शुक्रबार, चैत्र १६, २०८०

आज ८ मार्च अर्थात् १११ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं फागुन २४ ,
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । शुभकामना सन्देशमार्फत् उनले लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गरेकी छिन् ।