समय भडकिएला! लेखक हाल: पशुपति क्षेत्र विकासकोषका सदस्य सचिव हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2013
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031