मङ्लबार, अशोज ११, २०७९

लुम्बिनीमा रमाइलो गर्न दिनुपर्छ भन्ने सोचाइ धार्मिक क्षेत्रमाथीको बलात् हस्तक्षेप

बसन्त

         जुन ढंगले नहरको प्रयोग गरियो यसले लुम्बिनीको सम्पूर्ण कल्पनालाई नै तुषारापात गरिदियो ।

–बसन्त महर्जन 

नेपाली समाजमा धेरै गहन अर्थ राख्ने एउटा उखान छ, बाँदरको हातमा नरिवल । नरिवल एउटा विशेष फल हो तर त्यसलाई फुटालेर खान नसक्दा वा नजान्दा बाँदरको लागि खेल्ने भकुन्डो वा रमाइलो गर्ने वस्तु भइदिन्छ । त्यस्तै गरी अर्को उखान पनि छ, भिल्लको देशमा मणि । यस्ता अन्य पनि थुप्रै उखान पाइन्छन् जसले कुनै विशेष कुरालाई सही ढंगले प्रयोग नगर्दा कटाक्षका रुपमा प्रयोग गरिन्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपाली भूमिमा पर्छ र अनेकौं आयाममा भएको यसको महत्वलाई नबुझ्नेहरुलाई पनि त्यस्तै उखान टुक्काहरुको प्रयोगले कटाक्ष गर्न सकिन्छ ।स्वयं गौतम बुद्धले भिक्षु आनन्दसँग आफू जन्मेको ठाउँ (लुम्बिनी) एक सम्बदेनीय स्थल भएको बताएका थिए । सोहीअनुसार बुद्धप्रति अनुभाव राख्नेहरु लुम्बिनी पुगी उक्त जन्मस्थलमा श्रद्धा व्यक्त गर्न थालेका थिए । सोही क्रममा यो ठाउँ बौद्धहरुका लागि श्रद्धाले युक्त संवेजनीय स्थलका रुपमा विकास भयो र सन् १९७८ मा संयुक्त राष्ट्र संघको पहलमा लुम्बिनी गुरुयोजना नै बन्यो । उक्त गुरुयोजनाका परिकल्पनाकार वास्तुविद् प्रोफेसर केन्जो तान्गे एक साधारण वास्तुविद मात्रै नभई स्वयं बौद्ध र बुद्ध दर्शनमा पकड राख्ने विद्वान पनि थिए ।

विश्वभरका बौद्धहरुलाई ध्यानमा राखी तीर्थस्थलको रुपमा विकास गर्न उनलाई उक्त जिम्मेवारी दिइएको थियो र सोही अनुरुप गुरुयोजना पनि बन्यो । तर वर्षौ बितिसक्दा पनि केन्जो तान्गेको गुरुयोजना अनुरुप लुम्बिनीको विकास हुन सकेको छैन । गुरु योजनाको अध्ययन गर्दा लुम्बिनीको छवि जुन रुपमा छचल्किन आउँछ, त्यो रुपको लुम्बिनी वास्तविक धरातलमा पाइन्न । गुरुयोजना भन्दै बेग्लैखालको लुम्बिनीलाई प्रस्तुत गर्ने उद्दत मानसिकता पाउँदा बाँदरको हातमा नरिवल उखान चरितार्थ हुन्छ र गुरुयोजनालाई वल्टाइपल्टाइ हेर्दै गुल्ल्ल गुल्टाएर खेलिरहेको प्रतित हुन्छ ।

