शनिबार, जेष्ठ १२, २०८१

नेपालमा ल्होछारको सन्दर्भ, भ्रम र वास्तविकता

सरोजमोहन लामा तामाङ  : ल्होछार/ल्होसार अर्थात नयाँ वर्ष धार्मिक रुपमा विशेषगरी महायानी बुद्घ धर्मालम्बीले, भौगोलिक रुपमा खासगरी हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुले परापूर्वकाल देखि आफ्नो गच्छेअनुसार आ–आफ्नै पारामा मानिआएको महान साँस्कृतिक पर्व हो । त्यसैले मानव सभ्यताको विकाससँगै युगौ अगिदेखि यहाँका तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो आदि जातिहरु ल्होछार पर्वलाई मान्छन् । ल्हो भन्नाले वर्ष/साल/सम्बत् र छार भन्नाले नयाँ हो । अर्थात ल्होछारको शाब्दिक अर्थ नयाँ वर्ष/साल/सम्बत् हो । चलनचल्तीको तामाङ भाषामा ल्हो लाई “दिङ” पनि भन्ने गरिन्छ । ल्होवर्षक्रम अर्थात ल्होखोर च्युङीमा क्रमिक रुपमा १–मुसा/चलनचल्ती तामाङ भाषामा नाम्युङ (ज्युवा), २–गाई/चलनचल्ती तामाङ भाषामा म्हे (लाङ), ३–वाघ/चलनचल्ती तामाङ भाषामा च्यान (ताक), ४–विरालो/खरायो/चलनचल्ती तामाङ भाषामा तावर (हयोई), ५–गरुड-ड्रयगन/चलनचल्ती तामाङ भाषामा मुपुख्री (डुक), ६–सर्प/चलनचल्ती तामाङ भाषामा पुख्री (डुल), ७–घोडा (ता), ८–भेडा/चलनचल्ती तामाङ भाषामा ग्यू (ल्हुक), ९–बाँदर/चलनचल्ती तामाङ भाषामा मंङ/माकर (टे), १०–चरा/चलनचल्ती तामाङ भाषामा नामे (ज्या), ११–कुकुर-चलनचल्ती तामाङ भाषामा नखी (खि), र १२–सुंगुर÷चलनचल्ती तामाङ भाषामा ड्वा (फाग) गरी १२ वटा जनवारहरुको नाम अंकित गरिएको हुन्छ । नेपालमा फरक फरक तिथिमिति/महिनामा तीच चोटी/पटक अथवा तीन वटा नाम जोडिएको ल्होछार/ल्होसार मानिदै आएको छ ।

१. सोनाम ल्होछार        २. ग्याल्बो ल्होछार        ३. तमु-तोला ल्होछार 

ल्होछार (नर्या वर्ष) एकै तिथिमा नभएर फरक–फरक तिथिमितिमा मान्दै आइएको छ । यी सबै जातिले मान्ने र ल्हो (वर्ष÷साल÷सम्बत्) गन्तीको हिसाबमा यसपाली २८४९ औ सर्प-चलनचल्ती तामाङ भाषामा पुख्री (डुल) वर्षको सुरुवात हो, भने गरुड÷ड्रयगन÷चलनचल्ती तामाङ भाषामा मुपुख्री (डुक) वर्षको विदाई । त्यसैले ल्होछार मान्ने सबै समुदायहरुले “डुल” ल्हो को सुरुवातलाई स्वागत गर्दै पराम्पराअनुसार भव्यरुपले मानिदै आएको देखिन्छ । कुनै अंकित वर्ष÷साल÷संम्वत् सुरु हुनुअघि तथा कुनै धर्मको विकास हुनु अगाबै प्राचिनकालदखि नै यो पर्व मानिदै आएकोले ल्होछार (नयाँ वर्ष/साल/सम्बत्) को तिथिमिति किटानी गरेको कतै प्रायः पाईदैन । पाइएको तिथिमिति पनि फरक फरक छन् । यसपालि “डुल” ल्हो अर्थात सर्प÷चलनचल्ती तामाङ भाषामा पुख्री वर्ष हो भन्ने सवालमा सबै ल्होछार मान्ने समुदायको एकमत नै भेटिन्छ । तर, कुन आधिकारीक पात्राको, कुन तिथिमितिबाट पुरानो वर्षको अन्त्य र नयाँ वर्षको सुरुवात हुन्छ भन्ने सवालमा चाहि १५ देखि एक या दुई महिनाको फरक देखिन्छ । सो सवालमा चाहिँ पहिलादेखि नै आ–आफ्नै तर्कहरु छन् र फरक फरक तिथिमितिमा मान्दै आईरहेको पनि छन् । अर्को कुरा पात्रौ एउटै भएपनि भौगोलिक स्थान विशेषमा प्रचलनमा आएको पात्रोअनुसार फरक फरक तिथिमितिमा ल्होछार मानेको देखिन्छ । जस्तो पात्रो मञ्जुश्री नै हो, चन्द्रमासमा आधारित पात्रो नै (हो) भएता पनि सोनाम र ग्याल्बो नाम गरेको ल्होछार फरक तिथिमितिमा मनाउँछन ।

