मङ्लबार, बैशाख ११, २०८१

निर्मलाको लागि न्याय माग्दा सरकारको हस्तक्षेप

काठमाडौं मंसिर १६,  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा केही दिनयता भएका कार्यक्रममा सरकारले हस्तक्षेप गर्न थालेको छ। राजधानीमा शुक्रबारदेखि भइरहेको एसिया प्यासिफिक सम्मेलनको बहानामा सरकारले निर्मलाको पक्षमा भइरहेका प्रदर्शन र सांकेतिक विरोधलाई रोक्न खोजेको हो।

निर्मलालाई न्याय माग्दै शुक्रबार मात्रै माइतीघर मण्डला क्षेत्रमा टाँसिएका पोस्टर माथिको आदेश भन्दै च्यातेको प्रहरीको टोलीले शनिबार त्यही स्थानमा गरिएको सांकेतिक विरोध कार्यक्रमलाई रोक्ने प्रयास गर्‍यो। विरोध कार्यक्रमलाई रोक्नैका लागि माइतीघर मण्डलादेखि धोबीखोला पुलसम्म ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको थियो। मध्याह्न १२ बजे थाल्ने भनिएको कार्यक्रम प्रहरीले माइतीघर मण्डलामा प्रवेश नै गर्न नदिएपछि करिब एक घण्टापछि सुरु भएको थियो।

यसवीचमा अभियान चलाइरहेकी सिर्जना विश्वकर्मासहितका युवालाई शुक्रबार मात्रै प्रहरीले माइतीघरबाट पक्राउ गरेर हिरासतमा लिएको थियो। ‘हामीले माइतीघर क्षेत्रमा पोस्टर टाँस्नसमेत पाएनौं, हामीले टाँसेको पोस्टरसमेत माथिको आदेश भन्दै प्रहरीले च्यातिदियो’, निर्मलालाई न्याय अभियानकी सदस्य सिर्जनाले शनिबारको कार्यक्रममा भनिन्, ‘निर्मलाको पक्षमा राजधानीमा टाँसिएका पोस्टर गृहमन्त्रालयको ठाडो आदेशमा रातारात च्यातिदियो।’

बलात्कारपछि निर्मलाको हत्या भएको सय दिन पुग्न लाग्दा उनको न्यायका कार्यक्रमसमेत नगर्नु भन्दै धम्की दिन थालेको अभियन्ताले बताएका छन्। शनिबारको कार्यक्रमलाई पनि रोक्न प्रहरीले पटक पटक फोन गरेर धम्की दिएको दाबी एकजना अभियन्ता प्रितम सुवेदीले गरे। ‘शुक्रबार निर्मलाको तस्बिरसहितको पोस्टर च्यातिदिएपछि शनिबार कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने भन्दै प्रहरीबाट पटक पटक धम्कीपूर्ण फोन आयो’, सुवेदीले भने, ‘यदि सडकमा निस्किएमा गृहमन्त्रालयको आदेश अनुसार पक्राउ गरेर थुन्ने भन्दै तर्साउने काम प्रहरीबाट भयो, प्रहरीले धम्की दिए पनि कार्यक्रम गर्न सफल भएका छौँ।’ अन्नपूर्णपोष्टबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।