प्रो. केन्जो तान्गेले लुम्बिनी क्षेत्रलाई एक एक वर्गमाइलका तीनवटा प्लट उत्तरदेखि दक्षिण पारी लाम्चो बनाएका छन् । सबभन्दा उत्तरको प्लट नयाँ लुम्बिनी ग्राम हो र बीचको प्लटलाई विहार क्षेत्र बनाएको छ । यो विहार क्षेत्रको बीचमा एउटा नहरको परिकल्ना गरिएअनुसार दायाँबायाँ थेरवादी र महायानी बौद्ध विहारहरु राखी एउटा आकर्षक नहरको निर्माण भएको लामो समय भयो । गुरुयोजना थाहा पाउनेले त नहर भन्ने कुरा बुझ्ने भइहाले, तर अन्यका लागि कौतुहलको विषय हुन्थ्यो किनभने त्यहाँ पानी हुँदैनथ्यो । बरु घाँसपात उम्रेर भरिएको थियो । गुरुयोजनाअनुरुप निर्माण कार्य पूरा नभइसकेको अवस्थामा त्यहाँ पानीको व्यवस्था गरिहाल्नुपर्ने दबाब पनि थिएन ।

बिहार क्षेत्रको बीच भागमा नहरको परिकल्पना प्रो तान्गेबाट किन भयो होला ? नहरको दायाँबायाँ ठूलो चौडाको बाटो पनि छ । लुम्बिनी क्षेत्रभित्र आवतजावत गर्न ठूल्ठूला यातायातको साधनको कल्पना गुरुयोजनाकारले गरेका छैनन् । त्यहाँ सानातिना तर पर्यावरणीय सवारी साधनलाई भने छुट थियो, उदाहरणका लागि images (58)रिक्सा । यसको मतलब हो, लुम्बिनी क्षेत्रमा पार्यवरणीय स्वस्थता कायम राख्ने र होहल्लालाई पूर्णतः निषेध गर्ने सोचाइ रहेको पाइन्छ । विहार क्षेत्र भन्नु आध्यात्मिक साधनास्थल हो । यहाँ साधकहरु ध्यान भावना गर्छन् । बुद्ध ध्यानमा जोड दिन्छन् । यही अनुरुप संसार भरका बौद्धहरु ध्यान भावना गरेर बुद्ध दर्शन बुझ्ने अभ्यास गर्छन् । चार संवेजीनय स्थलहरुमध्ये पहिलो लुम्बिनी भएका कारण ध्यान भावना गर्ने एउटा उपयुक्त थलो लुम्बिनी पनि हो । यस अर्थमा विहार क्षेत्र लगायत सबैमा शान्तपूर्ण वातावरण हुनु यहाँ नितान्त आवश्यक छ । यही भएर यहाँ ठूल्ठूला सवारी साधनहरुलाई ठाउँ नदिएको हो । विहार क्षेत्रको नहरको दायाँवायाँस्थित बाटोमा प्रायः बौद्धमार्गी हिँडेरै आवतजावत गर्छन् ।