१. सोनाम ल्होछार सम्बन्धमा:
आज २९ माघमा पनि अगिल्लो सालहरु झै तामाङ समुदायहरुले सैनिक मञ्च अगाडी “डुल” ल्हो अर्थात सर्प÷चलनचल्ती तामाङ भाषामा पुख्री ल्होछार (नयाँ वर्ष) भनि भव्यताकासाथ एक सयवटा भन्दा बढी तामाङ संघ÷संस्थाहरुको सामूहिकतामा भेला भई मानिदैछ । तामाङहरुले मान्दै आएका डुल÷सर्प ल्हो (चलनचल्तीको तामाङ भाषाको पुख्री) वर्ष मञ्जुश्री खगोलशास्त्री पात्रोलाई आधार मानेर २८ औ संवत्लाई मान्दै आएकाले यसपाली २८५१ औं डुल÷पुख्री वा सर्प वर्षलाई स्वागत गरी मानिदै छ । जसलाई माघ शुल्क प्रतिपदका दिनमा मान्ने सोनाम ल्होछार पनि भनिन्छ । त्यसैले तामाङहरुमै पनि यस अगाडी कसैले सोनम त कसैले ग्याल्बो भनि छुट्टाछुट्टै तिथिमितिमा ल्होछार मान्दै आएका थिए। तर यी विवादहरु अब कमहुँदै गईरहेको स्थिति छ । यो तामाङ समुदाय र ल्होछार मान्ने सबै समुदायका लागि खुसिको कुरा हो । सो दिन नेपालगायत चीन, मंगोलिया, जापान, थाइल्याण्ड, कोरिया, बर्मा, थाईल्याण्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया, सिंगापुर, फिलिपिन्स, भुटान, भारतको सिक्किम, दार्जिलिङ, गान्दोक, ताइवान, लावस आदि अन्तराष्ट्रिय जगतमा पनि मान्ने गरिन्छ ।

२. तमु/तोला ल्होछार सम्बन्धमा:
ठीक त्यही ठाउँमा अघिल्लो महिना १५ पुसमा गुरुङजातिहरुले तमु ल्होछार भनि डुक÷गरुड÷ड्रयगन वर्षको विदाई र यसपालिको डुल÷सर्प ल्हो वर्षको स्वागत गरी भब्यरुपले मानिएको थियो । जसलाई पौष शुल्क प्रतिपदामा मान्ने तमु÷तोला ल्होछार पनि भनिन्छ । गुरुङ जातिहरुको अनुसार सूर्यले दिशा परिवर्तन गर्ने दिन अर्थात सूर्य दक्षिणीबाट उत्तरायण उन्मुख अवस्थालाई प्राकृतिक कारण देखाउदै सो दिन सर्प वर्षको पहिलो दिन हो भनी ल्होछार पर्व उनीहरुले मान्दै आएका छन् । यहाँ स्मरणीय कुरा के हो भने नेपालका गुरुङसमुदायले २०४९ सालपछि मात्रै सुर्य÷सौर्य पात्रोको सौरमास पौषादी १५ गतेका दिनलाई तमु÷तोला ल्होछार भनी मानिआएको छ । तर उनीहरुले भने वि.स. पात्रो अर्थात “भारतीय खगोल तथा ज्योतिषशास्त्रीय ‘श्रीकालाचक्र तन्त्र’ परम्पराको पात्रो” (चन्द्रपात्रो र सौर्यपात्रोको मिश्रित रुपको पात्रो) नै अनुसार १५ गतेको दिनलाई मानिएको देखियो ।

