शुक्रबार, चैत्र १६, २०८०

अक्सिजन सिलिण्डरको खोजीमा प्रहरीको सक्रियता ,आजमात्रै २३१ सिलिन्डर सङ्कलन

काठमाडौ जेठ ४,
कोभिड–१९ को सङ्क्रमण तिब्र भएपछि मुलुकमा देखिएको अक्सिजनको बढ्दो हाहाकारलाई कम गर्न नेपाल प्रहरीले अनावश्यक ठाउँमा प्रयोग भएका र लुकाइछिपाइ राखिएका सिलिण्डरको खोजी कार्यलाई थप तिब्रता दिएको छ ।

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा मात्रै २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । ती मध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । आज सङ्कलित र यसअघिको स्टक रहेका १४१ गरी जम्मा ३७२ मध्ये मङ्गलबार ३४१ सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । बाँकी ३१ सिलिन्डर जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकता अनुसार वितरण गरिने छ ।

आवश्यकता भन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घ संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदाममा स्टक गरी राखेका सिलिन्डर खोजी गरिएको थियो ।

त्यस्तै निषेधाज्ञा उल्लङ्घन गरी हिँड्ने छ हजार ७४४ जनालाई ‘होल्ड’ गरी फर्काइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा एक हजार ७६० गाडी र तीन हजार ८७० मोटरसाइकल गरी पाँच हजार ६३० सवारी साधनलाई नियन्त्रणमा लिनुको अलावा कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा दुई हजार ९०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको जनाएको छ ।