विहार क्षेत्रको दक्षिणलाई पवित्र क्षेत्र नाम दिइएको छ, जहाँ बुद्धको जन्म ई.पू. ५६३ को वैशाख पूर्णिमाका दिन मायादेवीको कोखबाट बोधिसत्व सिद्धार्थको जन्म भएको थियो । हिँड्न सक्ने त हिँडेरै जन्मस्थलसम्म पुग्छन्, हिँड्न नसक्नेका लागि नहरमा डुंगा सयर गरेर पवित्र उद्यानसम्म पुग्ने व्यवस्था गरिएको हो । अन्य पनि डुंगामा सयर गरेर शान्तपूर्वक पवित्र क्षेत्रमा पुग्न सक्छन् । डुंगामा सयर गरेर पवित्र उद्यान पुगून् वा नहरमा छचल्किरहेको पानी हेर्दै हिँडेर, यी दृश्य हेर्दै सबैको मनमा शान्त र आनन्दको अनुभूति हुन्छ । यस्तो मनःस्थिति लिएर पवित्र उद्यानमा प्रवेश गर्नुको उपलब्धि अर्थपूर्ण नै हुन्छ । लुम्बिनी विकास कोषले विहार क्षेत्रस्थित नहरलाई हालै प्रयोगमा ल्याएको छतर जुन ढंगले नहरको प्रयोग गरियो यसले लुम्बिनीको सम्पूर्ण कल्पनालाई नै तुषारापात गरिदियो । नहरमा हुइँकिएर दौडने डुंगा र त्यसले निकाल्ने भद्दा आवाज तथा त्यसमाथि यात्रा गर्ने यात्रुहरुको चर्तिकला हेर्दा लाग्छ, त्यो दृश्य लुम्बिनीको नभएर कुनै मनोरञ्जन स्थल वा ‘फनपार्क’को हो । त्यसमा सवार यात्रुहरु बौद्ध तीर्थस्थलमा तीर्थ गर्न आएको नभएर ‘एड्भेन्चर टुरिज्म’का लागि हौसिएर आएकाको प्रतीत हुन्छ । मनोरञ्जनका लागि यसरी प्रयोग गरिँदा लुम्बिनीले आफ्नो अर्थ गुमाउने हुन्छ । उक्त बोटले यस्तरी आवाज निकालेर दौडेको पाइन्छ, जसले दायाँबायाँ शान्त मनले हिँडिरहेकाहरुलाई ‘डिस्टर्व’ गर्दछ साथै वरिपरि विहारमा ध्यान गरिरहेकाहरुलाई पनि ध्यान भंग गर्छ । यस्तो वातावरणप्रति आपत्ती जनाउँदा लुम्बिनी विकास कोष सम्वद्ध केहीले भविष्यमा आवाजविहीन बोटको सञ्चालन गर्ने जनाएको छ । यसको अर्थ हो, तिनीहरुले गुरुयोजनाको महत्ता र बौद्ध भावनालाई अझै पनि बुझ्न सकेका छैनन् । लुम्बिनी क्षेत्र मनोरञ्जन गर्ने क्षेत्र हुँदै होइन । मनोरञ्नको सोच लिएर आउनेहरुलाई प्रवेश दिनै पर्छ भन्ने जरुरी पनि छैन । कसैले लुम्बिनीमा रमाइलो गर्ने र गर्न दिनुपर्छ भन्ने सोचाइ राख्छ भने त्यसलाई एउटा धार्मिक क्षेत्रमा बलात् हस्तक्षेप मान्नुपर्छ ।

संसारभरका बौद्धहरु हुन् वा पर्यटक, लुम्बिनीमा घरिघरि पुग्दैनन् । एकपल्ट वा बढीमा दुई चारपल्ट पुग्ने हो । यसरी पुग्दा जे जस्तो देखिने हो, उसका लागि लुम्बिनीको छवि त्यस्तै गरी मस्तिष्कमा बसिरहन्छ । लुम्बिनी पुग्नु अगावै तिनीहरुमा लुम्बिनी यस्तो होला अथवा उस्तो होला भनी कल्पना गरिसक्छन् । बुद्धको जन्मस्थलको चित्रण विभिन्न बौद्ध साहित्यमा भएका छन् । त्यस्तै वातावरणको सिर्जना गरिएको हुनुपर्छ भन्ने मान्यता हुनु अस्वाभाविक होइन । तर त्यस्तो वातावरण नपाउँदा मन खिन्न हुनु पनि स्वाभाविक नै हो । अध्ययनको सिलसिलामा यो लेखक लुम्बिनीमा पटकपटक पुगिरहन्छ र प्रत्येकपल्टको भ्रमणमा चित्रविचित्रका दृश्यहरुसँग हठात् साक्षात्कार गर्नुपर्छ ।