३. ग्याल्बो ल्होछार सम्बन्धमा : 
त्यसैगरी शेर्पा र तिब्बतियन समुदायले मञ्जुश्री पात्रोकै आधारमा तर तिब्बतमा प्रचलनमा रहेको चन्द्रपोत्रोअनुसार २१४० औ तिथिमा फागुन शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुन्छ, भनी ग्याल्बो ल्होछार मानिन्छ । तर कुनै वर्ष/साल/सम्बत्मा सोनाम र ग्याल्बो शब्द जोडिएको ल्होछार एकै तिथिमितिमा पनि भएको र परेको हुन्छ, कारण के हो ? भन्दा, तिब्बतमा प्रचलनमा रहेको चन्द्रपात्रोमा अधिकमास जोडिएको वर्ष÷साल÷सम्बत्मा सो पर्व एकै दिन वा तिथिमितिमा हुन्छ, भने नजोडिएको वर्ष÷साल÷सम्बत्मा हुदैन । जस्तो, ई.वि.सन् २०१० फेब्रुअरी १४ तारिख आईतवारको दिन यी दुबै पर्व एकै दिन वा तिथिमितिमा परेको थियो । त्यसैगरी, “अब ई.वि.सन् २०१३ मा पनि यी दुबै फरक नामधारी तर एउटा पर्व एकै दिन वा तिथिमितिमा हुनेछ” भनी पात्रोसम्बन्धि जानकार तामाङ विद्घान ‘अजितमान तामाङ’ भन्नुहुन्छ । त्यसैगरी अर्को कुरा करिब १३ औ शताब्दीपछि मात्र तिब्बतमा ग्याल्बो ल्होछार भनी ल्होछार मान्न थालिएको थियो, त्यसभन्दा अगाडी ग्याल्बो नाम नजोडिकनै ल्होछार मानिन्थ्यो भन्ने भनाई पनि सुन्नमा आएको छ । त्यस्तै करिब ई.वि.सन् १२२३ तिर मंगोल राज÷बादशाह ‘जेंगिज खाँ’ ले तिब्बतको शिऊँ प्रान्तमा आक्रमण गरी विजय गरेपछि युद्घका कारणले ल्होछार परेको तिथिमितिमा मनाउन नपाएका जनतालाई मनाउ भनी राजले आदेश वा अनुमति दिईसकेपछि त्यहाँका जनताले खुशी भई सम्मान् स्वरुप ग्याल्बो (तिब्बती भाषामा राजलाई ग्याल्बो भनिन्छ) ल्होछार भनी राजको नाम जोडी सो ग्याल्बो शब्द प्रचलनमा आएको हो भन्ने भनाई पनि छ ।

निष्कर्ष र विश्लेषण :
सो तथ्यहरुबाट नेपालमा मानिने ल्होछारलाई तीनवटा नामबाट पुकारिएको पाईन्छ, सोनाम, ग्याल्बो र तोला ल्होछार । वास्ताबमा व्यावहारिक र बैज्ञानिक तरिकाले बुझ्दा र भन्नुपर्दा ल्होछार अर्थात् नयाँ वर्ष एउटा उत्सव वा चाड हो, जसको कुनै प्रकार वा थरी हुदैन र हुनुहुन्न पनि । उत्सवको अगाडि केहि अर्थ दिने शब्द झुन्डाएर वर्गीकरण गरिएको छ । यो सरासर यी ल्होछार मान्ने समुदायहरुलाई विश्वमा चर्चित राजनीतिक सत्ता प्राप्त गर्ने वाक्य “फुटाउ र शासन गर” (Divide and Rule) भन्ने सुत्रप्रयोग गरेको जस्तो देखिन्छ । जस्तो कि, यो सांस्कृतिक रुपमा विभाजन गर्न, सामाजिक र राजनीतिक रुपमा फुटाउन र शोषण गर्न परापूर्वकालदेखि शासक वर्गले आफ्नो स्वार्थसिद्घ गर्नका लागि रचिएको जालो हो । जुन जालोमा यी समुदाय अलमल परिएको स्थिति हो  । चीनमा सोनाम भनेको खतीपाती गर्ने किसान भन्ने बुझिन्छ । त्यसैले पनि तोला र सोनाम ल्होछार मध्यम र गरिब वर्ग खासगरी किसानहरुले मान्ने गरेको देखिन्छ भन्ने भनाइ यदाकदा सुन्न पाइन्छ । भने, ग्याल्बो भनेको तिब्बतियन भाषामा राजा हो । त्यसैले यो ल्होछारलाई राजबासा र उच्चवर्गले मान्ने ल्होछार भनिन्छ । त्यसकारण यसको नाम ग्याल्बो रहन गएको हो भन्ने भनाईहरु पनि सुनिन पाइन्छ । नेपालमा महायनी बुद्घधर्मालम्बी लामा गुरुहरुले तिब्बतबाट लखेटिएका दलाई लामालाई आफ्नो गुरु मानिएकाले पनि नेपालमा यस ल्होछार विशेषतः दलाई लामालाई गुरु मान्ने लामा समुदायहरुले मान्ने गर्छन् । स्मरणीय छ, दलाई लामा तिब्बतका पूर्वग्याल्बो (राजा) थिए । यी तथ्यहरुबाट के प्रष्ट हुन्छ भने चाडवर्पलाई पनि शासक वर्गले वर्गीय विभाजन गरेको देखिन्छ । शोसक, धनी र उच्चवर्गले मान्ने र शोषित वर्ग, गरिब श्रमजिवी वर्गले मान्ने । के कारणले यस्तो गरियो भन्दा यदि शोषित पीडित गरिब श्रमजिबी वर्गहरुले मात्रै यो चाडपर्वलाई मान्दै आएको खण्डमा त उनीहरुको एकता कायम भई सांस्कृतिक जागरण आउछ । सांस्कृतिक जागरण आईसकेपछि सामाजिक र राजनीतिक जागरण पनि आउछ । अनि उनीहरु एकजुट भई शोषक सामान्ती, शासक वर्गलाई शासन गर्नबाट बञ्चित गारईदिन्छन् । त्यसपछि आफ्ना स्वार्थ पुरा हुन्न भन्ने मानसिक डरले सांस्कृतिक एवं सामाजिक चाडपर्वलाई विभाजन गरी ती वर्ग÷समुदायहरुलाई विभाजन गर्ने उनीहरुको उद्देश्य प्रस्ट देखिन्छ ।  अहिले हाम्रो देशमा खासगरी २०४६ सालमा प्रजातन्त्रको पुनः बाहाली भई परिवर्तन आएपछि मात्रै सार्वजतिक र भव्यरुपमा ल्होछार मनाउन सुरु गरिएको हो । २०४६ साल अगाडिसम्म आफ्नो समुदाय भित्र त मानाइन्थ्यो । तर, सार्वजनिक र भव्य तरिकाले मनाइदैन थियो । त्यसपछि यो समुदायले आफ्नो संस्कारका लागि धेरै सघर्ष गरी अहिले सोनाम, ग्याल्बो र तमु÷तोला ल्होछार तीनै वटालाई राष्ट्रिय रुपमा नेपाल सरकारले पनि एक एक दिन विदा दिई राष्ट्रिय पहिचान र सम्मान गरेको जस्तो देखिन्छ । नेपाली र नेपाल सरकारले यो ल्होछार मनाउने समुदायहरुको महान पर्वलाई राष्ट्रिय पहिचान त दिईयो तर भित्रभित्रै एउटै नाम गरेको पर्वलाई विभाजनको झन् गाढा रेखा कोरिएको देखिन्छ । त्यसो हुँदा यहाँ पहिचान र सम्मान नभई विभाजन र अपमान गरेको अनुमान गर्न सजिलै सकिन्छ । यतातिर पनि सरोकारवालाहरु (नेपाली र नेपाल सरकार अनि यो ल्होछार मान्ने सबै समुदायहरु) वेलैमा सचेत हुन आवश्यक देखिन्छ । अहिले हामीले एक–दुई महिनाको फरकमा तीन किसिमको ल्होछार प्रचलनमा ल्याएको भए पनि मान्ने तिथिमिति फरक परे पनि आखिरमा तीनै समूहको वर्ष वा वर्षचक्र (१२ वटा संकेतिक जनवारहरु, वर्ष चक्र) ल्होखोर च्युङी एउटै हो र मान्नुपर्ने ल्होछार पनि त्यही हो । त्यसैले पहिला यी तीनवटै ल्होछारलाई एउटै तिथिमितिमा मान्नको लागि ल्होछार मान्ने हामी सचेत वर्गदेखि विज्ञ र धर्मगुरुहरु सबै बसेर निर्णय गर्नुपर्छ । बैदिक पर्यवेक्षक र सकेसम्म खगोलशास्त्रीहरु पनि राखी वर्षको परिमाण, वर्षगणना गर्ने पद्घति, अधिकमासको लक्षण, अधिकमास मान्ने पद्घति, तिथिको लक्षण, तिथि गणना गर्ने पद्घति निश्चित गरेर सबैले सँगै ल्होछार मान्ने र राष्ट्रिय विदा यथोचित रुपमा चार–पाँच दिनसम्म हुनुपर्ने निर्णय गरी सम्बन्धित सरोकारवाला पक्षसँग सम्बन्धित ठाउँमा सम्बन्धित नीति बनाई स्थापित गर्न खोजे उपयुक्त हुन्छ । नत्रभने यी तिनै समुदायलाई चार–पाँच दिनसम्म विदा चाहियो भनेर सम्बन्धित सरोकारवाला पक्षसँग सम्बन्धित ठाउँमा सम्बन्धित नीति बनाई स्थापित गर्न खोज्दा त देशको विकासदेखि सम्पूर्ण काममा असर पर्ने देखिन्छ । त्यसो हुँदा विदा घोषणा गर्नेलाई पनि अप्ठयारोको स्थिति हुन्छ । फेरि हाम्रो देशमा हामी एउटामात्रै सांस्कृतिक समुदाय पनि होइन, भोलि राज्यले अरु सांस्कृतिक समुदायको माग पनि त सुन्नु पर्ला ।