लुम्बिनी क्षेत्र पिकनिक गर्न आउनेहरुको पनि ठाउँ भएको छ । अन्यत्र जस्तै हिन्दी फिल्ममा अश्लील वा भड्किला गीतसंगीत ठुल्ठूलो स्वरमा लाउडस्पिकरमा बजाउने र त्यसमा नाचिरहेका उरन्ठेउला युवायुवती पनि भेटिन्छन् । युवायुवतीहरुको जोडी नारिएर हिँडिरहेको दृश्यले बिझाउँछ । समग्रमा त्यहाँ बौद्ध वातावरणको नितान्त अभाव देखिन्छ । युवायुवती हुन् वा लोग्नेस्वास्नी, तिनीहरु बौद्ध हुन् वा बौद्ध भावना बुझ्छन् भने तिनीहरु बौद्धस्थलमा रतिरागलाई ठाउँ दिँदैनन् । लुम्बिनीमा बौद्ध मात्रै जानुपर्छ वा अन्यलाई निषेध गर्नुपर्छ भन्ने जिकिर त कदापि होइन तर यहाँ आउँदा अन्य सम्प्रदायले बौद्ध भावनामा ठेस पुग्ने खालको वातावरण सिर्जना गर्नु त पक्कै हुन्न । नेपालीहरु बुद्धको जन्म नेपालमा भएकोमा गर्व त गर्छन् तर त्यही अनुरुप बौद्धस्थलहरुमा बौद्ध वातावरण कायम राख्दैनन् भन्ने उदाहरण बग्रेल्ती पाइन्छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा नै एक बौद्ध भिक्षुमाथि गोली हानी हत्या गरिएको घटना आलै छ, जुन घटना वास्तवमा नेपालको इतिहासमा एउटा कालो टीका वा धब्बाको रुपमा रहेको छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी कसैका लागि तीर्थस्थल हो भने कसैका लागि पर्यटकीय स्थल । पुरातत्वशास्त्र वा अन्य विषयका विद्यार्थीका लागि लुम्बिनी क्षेत्र एक खुल्ला पुस्तक हो त पर्यटन व्यवसायीका लागि यो त्यस्तो कुरा हो जुन देखाएर कमाउन सकिन्छ । मुख्यतः यो बौद्ध तीर्थस्थल हो र बुद्ध तथा बौद्ध समाजबाट पृथक गरिँदा यस स्थलको महत्ता रत्तिभर पनि हुन्न । यहाँ बौद्ध वातावरण कायम नगर्ने हो भने कुनै बौद्ध यहाँ किन आउने भन्ने प्रश्न उठ्छ । आफू बौद्ध नभएर पनि यस बौद्ध स्थलमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको एउटै ध्येय हुन्छ, बुद्ध र बौद्ध समाजका बारेमा केही हेरौं र थाहा पाऔं । लुम्बिनीमा आउनेहरुको ध्येय मनोरञ्जन कदापि हुन्न ।

यसलाई मनोरञ्जन क्षेत्रका रुपमा विकास गरिँदा पर्यटकहरुका लागि लुम्बिनी र अन्यत्रका ठाउँहरुमा भिन्नता नै के रहन्छ र ? मनोरञ्जन गराएर कोष वृद्धि गर्ने सोचाइ सम्बन्धित निकायको हो भने त्यस्तो मनोरञ्जन स्थल लुम्बिनीभन्दा बाहिर अन्तै कतै व्यवस्था गर्दा हुन्छ तर लुम्बिनीलाई लुम्बिनी नै रहन दिनुपर्छ । लुम्बिनीमा बौद्ध वातावरणको प्रवद्र्धन नगर्ने हो भने त्यहाँ भोलि घुम्न आउनेहरुको रमाइलोका लागि भनेर रोटेपिङ, सर्कस तथा चटकहरुको मेला नलाग्ला भन्न सकिन्न । नेपाली समाजमा एउटा अर्को पनि उखान छ, अकबरी सुनलाई कसी लाउनुपर्दैन । अकवरी सुन आफैंमा ठूलो हो भने जस्तै लुम्बिनी पनि आफैंमा पूर्ण छ, यसका लागि बौद्ध वातावरण नै पर्याप्त छ, अन्य कुराको सहारा लिनु जरुरी छैन । नरिवललाई नचिन्नेहरुको हातमा नरिवल दिनुको अर्थ त्यसको गलत प्रयोग मात्रै हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2013
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31