यदि मुलुकमा रहेका सबै जातजातिका सांस्कृतिक चाडपर्वलाई हाम्रो समुदायको नै सांस्कृतिक पर्वको हाराहारीमा विदा दिने हो भने एक वर्षमा काम गर्ने समय राष्ट्रमा कति बच्ला ? प्रश्न गम्भीर छ । यद्यपि ल्होछार मान्ने समुदायहरुको मात्रै देश विकासमा चिन्ता लिने, टाउको दुखाउनु पर्ने विषय भने होइन । किनकि, नेपाल धर्मनिरपेक्ष राज्य भनी घोषण गरी संविधानमा नै उल्लेख भईसक्दा पनि धार्मिक तथा सांस्कृतिक पर्वहरुमा नेपालमा भएका धर्महरु एवं संस्कृतिहरु अनुसार विदा दिने प्रचलन असमान तिरीकाको देखिन्छ ।
उपसंहार:
त्यसैले महान पर्व ल्होछारको सवालमा माथि उल्लेखित सबैको समन्वयले एउटै नव वर्षारम्भको दिन निश्चित गर्न सकिए बैदिकहरुका लागि, ल्होछार मान्ने हामीहरुका लागि र राष्ट्रका लागि पनि राम्रै कुरा हो र हुने थियो । नेपाल राष्ट्रलाई सांस्कृतिक रुपमा धनी, सामाजिक रुपमा एक, राष्ट्रिय रुपमा बलियो र विकसित बनाउने दृष्टिले पनि यो अत्यन्त उचित एवं आवश्क देखिन्छ । अन्तमा समस्त देश विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा र विश्वका ल्होछार मान्ने सम्पूर्ण समुदायलाई डुल ल्होछारको शुभकामना । थुजुछे । स्रोत : अनलाईन नेपाली साहित्य मञ्च
घ्याङ–५, दोलखा, उर्लिनी हाल : काठमाण्डौ